logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • खगेन्द्र संग्रौलाको टिप्पणी– ‘चोरलाई पनि विभूषण, सज्जनलाई पनि विभूषण !’ (भिडियोसहित)

    खगेन्द्र संग्रौलाको टिप्पणी– ‘चोरलाई पनि विभूषण, सज्जनलाई पनि विभूषण !’ (भिडियोसहित)

    5.5K
    Shares

    काठमाडौं। लेखक खगेन्द्र संग्रौलाले राज्यले वितरण गर्ने विभूषण चाँकडी परम्परा मात्र भएको टिप्पणी गरेका छन्। सरकारले आइतबार मात्र पदक प्रदान गरिने ९ सय बढी व्यक्तिको सूची सार्वजनिक गरेपछि सुनौलो नेपालसँग कुरा गर्दै संग्रौलाले यस्तो टिप्पणी गरेका हुन्।  

    ‘विभूषणको जरो भनेको चाँकडी हो। आफ्नो वरिपरि चाकर बटुल्नको निम्ति, भक्त बटुल्नको निम्ति, आलोचकको मुख बन्द गर्नको निम्ति यो दिइने हो’, संग्रौलाले भने। 

    राणाबाट पञ्चायत, पञ्चायतबाट प्रजातन्त्र हुँदै अहिले गणतन्त्र र संघीयतासम्म चाँकडीको प्रेतले सताइराखेको उनको भनाइ छ।  उनले सार्वजनिक विरोध नभएसम्म यो नरोकिने बताए। 

    ‘राणाबाट पञ्चायती शाही शासनसम्म आयो। शाही शासनबाट प्रजातन्त्रमा आयो। अहिले गणतन्त्र र संघीयतासम्म यसको प्रेतले सताइराखेको छ’, उनले थपे, ‘सार्वजनिक विरोध नभएसम्म यो रोकिनेवाला छैन।’ 

    संग्रौलाले चोरलाई पनि र सज्जनलाई पनि विभूषण दिएको बताए । पञ्चायतदेखि अहिलेसम्म एउटै प्रक्रिया रहेको उनको टिप्पणी छ । यो प्रक्रियाले आसेपासेलाई खुशी बनाए पनि राज्य स्रोतको ठूलो दुरुपयोग भएको उनले बताए ।

    ‘वस्तुगत ढंगले आयोग निर्माण गरेर विधि बनाएर विभूषणका लागि छनोट गर्न सकिएला, विभिन्न क्षेत्रका १०० जनालाई विभूषण दिन सकिएला वा १० जनालाई दिन सकिएला । चोरलाई पनि दिएको छ । सज्जनलाई पनि दिएको छ । पञ्चायतदेखि अहिलेसम्म चोरले पनि विभूषण पाएको छ, सज्जनले पनि पाएको छ । सहिदले पनि विभूषण पाएको छ । सहिदको हत्याराले पनि विभूषण पाएको छ । सदाचारीले पनि पाएको छ । दूराचारीले पनि पाएको छ’, संग्रौला भन्छन्, ‘यो चाहिँ आसेपासे र दलाललााई प्रशन्न तुल्याउन दिइने एउटा प्रक्रिया हो । तर, यो राज्य स्रोतको ठूलो दुरुपयोग हो ।’ 

    आसेपासेको संख्या बढाउन यो बाँडिएको उनको भनाइ छ। उनले यो आभूषण नभएर बक्सिस बाँडिएको बताए। ‘भीडलाई आभूषण बाँडिदैन। विशिष्ट प्रतिभा, राज्यको नयाँ कुराको आविष्कार र सिर्जनामा सम्मान गर्नु भनेको भिन्न कुरा हो’, उनले थपे, ‘यो आभूषण होइन भीडतन्त्रलाई बक्सिस बाँडिएको हो।’

    Khagendra-s.jpg

    संग्रौलाले मेडल छातिमा टाँसेर सम्मान नहुने भन्दै यो परिपाटीले कही नपुगिने बताए।  ‘विभूषण मेरा लागि आवश्यक कुरा होइन। नागरिकले योगदान गरेको छ भने सम्मान भावनाबाट आउँछ। मेडल छातिमा टाँसेर सम्मान हुँदैन’, उनले थपे, ‘यो परिपाटीबाट कही पनि पुगिँदैन।’ उनले अहिलेसम्म विभिन्न व्यक्तिले बहिष्कार गरेको भन्दै यो राम्रो कुरा भएको बताए। यसले व्यक्तिको सम्मान भएको उनको भनाइ छ।  

    उनले पदक पाएर छाति फुलाउनेमाथि टिप्पणी आवश्यक नभए पनि राज्यको स्रोतको दुरुपयोग गर्ने प्रथाको विरोध गर्नुपर्नेमा जोड दिएका छन्।  ‘समाजमा चोरहरु र विचौलिया पराक्रम गरेँ भनेर हिँडेका छन्। त्यो अचम्मको कुरा होइन। राज्यसत्ता चाँकडीप्रथाबाट चलेको छ। गौरव गर्नेलाई मैले केही भन्नु छैन। मैले भन्ने भनेको जसले दिन्छ उसलाई हो’, उनले थपे, ‘राज्यको स्रोतको दुरुपयोग गर्ने प्रथाको हामीले विरोध गर्नुपर्छ।’ संग्रौलाले देशमा धेरै कुरामा परिवर्तन आवश्यक भएको बताएका छन्।  थप भिडियोमा


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend