logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • उफ् ! जे छोयो, त्यही महँगो : दसैंमै अचाक्ली लुट

    उफ् ! जे छोयो, त्यही महँगो : दसैंमै अचाक्ली लुट

    6.1K
    Shares

    काठमाडौं ।  दसैंको मुखमै बढेको महँगीले चाडवाडलाई खल्लो बनाएको छ । दसैंमै बढी उपभोग र प्रयोग गरिने दैनिक उपभोग्यका सामग्रीको मूल्य अचाक्ली रुपमा बढ्दा यो बर्षको दसैंलाई महँगीले गाजेको छ ।

    दसैंले बजारलाई अहिले छपक्कै छोपेको वेलामा खानपानदेखि लगाउने लुगासम्मको मूल्य बृद्धि हुँदा रमाइलो गरी चाडवाड मनाउने सर्वसाधारणको भावनामा नुनचुकको काम गरेको छ । 

    चामल, हरियो तरकारी, खाने तेल, मासु, लत्ताकपडा र जुत्ताको मूल्य बढेको छ । असोज पहिलो साता १ हजार ७ सय रुपैयाँमा बिक्री भएको २५ किलोको एक बोराको जिरा मन्सुली चामलको मूल्य असोज तेश्रो सातामा आइपुग्दा १ हजार ७ सय ५० पुगेको छ । आधिकारिक रुपमा प्रति बोरामै ५० रुपैयाँ बृद्धि भएपनि विभिन्न चौकमा यही चामल १ हजार ८ सय रुपैयाँमा बिक्री भइरहेको छ । 

    खुद्रा व्यापार संघका कार्यवाहक अध्यक्ष रामकृष्ण मानन्धरकाअनुसार असोजको पहिलो साता र तेश्रो सातामै विभिन्न उपभोग्य बस्तुको मूल्य बृद्धि भएको जानकारी दिए । उनकाअनुसार चामल, खानेतेल, चिनी, दाल, च्युरालगायतको मूल्य बढेको हो ।

    ‘असोज पहिलो साताको तुलनामा अहिले केही प्रमुख बस्तुको मूल्य बृद्धि भएर आएको छ,’ मानन्धरले भने,‘हामीले मूल्य बढाएका छैनौं । थोक बिक्रेताबाटै मूल्य बढेर आएको छ । प्रत्येक उपभोग्य बस्तुको मूल्यमा ५ देखि १० प्रतिशत बृद्धि भएको छ ।’

    पछिल्लो तीन साताकै अवधीमा चिनीको मूल्य पनि बढेर आएको छ । केही साता अघिसम्म प्रमुख खुद्रा पसलमा ९० रुपैयाँ किलोमा पाइने चिनीको मूल्य अहिले १ सय रुपैयाँ पुगेको छ । गल्ली र चोकको पसल सञ्चालकहरुले भने प्रतिकिलो चिनीलाई १ सय १० रुपैयाँसम्म असुल गर्दैआएका छन् ।

    खानेतेलको मूल्यमा भने निरन्तर रुपमा झेल हुँदैआएको छ । अघिल्लो बर्षको चैतदेखि क्रमिक रुपमा बढ्न थालेको खानेतेलको मूल्यमा कुनै नियन्त्रण भएको छैन् । प्रत्येक महिना प्रतिलिटरमा न्युनतम ५ रुपैयाँदेखि १० रुपैयाँसम्म बढ्ने क्रम अझै जारि छ । असोज पहिलो साता ब्राण्डअनुसार २ सय २५ देखि २ सय ३५ रुपैयाँमा पाइने सनफ्लावर तेलको मूल्य अहिले २ सय ५० रुपैयाँ पुगेको छ । 

    यस्तै २ सय २० मा बिक्री भएको भटमासको तेलको मूल्य बढेर २ सय ४० पुगेको छ । त्यस्तै गरी २ सय ४० रुपैयाँ प्रतिलिटर रहेको काँचो तोरीको तेलको मूल्य अहिले २ सय ६० र ३ सय ४० रुपैयाँको भुटेको तोरी तेलको मूल्य अहिले ३ सय ७० मा पुगेको छ ।

    संघकाअनुसार २ सय २० रुपैयाँ पर्ने डाल्डा घीउको मूल्य बढेर २ सय ३० रुपैयाँ भएको छ । यही अवधीमा दुई प्रकारको दालको पनि मूल्य बढेर आएको छ । कार्यवाहक अध्यक्ष मानन्धरकाअनुसार १ सय ५० मा बिक्री भएको मुसुरो दालको मूल्य बढेर अहिले १ सय ५० र १ सय रुपैयाँ पर्ने चना दालको मूल्य बढेर १ सय १० रुपैयाँ भएको छ । 

    उता दसैंको समयमा अत्यधिक खपत हुने चाइचिन चिउरामा पनि प्रतिकिलो १० रुपैयाँ बढेको छ । प्रतिकिलो १ सय २० मूल्य रहेको उक्त चिउराको मूल्य बढेर १ सय ३० रुपैयाँ कायम भएको छ ।

    उपभोक्तावादीहरुकाअनुसार सरकारको फितलो अनुगमन, समान वितरण प्रणाली कार्यान्वयनमा नआउनु, पहुँचको भरमा औद्योगिक घरानाको हस्तक्षेपलगायतका कारण बजार अराजक बाटोमा पुगेको हो । बजारमा भइरहेको मूल्य बृद्धिको बिषयमा बाणिज्य, आपूर्ति तथा उपभोक्ता  संरक्षण विभागले अनुगमन गर्छ । यो विभागले अनुगमन गरिरहेको दाबी गरेपनि सर्वसाधारणले भने राहतको अनुभूति गर्न पाएका छैनन् । 

    विभागका निर्देशक शिवराज सेढाईले खानेतेल, खाद्यान्नलगायतको मूल्य बृद्धिको बिषयमा सरकारले गम्भिरताका साथ अध्ययन गरिरहेको जानकारी दिए । ‘उद्योगी व्यवसायीले भन्सार बिन्दुमा बस्तुको लागत मूल्य कृत्रिम घोषणा गरेको, बील बिजक जारि गरेको, लागत मूल्यभन्दा बढी नाफा लिएकोलगायतको बिषयमा विभागले अध्ययन गरिरहेको छ,’ सेढाईले भेन,‘अध्ययनको क्रममा नियमविपरित बढी मुनाफा लिएको पाइएमा कडा कारवाही गर्न विभाग पछि पर्दैन् ।’

    नेपाल राष्ट्र बैंकले पनि उपभोग्य बस्तुको मूल्य बृद्धि भएको जनाएको छ । बैंकको तथ्याँकअनुसार चालु आर्थिक वर्षको साउनमा तेलसहित घीउको मूल्यमा २९.०७ प्रतिशतले मूल्य बृद्धि भएको छ । गत् बर्ष तेल र घीउको मूल्यवृद्धि ६.४८ प्रतिशतको सीमाभित्र थियो । गत् साउनमा समग्रमा मूल्यवृद्धि ४.३५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको साउनमा यो मूल्यबृद्धिको दर ३.४९ प्रतिशत थियो ।

    नेपाल वनस्पति घिउ–तेल उत्पादक संघका अध्यक्ष सन्दीपकुमार अग्रवालले कच्चा पदार्थ आयातको भरमा घीउ तेल उत्पादन हुने भएकाले अन्तर्राष्ट्रिय बजारको प्रभावअनुसार नेपालको स्वदेशी बजारमा मूल्य बढेको दाबी गरे । ‘अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चा पदार्थको मूल्य दोब्बर हुनुका साथै ढुवानी भाडा दर र तेल तयार पारि बजारसम्म ल्याउन आवश्यक पर्ने अन्य प्रकारका सहायक कच्चा पदार्थको पनि मूल्य बढेकाले खानेतेलको मूल्य बढेको हो,’ अग्रवालले भने । 

    उनकाअनुसार खानेतेल तयार पार्न आवश्यक पर्ने कच्चा पदार्थ क्रुड सोयाबीन तेल, क्रुड सनफ्लावर तेल, तोरीको गेडा अर्टेन्टिना, ब्राजिल, क्यानाडा, अस्ट्रेलिया, युक्रेनलगायतका मुलुकबाट आयात हुन्छ ।

    तरकारीको मूल्य पनि छोइनसक्नु 

    पछिल्लो समयमा हरियो तरकारीको मूल्य पनि छोइ नसक्ने गरी बढेको छ । असोजको पहिलो साता थोकमा प्रतिकिलो ५८ रुपैयाँमा कारोबार गरेको रातो आलुको मूल्य अहिले ७० मा पुगेको छ ।

    रातो आलु खुद्रा पसलमा भने ९५ रुपैयाँमा बिक्री भइरहेको छ । यस्तै ४२ रुपैयाँ जाने सेतो आलुको मूल्य ४४ भएको छ । सेतो आलुलाई खुद्रा व्यापारीले ७० रुपैयाँमा बिक्री गर्दैआएका छन् । कालिमाटी बजारमा थोकमा ५५ रुपैयाँमा बिक्री भएको ठूलो गोलभेडालाई अहिले ९५ रुपैयाँ थोक मूल्य तोकिएको छ ।

    यस्तै ४२ रुपैयाँमा थोक कारोबार गरेको प्याजको मूल्य बढेर ७०, ८० जाने बोडीको १ सय १० र ६० जाने भिण्डीको मूल्य बढेर ७५ रुपैयाँ प्रतिकिलो थोक मूल्य कायम भएको छ । यस्ता तरकारी खुद्रामा न्युनतम ४० रुपैयाँ पाउभन्दा घटीमा पाइंदैंन् ।

    लुगाफाटोमा २० प्रतिशतभन्दा बढी मूल्य बृद्धि

    चाडवाडमा नयाँ लुगा लगाएर रमाउने सर्वसाधारणको चाहनामाथि महँगीको मारले कुठाराघात गरेको छ । काठमाडौंको भोटाहिटी, असन, इन्द्रचोक, खिचापोखरी लगायतका प्रमुख लुगाफाटो र जुत्ताको बजारमा यस्ता सामग्रीको मूल्यमा २० प्रतिशतभन्दा बढीले मूल्य बृद्धि भएको छ ।

    दसैंको लागि भनेर सपिङ गर्ने जाने आम उपभोक्ताले अघिल्लो बर्षको तुलनामा यो बर्ष यस्ता सामग्रीको मूल्यमा २० प्रतिशतभन्दा बढीले मूल्य बृद्धि भएको अनुभव सुनाएका छन् । 

    व्यापारीहरुले दसैंलाई लक्षित गरेर बजारमा ल्याइएका सामग्री नेपाल र चीनबीचको भन्सार नाकामै लामो समयसम्म रोकिँदा बजारमा अभाव भएको र भन्सारको मूल्याङकन दरसमेत बढेका कारण तुलनात्मक रुपमा केही महँगो भएको बताएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend