logo

२०८१ बैशाख ११ मंगलबार

logo
  • मंगलबार, ११ बैशाख २०८१
  • ठूला ब्यक्तिको ब्यक्तिगत दबाब आयो : शिक्षामन्त्री पौडेल

    ठूला ब्यक्तिको ब्यक्तिगत दबाब आयो : शिक्षामन्त्री पौडेल

    3.2K
    Shares

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ठूल्ठूला व्यक्तिहरुको व्यक्तिगत चाहना सम्बोधन गराउने खालका दबाबहरु आफूमाथि आउने गरेको खुलासा गरेका छन् । 

    मन्त्री पौडेलले माथिल्लो तहबाट बेलाबेलामा बोलाउने गरेको र जाँदाखेरी शैक्षिक प्रणाली सुधार्ने भन्दापनि ठूल्ठूला व्यक्तिहरुको व्यक्तिगत चाहना सम्बोधन गराउने गरी दबाब आउने गरेको बताएका हुन् । 

    सत्तारुढ दलका विद्यार्थी संगठनका नेताहरुसँग बुधबार सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा भएको सामूहिक भेटमा मन्त्री पौडेलले आफूले ती राजनीतिक दवावहरुलाई पदमा रहन्जेल प्राथमिकता नदिने प्रतिवद्धता समेत व्यक्त गरे । उनले आफ्नो पहिलो पहलकदमी सार्वजनिक शिक्षाको सुधारमा केन्द्रित हुने योजना पनि सार्वजनिक गरे । 

    उनले निजी क्षेत्रको नियमन गर्ने र प्राविधिक शिक्षालाई परिणाममुखि बनाउन समेत आफू लागिपर्ने बताउँदै भने, ‘पोलिटिकल प्रेसर पनि शिक्षा प्रणाली सुधार्नेभन्दा ठूल्ठूला वरिष्ठ व्यक्ति र व्यक्तित्वहरुको चाहना बढि भएको आउँछ । बोलायो, दौडदै गयो । केही कुरा भन्नु हुन्छ कि भन्यो, चाहना अर्के छ । तर मैले तपाईँहरुलाई के प्रतिवद्धता व्यक्त गर्दछु भने ती म यो पदमा रहुन्जेल प्राथमिकताका विषय हुँदैनन् । यति भनेपछि बुझ्ने भयो नि । अहिले मेरो प्राथमिकताको विषय भनेको सार्वजनिक शिक्षालाई म यहाँ रहँदासम्म सुधार गर्ने, अगाडि बढाउने । निजी क्षेत्रको बारेमा सरकारले नै पोलिसी ल्याएको हुनाले निजी क्षेत्रलाई पनि नियमन गर्ने र सँगै लिएर जाने । उसलाई नीति दिने, नियमन गर्ने । सार्वजनिकलाई सुधार गर्न जोड दिन पहलकदमी गर्ने हाम्रो जोड हुनेछ ।’

    मन्त्री पौडेलले ‘राष्ट्रपति शैक्षिक कार्यक्रम’ र ‘पढदै-पढाउँदै कार्यक्रम’ तत्काल अघि बढाउने गरी तयारी भईरहेको र त्यसमा आवश्यक सुझाव दिन विद्यार्थी संगठनका नेताहरुलाई आग्रह गरे । छलफलमा सत्तारुढ दलमा आवद्ध नेपाल विद्यार्थी संघका सभापति राजीव ढुंगानाले निजी क्षेत्रले जथाभावी शुल्क विद्यार्थीहरुबाट असुली रहेको उल्लेख गर्दै तत्काल नियन्त्रण गर्न मन्त्री पौडेलको ध्यानाकर्षण गराएका थिए । अनेरास्ववियू क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले सार्वजनिक क्षेत्रको शैक्षिक सुधारको कार्यक्रमलाई परिणाममुखि बनाउनुपर्नेमा जोड दिन आग्रह गरेका थिए । 
    गर्नु भएको थियो ।

    मन्त्री पौडेलसँगको भेटमा सत्तारुढ दलमा आवद्ध विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, अखिल छैठौंका सुर्य पौडेललगायतका नेताहरु सहभागी थिए । 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend