logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • भारतमा एक सिलिण्डरको मूल्य २ हजार भारु, भारतले ६ महिनामा कमायो ४३ हजार करोड भारु, कच्चा तेलको मूल्य ११० डलर प्रति व्यारेल पुग्ने सम्भावना

    भारतमा एक सिलिण्डरको मूल्य २ हजार भारु, भारतले ६ महिनामा कमायो ४३ हजार करोड भारु, कच्चा तेलको मूल्य ११० डलर प्रति व्यारेल पुग्ने सम्भावना

    5.1K
    Shares

    काठमाडौं । भारतमा व्यवसायिक काममा प्रयोग हुने खाना पकाउने ग्यासको मूल्य बृद्धि भएको छ । 

     १९ किलोको प्रति सिलिण्डरमा २ सय ६६ भारतीय रुपैयाँ बढेको हो । नयाँ मूल्यअनुसार अव यो तौलको एक थान सिलिण्डरलाई २ हजार भारतीय रुपैयाँ तोकिएको छ । यसअघि प्रति सिलिण्डरको मूल्य १ हजार ७ सय ३४ भारतीय रुपैयाँ थियो । नयाँ मूल्य सोमबारदेखि लागु भएको हो ।

    घरेलु काममा प्रयोग हुने ग्यास सिलिण्डरको मूल्य भने बढाइएको छैन् । भारतमा प्रयोजनका हिसावले व्यवसायिक र घरेलु गरी दुई थरीको खाना पकाउने ग्यासको उत्पादन र बजारिकरण हुँदै आएको छ ।

    घरायसी ग्यासमा उपभोक्तालाई राहत
    भारतले व्यवसायिक प्रयोगमा खपत हुने ग्यासको मूल्य बृद्धि गरेपनि घरायसी प्रयोजनमा खपत हुने ग्यासको मूल्य भने बढाएको छैन् । दिल्लीमा १४.२ किलो तौल भएको सरकारी अनुदान वाहेकको एक थान सिलिण्डरलाई ८९९.५० भारतीय रुपैयाँ तोकिएको छ । यो मूल्य पनि गत् अक्टुवरमा बृद्धि भएर कायम भएको मूल्य हो । 

    कच्चा तेलको मूल्यमा भएको बृद्धिसँगै भारतमा घरायसी प्रयोजनमा खपत हुने सिलिण्डरको मूल्य १ हजार भारुसम्म पुग्ने आँकलन गरिएको छ । 

    नेपालमा एकै प्रकारको सिलिण्डरले बढायो घाटा 

    नेपालमा भने व्यवसायिक र घरेलुको हकमा एकै थरीको सिलिण्डर प्रयोग हुने भएकाले नेपाल आयल निगमले ग्यासमा अत्याधिक घाटा व्यहोर्दै आएको छ । निगमले पछिल्लो समय मूल्य समायोजनपश्चात कात्तिक १२ गतेदेखि प्रति सिलिण्डरको उपभोक्ता मूल्य १ हजार ५ सय रुपैयाँ तोकेको छ । 

    मूल्य समायोजन पश्चात् पनि निगमले मुख्यतः पेट्रोलतर्फ प्रतिलिटर १२ रुपैयाँ ५५ पैसा, डिजेलतर्फ प्रति लिटर ११ रुपैयाँ ६७ पैसा र ग्यास सिलिण्डरतर्फ ४ सय ६१ रुपैयाँ ५० पैसा घाटा  व्यहोर्न बाध्य छ । यसरी यो दुवैतर्फ गरी निगमले १५ दिनमा १ अर्ब ८७ करोड ६७ लाख रुपैयाँ व्यहोर्नुपर्ने अवस्था सिर्जना भएको छ । 

    मूल्य समायोजनपछि १५ दिनको अवधीमा पेट्रोलमा करिब ३३ करोड ८९ लाख, डिजेलतर्फ ८९ करोड ८६ लाख र एलपी ग्यासतर्फ ६८ करोड २१ लाख घाटा निगमले व्यहोर्नेछ ।

    भारतमा इन्धनको मूल्य फेरी बढ्यो 
    खाना पकाउने ग्यासको मूल्यसँगै भारतमा पेट्रोल र डिजेलको मूल्यमा पनि बृद्धि भएको छ । भारतीय सरकारको स्वामित्वमा भएका कम्पनीहरुले सोमबार पनि यो दुवै प्रकारको इन्धनको मूल्य बृद्धि गरेको छ ।

    जसअनुसार प्रति लिटर डिजेलमा ३९ भारतीय पैसा र पेट्रोलमा ३५ भारतीय पैसासम्म मूल्य बृद्धि भएको छ । यो मूल्यअनुसार भारतको ठूलो शहरमा पेट्रोलको मूल्य प्रतिलिटर भारु १०९.६९ कायम भएको छ । यस्तै डिजेलको ९८.४२ भारु कायम भएको छ ।

    भारतमा प्रत्येक दिन बिहान ६ बजे पेट्रोल र डिजेलको मूल्य समायोजन हुन्छ । एक्साइज ड्युटी, डीलर कमीशन र अन्य बिषय जोडेर खरिद मूल्यभन्दा बिक्री मूल्य करिब दुई दोब्बर हुने गर्छ । 

    हंगकंगमा सबैभन्दा महँगो, भेनेजुयलामा प्रति लिटरलाई भारतीय १ रुपैयाँ मात्र
    भारतमा अहिले पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर १ सय भारतीय रुपैयाँभन्दा माथि पुगेपनि अन्य मुलुकको तुलनामा भारतमा अहिले पनि यो मूल्य सस्तो नै हो । 

    अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य क्रमिक रुपमा बढ्दै गएको छ । जसको असर विश्वभरको आर्थिक क्षेत्र र उद्योग क्षेत्रमा परेको छ । विश्वमै सबैभन्दा महँगो हंगकंगमा इन्धन पाइन्छ ।  हंगकंगमा प्रतिलिटर पेट्रोललाई १९७.४४ भारतीय रुपैयाँ तोकिएको छ ।

    यस्तै पुर्तगालमा १४९.५८, मोनाकोमा १५१.०७, इटलीमा १५१.०७, यूनानमा १५२.५७, आइसल्याण्डमा १५२.५७, इस्त्राइलमा १५४.०६, स्वीडेनमा १५४.०६, फिनल्याण्डमा १५५.५६, डेनमार्कमा १६०.०५, नर्वेमा १६९.०२ र नेदरल्याण्डमा प्रति लिटर पेट्रोललाई १७०.५२ भारतीय रुपैयाँ मूल्य तोकिएको छ ।

    संसारमै सबैभन्दा सस्तो भेनेजुयलामा इन्धन पाइन्छ । भेनेजुयलमा एक लिटरलाई भारतीय १ रुपैयाँमात्रै तिर्दा पुग्छ । यस्तै ईरान, सीरिया, अंगोला, अल्जीरिया, कुवेत, नाइजेरिया, इराक, मलेसियालगायतका मुलुकमा पनि इन्धनको मूल्य निक्कै सस्तो छ । 

    इन्धनबाट भारतले कमायो ४३ हजार करोड भारु
    भारत सरकारले इन्धनको कारोबारबाट चालु आर्थिक बर्षको पहिलो ६ महिनाको अवधीमा ४३ हजार करोड भारतीय रुपैयाँ कमाई गरेको छ । महामारी पूर्व (सन् २०१९) मा यही ६ महिनाको तुलनामा भारत सरकारले ९५ हजार ९३० करोडले बढी बढी आम्दानी गरेको हो । 

    पछिल्लो बर्ष भारत सरकारले पेट्रोलमा प्रतिलिटर उत्पादन शुल्क १९.९८ रुपैयाँबाट बृद्धि गरी ३२.९ भारु र डिजेलतर्फ ३१.८० भारु बृद्धि गरिएको थियो ।

    १५० भारुसम्म जान सक्छ पेट्रोलको मूल्य : गोल्डम्यान सैक्स
    पेट्रोल र डिजेलको बढ्दै गरेको मूल्यले सर्वसाधारणलाई आर्थिक महँगीको भार थपेको छ । इन्धनको बजार अध्ययन गर्ने कम्पनी गोल्डम्यान सैक्सले ब्रेट कच्चा तेलको मूल्य सन् २०२२ मा ११० डलर प्रति व्यारेल पुग्न सक्ने अनुमान गरेको छ ।

    उक्त कम्पनीअनुसार कच्चा तेलको मूल्य १४७ डलर प्रति व्यारेल अल टाइम हाई लेभललाई पनि पार गर्न सक्छ ।

    कच्चा तेलको यो मूल्य सन् २००८ कायम भएको थियो । त्यो वेला संसारभरको मुलुक आर्थिक मन्दीको चपेटामा परेका थिए । गोल्डम्यानको प्रतिवेदनअनुसार पेट्रोलको मूल्य १५० प्रति लिटर भारुसम्म पुग्न सक्छ । यस्तै डिजेलको मूल्य प्रतिलिटर १४० भारुसम्म पुग्न सक्छ । 

    -एजेन्सीको सहयोगमा


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend