logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    जनजीवन नै प्रभावित हुने गरी किन भइरहेकाे छ बेमौसमी वर्षा ?

    जनजीवन नै प्रभावित हुने गरी किन भइरहेकाे छ बेमौसमी वर्षा ?

    5.6K
    Shares

    काठमाडाैं । आइतबार रातिदेखिको वर्षाका कारण मुलुकभरको जनजीवन प्रभावित भएको छ ।  मनसुन बाहिरिँदै गर्दा बंगालको खाडीमा उत्पन्न भएको न्यून चापीय अवस्था र अफगानिस्तानमा पश्चिमी वायुको प्रभाव विकसित भएपछि त्यसको प्रभाव नेपालको पश्चिमी क्षेत्रमा बढी परेको छ ।

    नेपालको पश्चिमी क्षेत्रमा वर्षायामभन्दा बढी वर्षा हुनुका साथै हावाहुरी पनि आएको छ । वर्षापछि जम्मा भएको पानीले थन्क्याउने बेलाको धान नै डुबाएको छ ।

    १–२ दिनमै धान भित्र्याउने बेलामा वर्षाले धानबाली नष्ट गरेपछि किसानहरू वर्ष दिनसम्म के खाने भन्ने चिन्तामा डुबेका छन् । उत्तरतर्फ सरिरहेको मौसमी प्रभावले देशका सुदूरपश्चिम, कर्णाली र गण्डकीमा केही अधिक र अन्य प्रदेशका केही स्थानमा सामान्य वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    काठमाडौं उपत्यकामा आइतवार रातिदेखि नै मौसम बदली हुनुका साथै केही स्थानमा वर्षा भइरहेको छ । वर्षाको क्रम मंगलवारसम्म पनि जारी रहने महाशाखाले जनाएको छ ।

    मनसुन सकिने बेला बाढीपहिरो आउने गरी वर्षा हुनुलाई विज्ञहरूले जलवायु परिवर्तनको असर भनेका छन् । मनसुन सकिएपछि हुने अप्रत्यासित वर्षाले धेरै मानवीय र भौतिक क्षति गराउने सम्भावना रहने विज्ञको भनाइ छ ।

    जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले मनसुनपछि हुने वर्षाले धेरै क्षति गर्ने बताए । उनले भने, ‘यो खतरनाक किन हुन्छ भने मान्छेले मनसुन गइसक्यो भनेर बुझ्छ । अनि मुभमेन्ट बढाउँछ । त्यो मुभमेन्ट बढ्दा यस्तो नयाँ सिस्टम विकसित हुन्छ । त्यो नयाँ सिस्टमको प्रभाव मान्छेको आकलनभन्दा बाहिर गएर आउने भएकाले हानी नोक्सानी बढी गर्ने र बढी गरिरहेको अवस्था पनि छ ।’

    यस वर्षको मनसुन ११ जुनमा शुरू भएर ११ अक्टोबरमा बाहिरिएको थियो । २३ सेप्टेम्बरमा मनसुन बाहिरिनुपर्ने भए पनि केही वर्षदेखि ‘सिप्ट’ भइरहेकाले नेपालले २ अक्टोबरलाई मनसुन बाहिरिने मिति तोकेको छ तर १ हप्ता बढी ढिला गरी नेपालबाट मनसुन बाहिरिएको थियो । 

    मनसुन बाहिरिने प्रक्रियासँगै बंगालको खाडीमा न्युन चापिय अवस्था सिर्जना हुनु र अफगानिस्तानमा विकसित पश्चिमी वायुको प्रभावका कारण मनसुन सकिएपछि पनि वर्षा भएको विज्ञ उप्रेतीले बताए । मनसुन सकिएपछिको वर्षाका कारण सुदूरपश्चिमका विभिन्न क्षेत्रमा बाढी र पहिरोको घटनाको समाचार आउन थालेको छ ।

    उनले भने, ‘नेपालमा मनसुन जुनमा भित्रिने र अक्टोबरमा बाहिरिने गरेको अवस्था देखिएको छ । यस वर्ष ८ दिन ढिला गरी मनसुन बाहिरियो । मनसुन बाहिरिने प्रक्रिया नेपालबाट भारतको साउथमा गएर टुंगिएर समुन्द्रमा जान्छ तर मनसुन बाहिरिँदै गर्दा बंगालको खाँडीमा एक खालको न्युन चापिय अवस्था उत्पन्न भयो र अफगानिस्तानमा पश्चिमी वायुको प्रभाव विकसित भयो र दुवै वायु एकआपसमा ठोक्कियो र त्यसबाट नेपालको पश्चिमी क्षेत्र बढी प्रभावित भयो । अहिले पूर्वदेखि पश्चिमसम्म नै यो वायुले निम्त्याएको प्रभाव देखिएको छ । मेलम्चीमा पनि फेरि बाढी आएर अस्थायी पुलहरू बगाएको छ ।’

    छिमेकी राष्ट्र भारतले उत्तरप्रदेश र उत्तराखण्ड राज्यमा ‘रेड अलर्ट’ जारी गरिसकेको छ । त्यहाँ २०० मिलिमिटरभन्दा बढी वर्षा हुने आकलन गरिएको छ । नेपालको पश्चिम क्षेत्र डडेल्धुरामा गत २४ घण्टामा १७९ लिटर मिलिमिटर वर्षा भइसकेको छ । यो भारतको आँकडासँग मिल्दोजुल्दो छ । यो अवस्था जलवायु परिवर्तनको असरसँग जोडिने विज्ञ उप्रेतीले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend