logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • अब नेपालमै बन्ने भयो यामाहा बाइक, लगानी डेढ अर्ब 

    अब नेपालमै बन्ने भयो यामाहा बाइक, लगानी डेढ अर्ब 

    6K
    Shares

    काठमाडौं । अब नेपालमै यामाहा मोटरसाइकल बन्ने भएको छ । नेपालको लागि यामाहाको आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेजले यामाहा ब्रान्डको मोटरसाइकल र स्कुटर उत्पादन गर्न गृहकार्य सुरु गरेको हो ।

    एमएडब्लुले यामाहा ब्राण्डमा मोटरसाइकल र स्कुटर उत्पादन गर्न (एसेम्बल) का लागि १ अर्ब ५१ करोड ५० लाख रूपैयाँ लगानी गर्ने भएको छ । मोटरसाइकल र स्कुटर उत्पादन गर्नका लागि एमएडब्लू अटो प्रालि कम्पनी पनि दर्ता भइसकेको छ ।

    सरकारले चालु आर्थिक वर्षको आर्थिक अध्यादेशको प्रतिस्थापन विधयेकमार्फत एसेम्बल उद्योगलाई भारी छुट दिएपछि दबाबमा परेको यामाहाले नेपालमा एसेम्बल प्लान्ट लगाउन लागेको हो। बजाज र टीभीएसपछि नेपालमा मोटरसाइकल उत्पादन गर्ने यामाहा तेस्रो कम्पनी हुनेछ।

    प्रतिस्थापन विधयेकमार्फत १ सय २५ सीसीभन्दा माथिका दुई पांग्रे सवारी साधनमा अन्तः शुल्क १० प्रतिशतले बढाइएको थियो भने नेपालमा नै उत्पादन गर्नेलाई दुई तह छुटको व्यवस्था गरिएको थियो। यो व्यवस्थासँगै यामाहा, हिरो र होन्डा एसेम्बल प्लान्ट लगाउनुपर्ने दबाबमा परेका थिए।

    एमएडब्लू अटो प्रालिले स्थापना गर्ने एसेम्बल उद्योगबाट १ सय ४४ जनालाई रोजगारी दिने जनाएको छ। एसेम्बल उद्योगमा शतप्रतिशत स्वदेशी लगानी हुने छ। नयाँ व्यवस्थासँगै एसेम्बलका लागि आयात हुने मोटरसाइकल तथा स्कुटरको सीकेडीमा २० प्रतिशत मात्र अन्तः शुल्क लाग्ने छ। यसअघि सीकेडीमा एक तह छुट अर्थात ३० प्रतिशत अन्तः शुल्क लाग्दै आएको थियो।

    बजाज तथा टीभीएसका मोटरसाइकल नेपालमै एसेम्बल हुँदै आएको छ। बजाजको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलास चन्द एन्ड कम्पनीले हुलास अटो क्राफ्टमार्फत विगत ५ वर्षदेखि मोटरसाइकल एसेम्बल गर्दै आएको छ।

    त्यस्तै टीभीएसको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले जगदम्बा अटो ग्रुपमार्फत मोटरसाइकल तथा स्कुटर एसेम्बल गर्दै आएको छ। टीभीएसले अहिलेसम्म १६० सीसीका मोटरसाइकल मात्रै नेपालमा एसेम्बल गरिरहेकोमा अब सबै किसिमका उत्पादन नेपालमा नै एसेम्बलको तयारी गरेको छ।

    यसअघि एसेम्बलका लागि आयात गरिने चारपाङ्ग्रे र ठूला सवारीमा लाग्ने अन्तः शुल्कमा ५० प्रतिशत र मोटरसाइकलमा २५ प्रतिशत छुट दिइएको थियो। वर्तमान सरकारले बजेट मार्फत एसेम्बलका लागि ल्याइने मोटरसाइकलमा लाग्ने अन्तः शुल्क समेत ५० प्रतिशत छुट दिने व्यवस्था गरेको थियो। सरकारले ल्याएको यो नीतिबाट विदेशमै बनेका मोटरसाइकलको मूल्य बढेको छ भने एसेम्बल प्रयोगका लागि आयात गरिने मोटरसाइकलको मूल्य भने बढेको छैन।

    तयारी आयातित १२५ सीसीदेखि १५५ सीसी र ५ सयदेखि ८ सय सीसी इन्जिन क्षमताका मोटरसाइकलको मूल्य बढ्ने गरी कर बढाएको थियो। सडक निर्माण दस्तुरमा १२५ सीसीदेखि १५५ सीसी इन्जिन क्षमताका मोटरसाइकलमा प्रतिगोटा ३ देखि ४ हजार रुपैयाँ बढेको छ।

    सरकारले यसअघि १५५ सीसीको मोटरसाइकलमा ४० प्रतिशत अन्तः शुल्क लगाएको थियो भने १५५ सीसीदेखि २५० सीसीसम्मका मोटरसाइकलमा ४० प्रतिशत नै अन्त: शुल्क थियो। मोटरसाइकलको वर्गीकरण नै परिवर्तन गरी  १२५ देखि १५५ सीसीसम्मका  मोटरसाइकलमा ४० बाट ५० प्रतिशत अन्तः शुल्क लगाएको थियो।

    यसैगरी ५ सयदेखि ८ सय सीसीसम्मका मोटरसाइकलमा ८० बाट १०० प्रतिशत अन्तः शुल्क बनाइदिएको छ। प्रतिस्थापन विधेयकबाट सडक निर्माण दस्तुर समेत बढाएको छ। १२५ देखि १५५ सीसीसम्मका मोटरसाइकल आयात गर्दा लाग्ने सडक दस्तुर प्रतिगोटा ३ हजार बढाइदिएको थियो।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend