logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • शान्त दसैँ मनाउने योजना बनाएका छौँ : डीआईजी उत्तमराज सुवेदी

    शान्त दसैँ मनाउने योजना बनाएका छौँ : डीआईजी उत्तमराज सुवेदी

    4.6K
    Shares

    काठमाडौं । चाडपर्वमा सबै रमाइरहँदा प्रहरी भने चनाखो हुन्छ । फेस्टी मुडमा हुनसक्ने दुर्घटना, अपराध, विकृति रोक्न सुरक्षाकर्मी खटिन्छन् । विदा र घरपरिवार भन्ने हुँदैन । प्रहरी कार्यालय नै घर र सहकर्मी नै परिवारजस्तो हुन्छ । कुनै अप्रिय घटना र चिन्ताबिना ढुक्कसँग नागरिकले चाडपर्व मनाउन पाए भने प्रहरीलाई खुसी मिल्छ । घरमा टीका लाउन नपाएको खल्लोपना हराउँछ । फौजको नियमै हो प्रतिकूल र अफ्ठेरो परिस्थितिमा सेवा गर्नु । तर पनि मानवीय स्वभावले चाडपर्वमा घर जान नपाउँदा, विदा नपाउँदा मन खल्लो भइहाल्छ । यसलाई हटाउन प्रहरी कार्यालयमै पनि दसैं मनाउने गरिन्छ ड्युटीलाई असर नपर्नेगरी । यसपालि पनि दसैंमा यसरी नै मनाउने तयारी प्रहरीको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव महानिरीक्षक उत्तमराज सुवेदीसँग फौजी दसैंबारे कुराकानी गरेको छ ।

    दसैंमा सपरिवार बस्ने रहर नलाग्ने त होइन । जागिर खाँदा जनयुद्ध सुरु भयो । समस्याग्रस्त क्षेत्रमा पोस्टिङ भयो । छुट्टि पाउने र माग्ने अवस्था थिएन । परिवार बोलाउन पनि समस्याग्रस्त क्षेत्रमा सम्भव थिएन । चाडपर्वमा सँगै नहुने अवस्था सिर्जना भयो । पछि ह्याविट हुँदै गयो । सबै कुराले परिवारलाई खुसी राख्न सकिने रहेछ । तर, जब जब घुम्न जाने कुरा आउँछ, घरपरिवारसँगै बस्ने भन्ने कुरा आउँदा उपस्थित भएन भन्ने असन्तुष्टि परिवारमा हुन्छ ।

    तर, सामान्य अवस्था हुँदा परिवार बोलाएर कार्यक्षेत्रमै मनाउने त कहिले काठमाडौंमै पोस्टिङ हुँदा घर आउने जाने अवस्थामा टीका लगाउन पाउँथे । यो मेरोमात्र होइन सबै प्रहरीको कथा हो । प्रहरीमा जागिर खाइसकेपछि घरपायक अथवा घरमा बसेर जागिर खाने सम्भावना धेरै कम रहन्छ ।

    प्रहरी भइसकेपछि सँगै बस्न पाइँदैन र सबै प्रहरीका परिवारको यो गुनासो रहन्छ । तर, अब उहाँहरुले पनि बुझ्नुहुन्छ । प्रहरीको जागिर, जनताको सेवा गर्नुपर्छ, अरु जागिरजस्तो टेन टु फाइभ हुँदैन । जति बेलुका, राति भयो त्यति नै अपराधका घटना बढ्न सक्ने जोखिम हुन्छ । झन राति चनाखो भएर बस्नुपर्छ । हामीलाई धेरैले यसपटकको दसैं तिहार कस्तो भयो सोध्नुहुन्छ, मैले के भन्ने गरेको छु भने यदि त्यो चाडपर्वको बेलामा कुनै पनि अप्रिय घटना घट्न नपाई शान्तिपूर्वक सर्वसाधारणले हर्षउल्लासपूर्वक मान्ने वातावरण सिर्जना गर्न सकिएको छ भने त्यो वर्षको दसैं सफल, राम्रो र रमाइलो भयो ।

    तर, नचाहँदा पनि कहिलेकाही अप्रिय घटना घट्यो र एउटा परिवारमात्रै शोकमा, समाज शोकमय भयो भने त्यसको असरले हाम्रो दसैं राम्रो भएन, खल्लो भयो भनेर भन्ने गरेको छु । व्यवहारमा त्यहीँ हो । जसरी अरुबेला सर्वसाधारण प्रहरी हाम्रो सुरक्षामा छ, गस्ती गरिरहेको छ भनेर रातभर ढुक्कले सुत्नुहुन्छ, त्यसैगरी चाडपर्वमा फेस्टी मुडमा आफन्तजनकहाँ ओहोरदोहोर गर्ने, आशिर्वाद लिने, भेटघाट गर्ने, चाडपर्व मनाउने वातावरण कुनै चिन्ताबिना ढुक्कसँग भयो भने र कुनै घटना घट्न पाएन भने हामीलाई एकदम सन्तुष्टि हुन्छ ।

    यसपटकको चाडपर्वको बेलामा म महानगरीय प्रहरी कार्यालय रानीपोखरी काठमाडौंमै छु । मेरो परिवारहरु पनि यतै छन् । म अहिले फ्रन्टलाइनमा नभएर सुपरभाइजरी रोलमा छु । यसअघि म फ्रन्टलाइनमा थिए । त्योबेला भन्दा अलिकति केही समय निकाल्न सकिन्छ कि भन्ने खालको छ । तर, विदामा बसिँदैन । टीकाको दिन कुनै समय मिलाएर घरमा एकछिन टीका लगाउन जानेसम्मको योजना बनाएको छु ।

    सर्वसाधारणलाई चाडपर्व मनाउने क्रममा खटिएका प्रहरी अधिकृत तथा जवानहरुको परिचालनलाई थप व्यवस्थित बनाउने, थप सुरक्षा प्रत्याभूति हुने किसिमको वातावरण सिर्जना गर्नेतर्फ आफूलाई केन्द्रीत गरेको छु । त्यसैगरी ब्यारेकभित्र पनि सिनियर र जुनियर प्रहरी अधिकृत तथा जवानहरुसँग मनाउने योजना छ । प्रहरी प्रधान कार्यालयमा आईजी साप, एआईजीलगायत अग्रजसँग आशिर्वाद लिन्छु भने इच्छुक अनुज प्रहरी कर्मचारीलाई मैले पनि टीका लगाइदिने र आशिर्वाद दिन्छु ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend