logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन : प्रभाकर र अनन्तको लडाइँ, को कति शक्तिशाली ?

    अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन : प्रभाकर र अनन्तको लडाइँ, को कति शक्तिशाली ?

    6.7K
    Shares

    काठमाडौँ। भावी नेतृत्वको रुपमा हेरिने नेकपा (माओवादी केन्द्र) को युवा सङ्गठनका राष्ट्रिय सम्मेलन सुरु भएका छन्। शनिबारदेखि युङ कम्युनिस्ट लिग (वाईसीएल)को सम्मेलन भर्चुअल माध्यमबाट सुरु भएको छ। अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलन असोज ८, ९, १०, गते हुँदैछ।

    दृश्यमा युवा सङ्गठनको सम्मेलन भनिए पनि पर्दापछाडि पार्टीको आन्तरिक लाइन र शक्ति सङ्घर्षकै रुपमा शीर्ष नेताको लडाइँ हुने देखिन्छ।

    २०२२ लाई स्थापनाकाल मानेर अखिलले महामारीकै बिच अहिले २२ औँसम्मेलन गर्न लागेको हो। देशको परिवर्तन र आन्दोलनमा मुलधारको आन्दोलनकर्ता बन्ने युवा जमात नै सम्मेलनबाट नेतृत्वको रुपमा स्थापित हुँदै आएको छ।

    सर्वोच्च अदालतले २०७७ फागुन २३ गते नेकपालाई भङ्ग गरेपछि माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन हुन लागेको हो। प्रचण्डपछि शक्तिशाली मानिएका रामबहादुर थापा ‘बादल’ले मन्त्री पदको लोभमा एमालेसँग आत्मसमर्पण गरे पनि उनको देशव्यापी युवा सञ्जाल माओवादीमै छ।

    २०७७ पुस ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रतिगमनविरुद्ध आन्दोलनमा साथ दिने बादल समूहका नेताको योगदानलाई पार्टी अध्यक्ष प्रचण्डले आगामी नेतृत्वको रुपमा मूल्याङ्कन गरेका छन्। 

    प्रचण्डको मूल्यांकन एकातिर भए पनि पार्टीभित्र सैद्धान्तिक, वैचारिक कार्यदिशा र संगठनात्मक ढंगले अब्बल रुपमा अगाडि आएका जनार्दन शर्मा ‘प्रभाकर’, वर्षमान पुन ‘अनन्त’ को तागत कम छैन।

    astalaxmi-rajendra.jpg

    आफूमाथि लागेको दाग मेटाउँदै पुनः पार्टीमा सक्रिय भएका पूर्वसभामुख कृष्णबहादुर महरा र नारायणकाजी श्रेष्ठलेसमेत युवा संगठनको नेतृत्वमा आफ्नो समूहलाई अगाडि सार्न लागिपरेका छन्।

    तत्कालका लागि ‘बादल’ केपी ओलीको प्रतिगमनसँग बिलिन भए पनि माओवादी युवा संगठनमा उनको पूर्वसमूह ‘किङ मेकर’ बन्ने सम्भावनालाई नकार्न सकिँदैन। कोरोना महामारी र परिस्थितिलाई नियाल्दा चुनाव हुने स्थिति नभएमा नेतृत्वको निर्णय प्रचण्डकै जोडबलमा हुनेछ।

    सहमतिमा अगाडि बढे पार्टीभित्र राम्रो प्रभाव रहेका प्रभाकर र अनन्तको प्रस्तावलाई प्रचण्डले सिधै अस्वीकार गर्ने अवस्था छैन। तर पनि अन्तिम निर्णय प्रचण्डकै हुनसक्छ। सामूहिक छलफल र बहसबाट युवा संगठनको नेतृत्व छनोट गर्नुपर्ने कुरामा प्रचण्डको छेकबार नरहने विद्यार्थी नेतृत्वको बुझाई छ।

    टुटफुटले सबै कम्युनिस्ट पार्टी कमजोर भएको अवस्थामा व्यक्तिगत स्वार्थ भन्दा संगठनको अब्बल नेतृत्व छान्नुपर्ने दायित्व माओवादी शीर्ष नेतामा छ। विचारर  क्षमतासँगै संगठनका निम्ति लडाकु शैलीमा भिड्ने नेतृत्व आजको आवश्यकता हो। 

    अध्यक्षका ६ दाबेदार को कस्ता ?
    परिस्थिति अनुकूल नभएकाले सानो कमिटी बनाउने तयारी अखिलको छ। राष्ट्रिय सम्मेलन गर्ने, कोरोनाले सम्मेलन नभए भेला गर्ने र भेला नभएमा बैठक गर्ने भन्ने विषयमा छलफल भइराखेको छ। अन्तिममा परिस्थिति हेरेर बैठक हुन नसके भर्चुअल माध्यामबाट नेतृत्व चयन गर्ने तयारी संगठनले गरेको छ। १५ देखि १७ जनाको पदाधिकारी र १५१ जनाको केन्द्रीय कमिटी बन्नेछ।

    राष्ट्रिय सम्मेलन नजिकिएपछि पाँच उपाध्यक्ष र एक महासचिवसहित ६ जनाको दाबेदारी अध्यक्षका लागि हुने निश्चित छ। सुरेन्द्र बस्नेत, पञ्चा सिंह, तिलकराज भण्डारी, उत्तम अधिकारी, दीपक देवकोटा र विजय गौतमलाई नै भावी नेतृत्वको रुपमा हेरिएको छ।

    पार्टी लाइन राजनीतिमा धेरै नखुले पनि ६ उपाध्यक्षलाई दोस्रो पुस्ताका शक्तिशाली नेताको साथ देखिन्छ। छजना उम्मेदवारमध्ये पञ्चा सिंह एकजना मात्र महिला नेतृ भएकाले उनलाई इतिहास रच्ने अवसर छ। बादलले पार्टी छोडेपछि उनको समूहबाट नेतृत्व छान्नुपर्ने दबाबसमेत अध्यक्ष प्रचण्डमाथि देखिन्छ।

    यसले उत्तम अधिकारीले अखिलको नेतृत्व पुग्ने कुरालाई नकार्न सकिन्न। त्यत्तिमात्र होइन पार्टीमा दरिलो प्रभाव बनाएका प्रभाकर र अनन्तको साथ पाएका दीपक र सुरेन्द्रलाई समेत प्रचण्डले अस्वीकार गर्न सक्ने अवस्था छैन। कृष्णबहादुर महरा र नारायणकाजी श्रेष्ठको लाइनमा रहेका तिलक राज भण्डारी र विजयी गौतमको सम्भावनाको ढोका खुलै छ।

    अध्यक्षका ६ दाबेदारमध्ये घट्ने भन्दा बढ्ने देखिन्छ। उपराष्ट्रपतिका छोरा दीपेश पुनसमेत अहिलेका उपाध्यक्ष हुन्। उनी बुढा पुस्तालाई पार्टीको केन्द्रीय समितिमा लगेर युवालाई नेतृत्व दिनुपर्ने बताउँछन्। ‘३५ माथिका नेताले विद्यार्थी संगठनको नेतृत्व गर्ने होइन’, पुन भन्छन्, ‘अबको अध्यक्षमा मेरो स्वतः दाबी छ।’ दाबेदारी जतिसुकै परेपनि अन्तिममा नेतृत्व एउटाले लिने हो। महामारीको समय भएको र संगठनलाई छरितो बनाउनुपर्ने बाध्यता देखिन्छ। 
    पहिलो पुस्ताका अध्यक्ष दाबेदारका कुरा पढौँ

    :astalaxmi-rajendra.jpg

    सुरेन्द्र बस्नेत : प्रखर वक्ता, कमजोर संगठक
    संगठनको प्रवक्ता बनेर काम गरेका झापाका सुरेन्द्र बस्नेत सम्बन्धको हिसाबले सबैभन्दा अगाडि छन्। यसलाई धेरैले उनको लोकप्रियता मान्छन्।

    विद्यार्थी राजनीतिमा हुँदा नै पार्टी अध्यक्ष प्रचण्डसँग सिधा सम्पर्क भएको युवा नेतामध्ये उनी एक हुन्। एमफिल तहको अध्ययन गरिरहेका बस्नेत मिडियामा लोकप्रिय र परिचित छन्।

    उनी जनयुद्धकालीन कार्यकर्ता नभए पनि बेपत्ता परिवारका सदस्य हुन्। युद्धको समयमा उनका एक दाइ एक भाइ बेपत्ता छन्। प्रखर वक्ता बस्नेलाई अगाडि बढाउने अर्थात् बोक्ने नेता देखिँदैनन्। यद्यपि टिमको हिसाबले उनी वर्षमान पुन ‘अनन्त’ निकट मानिन्छन्। तर, अनन्तले सुरेन्द्रलाई अध्यक्ष बउनुपर्छ भनेर प्रचण्डसम्म पुग्ने काम नगर्ने बताइन्छ।

    रञ्जित तामाङको उत्तराधिकारीको रुपमा अध्यक्ष पदमा उनको दाबेदारी दर्बिलो देखिन्छ। बजार हल्लासमेत प्रचण्डको रोजाइमा सुरेन्द्र बस्नेत रहेको छ। माओवादीको विद्यार्थी नेतृत्व छनोटका निम्ति प्रभाकर एकातिर हुँदा अनन्त, शक्ति बस्नेतसहित सबै अर्कोतिर रहेजस्तो देखिन्छ। यसले सुरेन्द्रलाई फाइदा गर्ने अनुमान गर्न सकिन्छ।

    मिडियाबाजी गर्न जति सक्रिय छन् त्यत्ति नै सक्रियता संगठनमा देखाउन नसकेको आरोप उनीमाथि लाग्ने गर्छ। संगठनमा थोरै पकड हुनु उनको कमजोरीको रुपमा हेरिएको छ। २०६४ मा माओवादी प्रवेश गरेका  बस्नेतमाथि एमालेबाट आएको ट्याग अझैसम्म हटेको छैन।

    pancha singh 1.jpg

    पञ्चा सिंह : इतिहास रच्ने अवसर 
    समावेशी उपाध्यक्ष पञ्चा सिंह कालिकोटमा जन्मिएर जुम्ला कार्यक्षेत्र बनाउँदै अखिल क्रान्तिकारीमा पहिलो महिला अध्यक्षको इतिहास रच्ने लक्ष्यका साथ मैदानमा छन्।

    अहिले देखिएका अध्यक्षका ६ दाबेदारमध्ये उनी एक्ली महिला हुन्। अखिलको १७औँ सम्मेलनबाट लेखनाथ न्यौपाने अध्यक्ष हुँदा केन्द्रीय सदस्य बनेकी सिंह माओवादीसँग नारायणकाजीको एकता हुँदा सचिवालय सदस्य बनेकी हुन्। उनी सचिवालय सदस्य बन्दा सुरेन्द्र बस्नेत केन्द्रीय सदस्य मात्र थिए।  

    अघिल्लो अर्थात् २१ औँराष्ट्रिय सम्मेलनमा प्रभाकर र अनन्तको टिम बन्दा सिंह प्रभाकरको टिमबाट चुनाव लडेकी हुन्। उनको काँधमा अहिले इतिहास ब्रेक गर्ने ठूलो जिम्मेवारी रहेको चर्चा हुन्छ। उनले यो अवसर नगुमाउने दाबीसमेत गरेकी छन्। ‘मेरो लागि यो अवसर र चुनौती दुवै हो’, सुनौलो नेपालसँग उनले भनिन्, ‘गुट उपगुटका कुरा नगरी महिलालाई नेतृत्वमा ल्याउने मौका यही हो भन्ने कुरा पार्टीले बुझ्नुपर्छ।’

    पञ्चाको लागि अहिले परिस्थिति सहजसमेत देखिन्छ। अघिल्लो सम्मेलनमा अनिल शर्माको समूहबाट चुनाव लडेकै आधारमा उनको पक्षमा बोल्ने मानिएका प्रभाकर स्वयम् अर्थमन्त्री छन्।

    अघिल्लो पटक अनिल शर्मा पराजित भएकाले पनि प्रभाकरले प्रचण्डमाथि पञ्चाको नाममा जोडबल गर्नेछन्। पञ्चाको परिवार नै राजनीतिमा छ। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमाएमए गरेकी सिंह अध्यक्ष नबने सिधै पार्टीकेन्द्रीय सदस्य हुने सम्भावनालाई नकार्न सकिन्न। ज्ञानको दायरा साघुरो र संगठनमा राम्रोपकड नहुनु उनको कमजोरी मानिन्छ।

    astalaxmi-rajendra.jpg

    तिलक राज भण्डारी : संगठनमा पकड, नेताको चाकडी नगर्ने 
    उपाध्यक्ष तिलक राज भण्डारीको संगठनमा राम्रो पकड छ। उनी कुशल संगठक हुन्। २०५६ पछि युद्धमा सहभागी भएका भण्डारीले २०६० साल साउनदेखि मंसिरसम्म जनसाक्षर अभियानको नेतृत्व गरे।

    अखिलको १७औँ सम्मेलनमा केन्द्रीय समितिमा प्रवेश गरेका उनले लामो समय मगरात, गण्डकी, लुम्बिनी क्षेत्रमा काम गरे। भण्डारी खुला उपाध्यक्ष हुन्। उनको ‘जनयुद्ध हस्ताक्षर’ नामक पुस्तक प्रकाशित छ। अखिल क्रान्तिकारीको संगठनात्मक ग्राउन्ड पृष्ठभूमि राम्रो बुझेका मध्ये उनी एक हुन्। ‘नेताको चाकडी गर्ने संस्कार शैली होइन। कामको आधारमा ग्राउन्डलाई अनुमोदन गर्दा परिणाम आफ्नो पक्षमा आउँछ’, भण्डारी भन्छन्।

    अखिलमा कुशल संगठन आफू भएको उनको दाबी छ। अब तल्लो तहमा काम गर्नेलाई नेता बनाउने कि नबनाउने भन्ने बहस आवश्यक भएको उनको ठहर छ।

    कसले माओवादी र अखिलका लागि काम गरेको छ भनेर नेताहरुले सर्वेक्षण गर्नुपर्ने तर्कसमेत उनको छ। ‘जनतातर्फ फर्किएको पार्टी संगठन, कार्यकर्तातर्फ फर्किएको नेता बनाउने कुराले मात्र माओवादी आन्दोलन र अखिल सुदृढ हुन्छ’, उनी थप्छन्, ‘दास र मालिक बनाउने काम अब हुनु हुँदैन।’

    जनयुद्धकालीन कार्यकर्ता रहेका भण्डारीमाथि कृष्णबहादुर महरा गुटको ‘ट्याग’ छ। तर, उनी त्यसलाई स्वीकार गर्दैनन्। अध्यक्ष प्रचण्ड र फ्याक्सन इन्चार्ज शाक्यनै आफ्नो नेता भएको दाबी उनको छ। अघिल्लो सम्मेलनमा उनी अनन्तको टिमबाट लडेका हुन्।

    संगठन निर्माणसँगै उच्च शिक्षा हासिल गरेका उनको राजनीतिक यात्रा सल्यानबाट भएको हो। तल्लो कमिटीबाट राजनीति गरेकाले उनको संगठनमा प्रभाव राम्रो मानिन्छ। परिवार नै युद्धको पृष्ठभूमि भएकाले संगठनप्रति प्रतिवद्ध छन्। संगठनमा पश्चिमतर्फ उनको कमाण्ड राम्रो छ।

    अध्यक्ष रञ्जित तामाङले भावी नेतृत्व रोज्नुपर्दा सुरेन्द्र अर्थात् तिलकको नाम लिने गरेका छन्। रञ्जितले तिलक र सुरेन्द्रबीच ब्यालेन्स समेत गर्ने गरेका छन्। तिलकलाई पूर्वअध्यक्ष रमेश मल्ल र नरेन्द्र न्यौपानेको साथ देखिन्छ। उनको कमजोर पक्ष भनेको नेतालाई चिनाउन दौडधुप गर्दैनन्। ‘आजको बहस ग्राउण्डमा रहेका नेता कार्यकर्तालाई नेता बनाउने कि नबनाउने भन्ने कुरामा हुनुपर्छ’, भण्डारी भन्छन्, ‘नेताकोमा जाने रोइकराई र गुटबन्दी गर्नेलाई नेता बनाउने बहस अब हुनु हुँदैन।’उनको पहुँच हेडक्वारसम्म नहुनुलाई कतिपयले कमजोरी मान्छन्। संगठन बनाउने काममा सक्रिय हुँदा उनले गुटको पक्षपोषक बनेको आरोप समेते खेप्ने गरेका छन्।

    uttam adhikari.jpg

    उत्तम अधिकारी : शालीन, सन्तुलित र गुटबिहीन
    उत्तम अधिकारी महासचिव हुन्। उनले संगठनमा भद्र, शालीन र सन्तुलित व्यक्तित्वको परिचय बनाएका छन्। अधिकारी अत्यन्त कूटनीतिक मानिन्छन्।एलएलएम गरेका उनी कानुनका जानकार हुन्।

    घर नुवाकोट भए पनि उनले जनयुद्धकालदेखि नै उपत्यकालाई कार्यक्षेत्र बनाए। जनयुद्धको विभिन्न चरणमा चारवर्ष जेल जीवन बिताएका उनको परिवार नै युद्धमा होमिएको हो।

    माओवादी विभाजित हुँदा मोहन वैद्य समूहको विद्यार्थी संगठन महासचिवको जिम्मेवारी सम्हालेका अधिकारी एकतापछि बादल समूहको नेताको रुपमा चिनिए। ओलीले प्रतिनिधिसभा विघटन गरेर प्रतिगमन गरेपछि बादल एमाले गुटमा छिरे पनि अधिकारी प्रतिगमनविरुद्धको आन्दोलनमा सक्रिय भए। बादललाई साथ नदिएर उनले माओवादी आन्दोलनको वैचारिक धारलाई दरिलो बनाए।

    माओवादीलाई गुटबिहीन बनाएर अगाडि बढाउनुपर्ने उनको अडान छ। ‘संगठनलाई स्थापित गर्न त्यहाँ देखिएको अराजकता, स्वच्छन्दताको अन्त्य गर्दै गुटबिहीन बनाउनुपर्छ’, अधिकारी भन्छन्।  

    यत्तिबेला बादल एमालेमा मिल्न गएकाले बादलको देशव्यापी टिम उत्तमसँग छ। प्रतिगमनविरुद्धको आन्दोलनमा वैचारिक धारलाई अंगिकार गरेकाले प्रचण्डले सहमतिमा अगाडि बढ्ने र महासचिवलाई नेतृत्व दिएर अरुलाई बिदा गर्ने प्रस्ताव अगाडि सार्ने सम्भावनालाई नकार्न सकिन्न।

    बादल माओवादीमा नहुनु उत्तमका लागि बाहिरबाट हेर्दा घाटाजस्तो देखिन्छ। तर प्रतिगमनविरुद्धको आन्दोलनमा सक्रिय भएकाले उनको योगदानलाई प्रचण्ड स्वयम्ले मूल्यांकन गरेका छन्। प्रचण्डले विश्वास गर्ने अधिकारीलाई ऊर्जामन्त्री पम्फा भुसाल, नेता देव गुरुङसँगै माओवादीको विद्यार्थी फ्याक्सन इन्चार्ज हितमान शाक्यको साथ छ।

    प्रचण्ड, गुरुङ, भुसाल र शाक्यको साथ रहेकाले भावी अध्यक्षको रुपमा अधिकारीको दाबेदारी शक्तिशाली देखिन्छ। कतिपयले अरुको कुरा सुन्ने भन्दा आफूमात्र निर्णय गर्नुलाई उत्तमको कमजोरीको रुपमा व्याख्या गर्ने गरेका छन्। उनका केही कमजोरी देखिए पनि संगठनलाई मिलाएर अगाडि बढाउने क्षमता राख्छन्। महासचिव अर्थात् अध्यक्ष पद कार्यकारी हो।

    यो पदको जिम्मेवारी लिएपछि आक्रामक हुनुपर्नेमा उत्तम रक्षात्मक मात्र देखिनु उनको अर्को कमजोरी मान्न सकिन्छ। कतिपयले उनको शालीन व्यवहारलाई समेत कमजोरी ठान्छन्। उपत्यका बाहिर संगठन बनाउन नजानु उनको अर्को कमजोर पक्ष हो। अधिकारीसँग निर्देशन र कमान्ड गर्ने क्षमता नभएको आरोप उनका प्रत्याशीले लगाउने गरेका छन्।

    dipak devkota.jpg

    दीपक देवकोटा : अध्ययनशील, लामो जेलजीवन 
    मिडियामा धेरै नछाउने अर्का उपाध्यक्ष दीपक देवकोटासमेत अध्यक्षका उम्मेद्वार हुन्। उनले २०५३ सालमा विद्यालय पढ्दादेखि नै साङ्गठनिक जीवन सुरु गरेका हुन्। देवकोटा रसुवामा ०५४ सालमा एसएलसी पास गरेपछि काठमाडौँआएर अस्कल कलेज भर्ना भए।

    अस्कल कलेजमा स्नातकसम्म पढेका देवकोटा त्यहीँबाट विद्यार्थी राजनीतिमा चिनिएका हुन्। २०५९ साउनमा गिरफ्तार परेका देवकोटा तीन वर्ष ११ महिना जेल बसे। करिब चार वर्ष जेल बसेर छुटेपछि पुनः विद्यार्थी राजनीतिमा होमिएका उनी उपत्यकामा क्याम्पस जिल्लाको अध्यक्ष, केन्द्रीय समिति, बागमती प्रदेश इन्चार्ज, दुई पटक उपाध्यक्ष भइसकेका छन्।

    खरो स्वभावका देवकोटा अहिले राजनीतिशास्त्रमा पिएचडी गर्दैछन्। माओवादी जनयुद्धकाल देखिकै योद्धा उनी अध्ययनशील नेता मानिन्छन्। दीपकलाई प्रभाकरको टिमको प्रतिनिधि मानिन्छ। उनी भने यसलाई स्वीकार गर्दैनन्।

    ‘हामीले संगठनमा सबैलाई सम्मान गर्नुपर्छ। कसको समूहको भन्नुभन्दा पनि अबको बहस र एजेन्डा संगठन सुधारको हुनुपर्छ’, उनी भन्छन्, ‘विद्यार्थी आन्दोलनलाई सामाजिक आन्दोलनको रुपमा अगाडि बढाउनुपर्छ।’

    पारिवारिक हिसाबले उनी सभामुख अग्नि सापकोटाका ज्वाइँ हुन्। संगठनको नेतृत्वका लागि उनलाई यो एउटा ‘प्लस प्वाइन्ट’ मानिन्छ। संगठनमा उनको पकड कमजोर मानिए पनि योगदान, क्रियाशिलता र बौद्धिकताले उनी नेतृत्वका प्रबल दाबेदार हुन्।

    bijay gautam.jpg

    विजय गौतम : शिक्षाका जानकार, नारायणकाजीको समर्थन 
    मकवानपुरका विजय गौतमले कक्षा ६ पढ्दा २०५३ सालमा नै संगठनको सदस्यता लिएका हुन्। उनी हेटौँडा क्याम्पसको स्ववियु सभापति, केन्द्रीय समिति सदस्य, २०६८ मा हिमाल शर्मा अध्यक्ष बन्दा सचिवालय सदस्य, २० औँभेलाबाट सचिव हुँदै २१ औँ सम्मेलनबाट उपाध्यक्ष निर्वाचित भएका हुन्।

    भद्र, शालीन मात्र होइन उनी अध्ययनशील नेता हुन्। उनलाई शिक्षाको विषयको जानकार मात्र नभएर विज्ञको रुपमा चिनिन्छ। लामो समय शिक्षा विभाग सम्हालेको, गिरिराजमणि पोखरेलसँग धेरै समय काम गरेको हुनाले पनि उनी शिक्षा क्षेत्रका बढी नै जानकार हुन्।

    गणितमा एमए र  राजनीतिशास्त्रमा पिएचडी गरेका गौतमको शिक्षामाथि प्रश्न गर्ने ठाउँ छैन। ‘मेरो ध्यान विद्यार्थीका शैक्षिक मुद्दा उठाउने सन्दर्भमा केन्द्रित छ’, गौतम भन्छन्, ‘विद्यार्थीको पहिलो मुद्दा शिक्षा हुनुपर्छ। त्यसैले पनि शिक्षामा कलम चलाएको छु।’ कोभिडलगायत समस्या बाँकी भएकाले सहमति कायम गर्न सकिन्छ भन्ने छलफल र बहस भइराखेको उनको दाबी छ।
    गौतमलाई नारायणकाजी श्रेष्ठको समर्थन रहेको छ। पार्टीभित्र बादल नभएकाले यसपालि नारायणकाजीले विजयका लागि अन्तिम समयसम्म कसरत गर्ने बताइन्छ।

    ‘एकता केन्द्र मशाल हुँदै आएकाले नारायणकाजीसँग जोडेर हेर्ने गरिन्छ तर संगठनमा जिम्मेवारी पाउँदा यसको प्रभाव हुन्छ जस्तो लाग्दैन।’ गौतमको कमजोरी भनेको संगठनमा कमजोर पकड मानिन्छ।

    Dipesh-pun.jpg

    महासचिव को त ?
    उपाध्यक्ष दिपेश पुनको दाबी अध्यक्षमा भए पनि अन्य सिनियर पुस्ताले उनलाई महासचिवको रुपमा चिनाउने गरेका छन्। विद्यार्थीमा २८ वर्षे प्रावधान हटाएर मात्र सिनियर पुस्ताबाट लेयर बनाउनुपर्ने पुनको भनाइ छ ।

    ‘३५ वर्षमाथिका सबै नेता पार्टी केन्द्रीय समितिमा गएर युवालाई नेतृत्व दिनुपर्छ’, पुन भन्छन्, ‘त्यो होइन भने विद्यार्थीमा २८ वर्षे प्रावधान नै हटाउनुपर्छ।’  उनको परिवार नै युद्धबाट आएको हो। उपराष्ट्रपतिको छोरा भएकाले दिपेशको संगठनमा पकड रहेको मानिन्छ। उनमा परिपक्वता नभएको आरोप अघिल्लो लेयरले लगाए पनि माओवादी आन्दोलनमा दिपेशले गरेको संघर्षलाई बिर्सने काम आजका दिनमा कसैले गर्न सक्दैनन्।

    माओवादीको मातृका यादवसँग एकता हुँदा उपाध्यक्ष बनेका रविकिरण यादवलाई कम आँक्न सकिन्न। आइटी इन्जिनियर उनी मातृकाका छोरा हुन्। उनले अहिलेसम्म कुनै पदमा दाबी नगरे पनि उनी सम्भावना बोकेका नेता हुन्। युवा पुस्तामा अध्ययनशील मानिएका सचिव नरेश रेग्मीलाई समेत महासचिवको दाबेदार मानिन्छ। एमफिलसम्मको अध्ययन सकेर पीएचडीको तयारीमा रहेका रेग्मी सचिवमध्येका अब्बल र बौद्धिक मानिन्छन्।

    महासचिव दाबेदारमा प्रभाकरको टिमबाट नारायण खनाल, अनन्तको टिमबाट पवन कार्कीलगायतको नाम चर्चामा छ। कोषाध्यक्ष केशव रावलले सामाजिक सञ्जालमार्फतमहासचिवको दाबेदारी प्रस्तुत गरेका छन्। रावल अनन्तको टिमका हुन्। प्रभाकरको टिमबाट क्षितिज सापकोटा र अम्बरजंग शाहीलगायतको दाबेदारी छ। कोषध्यक्षसहित १४ जना सचिवले महासचिव र उपाध्यक्षमा दाबी गरेका छन्। 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend