logo

२०८१ बैशाख ६ बिहिबार

logo
  • बिहिबार, ६ बैशाख २०८१
  • अब नेपालमा ‘मेड इन नेपाल’ लेखिएका विद्युतीय बस गुड्छन् : जर्मन कम्पनीका सीईओ रवीकुमार पंगा

    अब नेपालमा ‘मेड इन नेपाल’ लेखिएका विद्युतीय बस गुड्छन् : जर्मन कम्पनीका सीईओ रवीकुमार पंगा

    4.2K
    Shares

    नेपालमा विद्युतीय सवारी साधन चलाउने चर्चा आज मात्र चलेको होइन। हरेक वर्ष सरकारले बजेट सार्वजनिक गर्दा विद्युतीय सवारी साधन खरिदका लागि रकम छुट्याउने गरेको छ। पछिल्लो पटक विभिन्न स्थानमा विद्युतीय बसको चार्ज गर्नका निम्ति स्टेशन बनाउनका निम्ति सरकारले रकम विनियोजन गरेको छ। तर, यसको कार्यान्वयन पक्ष फितलो देखिन्छ। नेपालमा डिजेल र पेट्रोल आयात गर्नुपर्ने भएकाले विद्युतीय सवारी साधनलाई प्राथमिकता दिनुपर्ने जानकारको भनाइ छ। जर्मनी विद्युतीय बस उत्पादन गर्ने कशिश ई-मोबिलिटी प्रालिले नेपालमै विद्युतीय बस उत्पादनको तयारी गरिराखेको छ। सय वटा गाडी ल्याएर नेपालका सडकमा गुडाएपछि ‘मेड इन नेपाल’ ब्रान्डमै सवारी साधन उत्पादन गर्ने लक्ष्य लिएको कशिश प्रालिका सीईओ रवीकुमार पंगाको भनाइ छ। नेपालमा विद्युतीय सवारी साधन सञ्चालन र उत्पादनका निम्ति तयारी गरिरहेको जर्मन कम्पनी कशिसको योजना आकर्षक देखिन्छ। कशिशका सीईओ पंगाले विद्युतीय सवारी साधनका विशेषता र डिजेलबाट चल्ने सवारी साधनभन्दा किन फरक छ भन्ने विषयमा सुनौलो नेपालसँग लामो कुराकानी गरेका छन्। पंगासँगको कुराकानीको सम्पादित अंश : 

    स्वागत छ तपाईँलाई सुनौलो नेपालको स्टुडियोमा। नेपालमा आउँदा कस्तो महसुस भइराखेको छ ?

    निक्कै राम्रो लाग्यो नेपालमा आउँदा। अहिले म दुवईबाट आउँदैछु। त्यहाँ ४२ देखि ४३ डिग्री सेल्सियसको गर्मीले निक्कै गाह्रो बनाएको थियो। यहाँ आउँदा बिल्कुलै नयाँ शीतल मौसमको अनुभव भयो। निक्कै राम्रो वातावरण छ यहाँको। नेपालको वातावरण मलाई निक्कै मनपर्छ।

    नेपालमा एयरबस ब्राण्डको युरो विद्युतीय बस सार्वजनिक गर्ने तपाईंको योजना कहाँ पुग्यो ?   
    हाम्रो मुख्य कम्पनी कशिश ग्रुप युके हो। हामी युके बेस कम्पनी हौँ। भारतमा हामी कशिश ई-मोबिलिटी भनेर दिल्लीमा पनि उपस्थित भइसकेका छौँ। हामी जुन ब्राण्डमा बस दिन्छौं, त्यसलाई युरा बसको नामले चिन्दछौँ। यो जर्मनी बेस टेक्नोलोजी कम्पनी हो। बर्लिनमा पनि हाम्रो टेक्नोलोजी केन्द्र छ। यहाँ बसको अत्याधुनिक डिजाइन तयार हुन्छ। सुरुमा हामी विभिन्न मुलुकमा तयारी भएको विद्युतीय बस उपलब्ध गराउँछौँ। पछि त्यहाँको नीति हेरेर स्थानीय साझेदारसँगको सहकार्यमा सोही मुलुकमा एसेम्बल गर्दैआएका छौँ।

    यसरी हामी तजाकिस्तानमा एसेम्बल गर्दैआएका छौं। भारतमा गर्दैर्छौ। नेपालमा पनि अब एसेम्बल गर्ने नीतिगत सहयोग पाइएको छ। त्यही भएर अब नेपालमा पनि यो बस एसेम्बल गर्छाै। सुरुआती समयमा तयारी भएको बस भित्र्याउँछौं। त्यसपछि नेपालको स्थानीय साझेदारसँग मिलेर एसेम्बल गर्छौँ । ‘मेड इन’ नेपालको नामबाट यो बस उत्पादन गर्ने हाम्रो तयारी छ। नेपालको पहिचान झल्काउन यस्तो योजना अघि बढाएका छौं। यसमा स्थानीय बासिन्दाले रोजगारीसमेत पाउनेछन्।

    ravi-kumar-panga-eura-bus.jpg

    त्यसो भए तपाईं नेपालमै यो ब्राण्डको बस उत्पादन गर्ने कारखाना खोल्दै हुनुहुन्छ ?
    नेपालमा हाम्रो साझेदार सुन्दर ट्रेडर्स हो। यसको आफ्नै अत्याधुनिक ईन्जिनियरिङ्ग सेन्टर छ। सरकारले सुन्दर ट्रेडर्सलाई जग्गा उपलब्ध गराएको छ। यो जग्गा लुम्बिनी प्रदेशमा छ। त्यही जग्गामा बस तयार गर्ने कारखाना निर्माण हुनेछ। त्यो कारखाना निर्माण गर्न आवश्यक पर्ने प्रविधिसहितको सुविधा हामीले उपलब्ध गराउने हो। सुन्दर ट्रेडर्सको इच्छाअनुसार हामी भारत वा अन्य स्थानबाट बसको बडी र च्यासिस उपलब्ध गराउन हामी तयार छौं। हामीले प्राविधिक र आर्थिक रुपमा सहयोग गर्ने हो।

    नेपालमा विद्युतीय बस, भ्यान, जीप र दुई पाङ्ग्रे सवारी साधन भित्रिए पनि सर्वसाधारणमा यसप्रति त्यति आकर्षण भएको देखिदैँन नि ? बजार नभएको यस्तो अवस्थामा तपाईंले कसरी नेपालमै एसेम्बल गर्छु भनेर आँट गर्नुभयो ?

    यसका तीन-चार वटा कारण छन्। नेपाल किन विद्युतीय सवारीको लागि राम्रो बजार हो भन्ने कुरा बुझ्नुपर्छ। पहिलो कुरो त यहाँ डिजेल र पेट्रोल अर्को मुलुकबाट आयात हुन्छ। यो आयात गर्दा वैदेशिक मुद्रामा खरिद गर्नुपर्छ। यहाँ अर्को फायदा के छ भने विद्युतीय बस सञ्चालन गर्न आवश्यक पर्ने इलेक्ट्रिक ऊर्जाको भरपुर स्रोत छ। यहाँ पानीको प्रचुर स्रोत छ, जसबाट पर्याप्त परिमाणमा विद्युत उत्पादन हुनसक्छ। त्यसपछि सौर्य ऊर्जाको अवस्था पनि राम्रो छ। नेपालमा जलस्रोतको सहयोगमा नवीकरणीय ऊर्जामा जान सकिन्छ। नेपालमा पर्याप्त परिमाणमा जलस्रोतमा आधारित विधुतीय ऊर्जा छ भने डिजेल र पेट्रोल किन आयात गर्नुप¥यो। यसले गर्दा नेपालको व्यापार घाटा पनि अत्याधिक बढेको छ।

    अर्को कुरा नेपाल ‘ल्याण्ड लक’ भए पनि सुन्दर हिमालय भएको मुलुक हो। आउने पिढीलाई स्वच्छ वातावरण दिन चाहन्छौं भने सक्दो चाँडो हामी डिजेल र पेट्रोलबाट चल्ने सवारी साधनलाई विस्थापित गर्नैपर्छ। तेस्रो मुद्दा, नेपालमा हाम्रो साझेदार सुन्दर यातायात हो। जसले विद्युतीय बस सञ्चालन गर्दैआएको छ। उसले २ वर्षदेखि यसमा अथक परिश्रम गर्दैआएको छ। नेपाल सरकारको पनि राम्रो सहयोग छ। व्यापारिक दृष्टिकोणले मैले धेरै मुलुक हेरेको छु। तर नेपालमा सबैभन्दा राम्रो वातावरण पाएँ। यहाँ सरकारले पनि सहयोग गर्न चासो देखाएको छ, हाम्रो साझेदारले पनि चासो देखाएको छ। सरकारको नीति पनि सहयोगी छ। यसले गर्दा नेपालको बजार हाम्रो लागि निक्कै फाइदाजनक सावित हुनेछ।
    तर, यसको लागि केही समय लाग्नेछ। किनभने यहाँ विद्युतीय बस सञ्चालन गर्न आवश्यक पर्ने ब्याट्री बन्दैन्। न विद्युतीय सवारी तयार हुन्छ। जब तपाईँकै मुलुकमा विद्युतीय सवारी साधन निर्माण हुनथाल्छ, तब नेपालमै सवारी साधन तयार हुन्छ भनेर यहाँका जनतालाई विश्वास लाग्नेछ। यस्ता विषयमा गहन अध्ययन गरेपछि हामीले सवारी साधन तयार गर्न नेपाललाई रोजेका हौं। यहाँ उत्पादन हुने विद्युतीय बस नेपालमै बिक्री गर्नुका साथै विभिन्न मुलुकमा निर्यात गर्ने लक्ष्य पनि हामीले राखेका छौं।

    हाम्रो मुलुक अन्य मुलुकको भगौलिक अवस्थाभन्दा फरक छ। यहाँ तराईको जस्तो समथर परेको भूभाग पनि छ। हिमाली क्षेत्र पनि छ। निक्कै ओरालो र उकालो र बाँगो टिङ्गो बाटो छ। यस्तोमा नेपालमै उत्पादन गर्ने भनेको बस सहज रुपमा गुड्न सक्छ ?
    धेरै राम्रो प्रश्न गर्नुभयो। विद्युतीय बसमा न इन्जिन हुन्छ न गियर बक्स। यसमा ब्याट्री र मोटर मात्रै हुन्छ। मोटर पनि ३ प्रकारको हुन्छ। एउटा मोटर प्लेन सडकमा काम गर्छ। अर्को मोटर उवरखावड सडकमा काम गर्छ र अर्को मोटर दुवै अवस्थामा काम गर्छ। मोटरको हिसावले तपाईँ जस्तोसुकै सडकमा यस्ता बस चलाउन सक्नुहुन्छ। संसारभर थरिथरिका मोटर उपलब्ध छन्। विद्युतीय बसको अर्को विशेषता भनेको एक्सलरेसन (तत्कालै गति समात्ने) निक्कै राम्रो छ। डिजेल र पेट्रोलयुक्त सवारी साधन चलाउन केही समय लाग्छ। तर विद्युतीय सवारी चलाउन समय लाग्दैन। तत्कालै मज्जाले गुडाउन सकिन्छ। पहाडी र हिमाली क्षेत्रको जस्तोसुकै सडकमा यो चलाउन सहज हुनेछ। किनभने यसमा हाई डेन्सिटीको मोटर जडान भएकाले जस्तोसुकै उकालो र ओरालोमा चलाउन सम्भव हुनेछ।

    तपाईंको कम्पनीले उत्पादन गर्ने बसको बजारिकरण कति मुलुकमा भएको छ ? 
    हाम्रो युरा ब्राण्ड बस २०१५ मा स्थापना भएर विश्व बजारमा पुगेको छ। हामीसँग तीन प्रकारको संस्करण छ। त्यसलाई हामीले १.०, २.० र ३.० भनेर नामाकरण गरेका छौं। १.० र २.० संस्करणको बस युरोपियन मुलुकमा उपलब्ध गराएका छौं। अहिलेको नयाँ प्रविधिसहितको ३.० मोडेलको बस तजाकिस्तानमा गुडिरहेको छ। भारतमा पनि उत्पादन गरेर बजारमा उपलब्ध गराएका छौँ। तजाकिस्तानमा ३० वटा गाडी गुडिरहेका छन्। त्यहाँबाट ५ सयभन्दा बढीको माग आएको छ। भारतमा भएको कारखानाबाट २७ गाडी चलिरहेका छन्। हामीलाई जुन मुलुकबाट बढी माग आइरहेको छ, त्यही मुलुकमा हामी कारखाना राखेर एसेम्बल गर्न खोज्दैछौँ। त्यही भएर केही ढिलाई भएको हो।

    हाम्रो एउटा गाडी १ लाख किलोमिटरभन्दा बढी गुडिसकेको छ। माग आउने मुलुकको भगौलिक अवस्था, बाटोको अवस्था, हावापानीको आधारमा हामीले आफ्नै कारखानामा बसको डिजाइन तयार गर्दैआएका छौँ।

    ravi-kumar-panga-eura-buss1-e.jpg

    सर्वसाधारणले बुझ्ने भाषामा भनिदिनुहोस्, डिजेल र पेट्रोलयुक्त सवारी साधनभन्दा विद्युतीय सवारी साधन किन राम्रो छ ?
    म एउटा उदाहरण दिन्छु। ५० लाखसम्मको डिजेलको गाडी बजारमा पाइन्छ। तर विद्युतीय गाडीको मूल्य कम्तिमा २ करोड पर्छ। डिजेलको मूल्य १ सय रुपैयाँ पर्छ। तर १ सय रुपैयाँ हालेर ३ किलोमिटरमात्रै गुडाउन सकिन्छ। डिजेलबाट सवारी साधन चलाउन प्रति-किलोमिटर ३३ रुपैयाँ खर्च हुन्छ। अब विद्युतीय गाडीसँग तुलना गरौँ। डिजेल गाडीको तुलनामा विद्युतीय गाडी ४ दोब्बर महँगो पर्छ। तर, प्रति किलोमिटर गुडाउँदा विद्युतीय गाडीको खर्च ७ देखि ८ रुपैयाँ मात्रै पर्छ। डिजेलभन्दा विद्युतीय गाडी गुडाउँदा प्रति किलोमिटरमा कम्तिमा २५ रुपैयाँ बचत हुन्छ।

    डिजेल र विद्युतीय बसको लाइफ ७ देखि ८ लाख किलोमिटरसम्मको मात्रै हुन्छ। यसरी हेर्दा विद्युतीय सवारीको लाइफ टाइमसम्म तपाईँले २५ रुपैयाँका दरले १ करोड ७५ लाखको बचत इन्धनमा गर्न सक्नुहुनेछ। यसबाहेक मेन्टिनेन्सतर्फ पनि विद्युतीय बसमा ७-८ वटा उपकरण मात्रै मुभमेन्ट गर्छ। तर डिजेल सवारीमा सयौं उपकरण मुभमेन्ट गर्छ। ध्वनी प्रदूषण गर्छ। धुवा प्रदूषण गर्छ। डिजेलयुक्त सवारीभन्दा विद्युतीय सवारीमा कम्तिमा मेन्टिनेन्सतर्फ पनि प्रति किलोमिटरमा १० रुपैयाँ बचत हुन्छ। मेन्टिनेन्सतर्फ पनि विद्युतीय सवारीमा ७ लाख किलोमिटरमा ७० लाख रुपैयाँको बचत हुन्छ। ८ वर्षको टीसीओ (टोटल कस्ट अफ ओर्नरसीप) लाई हेर्दा यसमा अत्याधिक बचत छ। यसबाहेक यी बस वातावरण मैत्री पनि हुन्छन्। ध्वनी प्रदूषण पनि गर्दैनन्।

    तपाईंको जवाफलाई आधार मान्ने हो भने डिजेल बस भन्दा विद्युतीय बस खरिद गर्नु कयौं गुणा फाइदाजनक छ। तर, पनि किन सबैले विद्युतीय सवारी खरिद गर्दैनन त ? 
    सहि भन्नुभयो। किनभने यसको मूल्य डिजेल पेट्रोल गाडीभन्दा ४ दोब्बर महँगो छ। यसले गर्दा विद्युतीय सवारी साधन खरिद गर्न सर्वसाधारणलाई समस्या परेको हो। डिजेल वा पेट्रोल सवारी साधन खरिद गर्दा प्रत्येक २ किलोमिटरमा पम्पको सुविधा छ। तर, विद्युतीय सवारीका लागि अहिले पर्याप्त परिमाणमा चार्जिङ्ग स्टेशन छैनन् । चार्जिङ्ग समयको समस्या छ। हेर्नुस विद्युतीय सवारीका लागि चार्जिङ्ग गर्ने सिस्टममा अनुशासन चाहिन्छ। केही वर्षपछि भनौं नेपालको आधि जनसंख्याले डिजेल र पेट्रोलयुक्त सवारी साधनको साटो विद्युतीय बस, जिप, कार, भ्यान र दुई पाँग्रे सवारी साधन चलाउन थाले भने सरकार वा निजी क्षेत्रले अहिलेको पम्पजस्तै चार्जिङ्ग स्टेशन निर्माण गर्छन्। यस्तो भयो भने यस्ता सवारी साधन प्रयोग गर्न प्रोत्साहनका साथै यसको बजारको प्रवद्र्धन हुनेछ।

    अहिले आधा घण्टामै ८० प्रतिशत चार्ज गर्न सक्ने क्षमताको चार्जर बजारमा आइसकेको छ। वातावरण राम्रो बनाउन सरकारले चार्जिङ्ग स्टेशन निर्माण गर्न लगानी गर्नुपर्छ। यसका साथै बस तयार गर्न लाग्ने महँगो शुल्कलाई घटाउन सकियो भने ३-४ वर्षमा नेपालभरकै सडकमा हाम्रो ब्राण्डको बस गुडाउन हामी सक्षम हुनेछौँ। साथ सहयोग भयो भने यो लक्ष्य हामीले पक्कै भेट्न सक्छौँ।

    विद्युतीय बस किन यति महँगो भएको हो ?
    विद्युतीय बसमा अत्याधिक महँगो हुने भनेको दुई वटा उपकरण हुन्। एउटा ब्याट्री हो। अर्को स्टार्टर मोटर र कन्ट्रोलर्स हो। बाँकी बडी र एक्सल डिजेल सवारीजस्तै हो। बसको कूल लागतमध्ये ४० देखि ५० प्रतिशत ब्याट्रीमा खर्च जान्छ। यसले गर्दा विद्युतीय बस निक्कै महँगो छ। मेरो हिसावले जब हामीले यो सुरु ग¥यौं, सन् २०१५ मा। तब एक किलोवाट ब्याट्रीको मूल्य ४ सय डलर थियो। एउटा गाडीमा ३ सय किलोवाट क्षमताको ब्याट्री हुन्छ। तर आज त्यही ब्याट्रीको प्रतिकिलो वाटको मूल्य घटेर २ सय डलरमा आइपुगेको छ। मलाई विश्वास छ, जब विश्वभर विद्युतीय गाडी गुड्न थाल्छन्, तब ब्याट्रीको मूल्य अझ तल झर्नेछ। अबको दिनमा डिजेलयुक्त गाडीको मूल्य बढ्दै जान्छ र विद्युतीय सवारीको मूल्य घट्दै जानेछ। किनभने ब्याट्रीको मूल्य घट्दोक्रम छ। ब्याट्रीको मूल्य जति घट्दै जान्छ, विद्युतीय गाडीको मूल्य तुलनात्मक रुपमा त्यतिकै सस्तो हुँदै जानेछ। 
    संसारभर विद्युतीय बसको विभिन्न ब्राण्ड भएको अवस्थामा  तपाईँहरुले युरा ब्राण्डमै किन बस निर्माण गर्न र बजारिकरण गर्न सुरु गर्नुभयो ? 
    म भारतको दिल्लीस्थित कशिश ई मोबिलिटीको सीइओ हुँ। युरा ब्राण्डको बस हामीले भारतमा तयार पार्छाै। गाडी ओपरेट पनि गर्छौ। हामी फण्डिङ्ग पनि गर्छौँ । भौतिक पूर्वाधारमा लगानी पनि गर्छौँ । मेरो भूमिका गाडीमा मात्रै सीमित छैन, बृहत छ। हामीले जर्मनीको कडा कानुन र मापदण्डको बीच युरा ब्राण्डको बसको डिजाइन तयार गरेका छौं। हामीले युरोपियन स्टाण्र्डडमा आधारित भएर डिजाइन र प्रविधि बसमा जडान गरेका छौँ।

    संसारभर बलियो र उच्च प्रविधियुक्त भएको गाडी युरोप वा जर्मनीबाटै आउँछ। हाम्रो कम्पनी पनि जर्मनीकै हो। पार्टस, प्रविधि र डिजाइनको सबालमा हामीलाई जर्मनी कम्पनीले सर्पोट गरेको छ। यहाँसम्म कि चीनमा निर्माण भएको विद्युतीय गाडीमा पनि ब्याट्री मात्रै मेड इन चाइना हो। बाँकी सबै जर्मनीबाटै आयात गरी उनीहरुले बस तयार गर्दैआएका छन्। हामी जर्मनीको कम्पनी भएकाले सकेसम्म उच्चतम प्रविधिको प्रयोग गरेका छौँ।

    हामीले कम्तिमा ८ वर्ष सवारी साधन चल्ने गरी डिजाइन गरेका छौँ। यसैको आधारमा हामीले लगानी पनि गरिरहेका छौँ। मलाई हाम्रो गाडीमाथि विश्वास छ। गाडीमा ८ वर्षको लगानी पनि गरिरहेका छौं। हामी आफ्नो अनुभवको सहयोगमा सवारी साधनलाई अझ अत्याधुनिक बनाइरहेका छौँ। यसले गर्दा अन्य ब्राण्डको तुलनामा हाम्रो ब्राण्ड संसारभरमै लोकप्रिय छ। टेक्नोलोजीको हिसावले पनि हाम्रो उत्पादन सर्वश्रेष्ठ हो।

    तपाईँ नेपालमा ३-४ पटक आइसक्नुभयो ? कहिलेदेखि तपाईको युरा ब्राण्डको बस सञ्चालनमा आउनेछ ?
    नेपालमा म तेश्रो पटक आइपुगेको छु। नेपालको प्रोजेक्ट मुटुसम्म आइपुगेको छ। भारतसँग निक्कै नजिक पनि छ नेपाल। आगामी नोभेम्बरको अन्तिमसम्म वा डिसेम्बरको पहिलो सातामा २० गाडी काठमाडौंमा भित्र्याउने योजना छ। विभिन्न गृहकार्य सक्ने १५ देखि २० दिन लाग्छ। जनवरीदेखि मार्चको बीचमा यस्तै थप ८० गाडी पठाउने तयारीमा छौँ। यो विषयमा हामीसँग सुन्दर यातायातले सम्झौता गरेको छ। सम्झौता ५ सय गाडीको लागि भएको हो।

    तर हामी चाहन्छौं पहिलो चरणको २० र दोश्रो चरणको ८० गरेर १ सय गाडी ल्याइसके पछि बाँकी गाडी हामी नेपालकै कारखानामा एसेम्बल गर्न चाहन्छौं। यसको लागि हामी आवश्यक उपकरण पठाउन तयार छौँ। एक सय गाडीपछि आउने गाडी मेड इन नेपालको नामबाट ल्याउने हाम्रो योजना छ।

    यो विषयमा तपाईँ सम्बन्धित मन्त्रालयका मन्त्री र सरकार प्रमुखसँग पनि भेटघाट गर्नुभएको छ, उहाँहरुको प्रतिक्रिया कस्तो छ ?
    म खुलेरै कुरा गर्छु। म विश्वभरको ३० देखि ३५ मुलुक हेर्छु, युरा ब्राण्डको विद्युतीय बसको बजारिकरणका लागि। जुन रेस्पोन्स नेपालको सम्बन्धित मन्त्रालयबाट पाएको छु, त्यो निक्कै सकारात्मक छ। मैले नेपालमा विद्युतीय गाडी बिक्री नगरे पनि विद्युतीय गाडीको फाइदाको विषयमा उहाँहरुलाई थाहा छ। यो बसको बारेमा उहाँहरुलाई निक्कै जानकारी छ। सरकारले आफ्नै लगानीमा यहाँ चार्जिङ्ग स्टेशन निर्माण गरिदिने प्रतिवद्धता जनाएको छ। यो सबैभन्दा सुखद पक्ष हो। सरकारको यो लक्ष्य पनि हो। जब म लुम्बिनीमा प्लान्ट निर्माण गर्न जग्गा हेर्न गएको थिएँ। त्यहाँ पनि प्रादेशिक सरकारसँग भेटघाट गर्‍यौँ। कुन कुन स्थानमा कतिवटा चार्जिङ्ग स्टेशन निर्माण गर्नुपर्छ भनेर उहाँहरुले पनि मसँग जानकारी माग्नुभयो। यो विषय पनि हाम्रो लागि सुखद् नै हो।

    हरेक पक्ष र सरकार विद्युतीय सवारी सञ्चालनको विषयमा उत्साहित छन्। विद्युतीय बस वा सवारी साधनको प्रवद्र्धन गर्न सरकारले पनि प्रतिवद्धता जनाएको छ। अर्को सुखद पक्ष भनेको सुरुआती लगानीका लागि बैंकले पनि सहयोग गर्ने प्रतिवद्धता जनाएको छ। सुरुआतमै भित्रिने सवारी साधनको लागि पनि लगानी लगाउन बैंक तयार भइसकेका छन्। अर्को मुलुकमा बैंकले विद्युतीय बसमा लगानी गर्न चासो नराखेको अवस्थामा नेपालमा भने साकारात्मक भूमिका देख्न पाइयो। यसबाहेक नेपालमा यातायात क्षेत्रको संघ संस्था र कम्पनी पनि त्यतिकै छन्। मेरो हिसाबले यातायातसम्बन्धी ३-४ कम्पनीले विद्युतीय सबारी सञ्चालनमा सफलता पाउने बितिकै अन्य कम्पनी पनि यसलाई अंगाल्न अघि बढ्नेछन्।

     
    तपाईंलाई के लाग्छ, विद्युतीय सवारी साधन नेपालको लागि उपयुक्त छ भनेर सबैलाई यसमा चासो छ ? 
    यसको लागि मिडियाको पनि ठूलो भूमिका हुनसक्छ। मिडियाले राम्रो पक्षलाई उजागर गरेपछि सबैले जानकारी पाउछन्। नेपाली मिडियाले पनि भविष्यको सन्ततीलाई प्रदूषित वातावरणबाट जोगाउन विद्युतीय सवारी साधनको बारेमा खुलेर बहस गर्न आवश्यक छ। विद्युतीय गाडी गुड्दा गुड्दै बीचमा रोकिदैंन। यो बिषयमा ढुक्क भएर बस्नुपर्छ। 

    तपाईंहरुले सुन्दर यातायातसँग मिलेर मात्रै यो बस नेपालमा ल्याउन लाग्नु भएको छ। अरु कुनै कम्पनीले ल्याउन चाह्यो भने ल्याउन सक्छ वा सक्दैन् ?
    सुन्दरसँग हाम्रो ३ प्रकारको सम्झौता छ। सुन्दर यातायातले बस गुडाउँछ। अर्को हो सुन्दर ईन्जिनियरिङ्ग, जसले अब गाडी निर्माण गर्नेछ। यो बीचमा अर्को पनि सम्झौता भएको छ, सुन्दर ट्रेडर्ससँग। सुन्दर ट्रेडर्स हाम्रो ब्राण्डको विद्युतीय बस अन्य डिलरलाई पनि दिनसक्छ। कसैले लिन चाहन्छ भने सुन्दर ट्रेडर्सबाट सोझै लिनसक्छ। हामीले सुन्दर ट्रेडर्ससँग सम्झौता गरेकाले कसैले चाहे पनि सोझै हामीसँग यो ब्राण्डको बस लिन सक्दैन्। सुन्दर ट्रेडर्ससँगै लिनुपर्छ। गाडी खरिद गरेपछि मेन्टिनेन्स, टेक्निकल सहयोगलगायत सम्पूर्ण सुविधा सुन्दर ट्रेडर्समार्फत हामीले उपलब्ध गराउने हो।

    नेपालमा आउने भनिएका २० वटा बसको विशेषता के हो ? 
    नेपालमा आउन बस साढे ८ मिटर लम्बाइका हुन्छन्। यो करिब मिनिबस साइजको हुनेछ। यसमा २१ देखि ३१ सिटसम्मको अप्सन हुनेछ। यसमा २१ सिट मात्रै जडान गरेर उभिएर यात्रा गर्ने यात्रुको लागि बढी स्थान छुट्याउन सकिनेछ। आउने यो गाडी कुन रुटमा सञ्चालन हुने विषयमा पनि जानकारी दिन मन लाग्यो। यसमध्ये १४ गाडी चक्रपथ रोडमा गुड्नेछ। बाँकी ६ गाडी लुम्बिनीमा गुड्नेछ।

    यी बस एक पटक चार्ज गर्दा कति किलोमिटरसम्म गुड्न सक्छन् ?
    नेपाल ल्याइने २० बसमा १७५ देखि २ सय किलोवाट क्षमताको ब्याट्री जडान गरिएको छ। चार्ज भएको ऊर्जामध्ये २० प्रतिशत सामान्यतया रिजर्भ गरेर राखिने व्यवस्था छ। एक पटक चार्ज गर्दा यो गाडी १५० किलोमिटरसम्म गुड्न सक्छ। रातभर चार्ज गरे पनि बिहान यो किलोमिटरको हाराहारीमा बसलाई गुडाउन सकिनेछ। तर काठमाडौंमा ७-८ ट्रिप गुडाउनुपर्छ। यस्तो अवस्थामा २ ट्रिपपछि आधा घण्टाको लागि चार्ज गरे पुग्छ। यसको लागि हामी काठमाडौंको विभिन्न स्थानमा चार्ज गर्न भौतिक पूर्वाधार निर्माण गर्न पनि लागिरहेका छौं।

    भनेपछि लामो दूरीमा गुड्ने बस निर्माण गर्ने योजना छैन् ? जस्तै काठमाडौं चितवन, काठमाडौं भैरहवालगायतका रुटमा यो गाडी गुडन सक्दैनन् ?
    हामीले ३ प्रकारको मोडेल उपलब्ध गराउँदैछौँ। अहिले साढे ८ मिटरको २० गाडीको कुरा गर्यौं। अब कुरा गरौँ बाँकी ८० गाडीको। साढे १० मिटरको ३० र १२ मिटर लम्बाई भएको ३० गाडी हामी दिन्छौं। चितवनदेखि काठमाडौंको लम्बाई करिब २०० किलोमिटरको होला।  यस्तो रुटमा १२ मिटरको बस मज्जाले ओहोर दोहोर गर्नसक्छ। यसमा साढे १० मिटरको बस पनि जानसक्छ। यसमा ३ सय किलोवाटको ब्याट्री हुनछ। एक पटक चार्ज गर्दा २ सय ५० किलोमिटरसम्म मज्जाले बस गुड्नसक्छ। साढे १० र साढे १२ मिटरको बस हामीले २ सयदेखि ३ सय किलोमिटर दूरीको रुटको लागि निर्माण गर्नेछौं। यस्तो बसमा ४५ यात्रु बस्ने सिटको सुविधा हुनेछ। 

    Rabin.jpg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend