काठमाडौं । गहुँवालीसहित अन्य हिउँदे वालीलाई आवश्यक पर्ने डीएपी मलको चर्को अभाव भएको छ ।
देशभरका किसानले धानवाली काटेर अहिले गहुँवाली लगाउन सुरु गरेका छन् । गहुँसँगै मकै, आलु, तोरीसहित अन्य वालीलाई आवश्यक पर्ने परिमाणमा डीएपी मल सरकारसँग छैन् ।
यो वेला डीएपी मलकोे माग ६५ हजार टन छ । तर सरकारी स्वामित्वको कृषि सामाग्री कम्पनीसँग भारत र चीनबाट आयात हुने कूल परिमाण गरी ३० हजार टन मात्रै डीएपी मलको उपलब्धता हुनेछ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले डीएपी मल ल्याउने बिषयमा गम्भिर नभएकाले यो बर्ष फेरी किसानले गहुँवालीका लागि मलको चर्को सास्ती व्यहोर्नु पर्ने भएको छ ।
कृषि सामाग्री कम्पनीले भारतको इण्डियन पोटास लिमिटेड(आईपीएल) बाट २५ हजार टन डीएपी मल ल्याउन सुरु गरिसकेको छ । यसमध्ये केही परिमाण रक्सौल नाकाहँदै नेपाल आउन सुरु भइसकेको छ ।
यो वाहेक कृषि सामाग्रीले चीनसँग खरिद गरेको ५ हजार टन डीएपी तत्कालै आइपुग्ने अवस्था छैन् । ५ हजार टन चीनको सिगात्सेसम्म आइपुगे पनि चीनको विभिन्न प्रक्रिया पुरा गरि तातोपानी नाकासम्म आइपुग्न अझै महिना लाग्ने कृषि सामाग्री कम्पनीका एक अधिकारीले जानकारी दिएका छन् ।
गहुँवालीसहित अन्य हिउँदे वालीलाई आवश्यक पर्ने डीएपी मल समयमै आयात गर्नका लागि मन्त्रालयसँग दुई प्रकारको विकल्प मात्रै भएको ति अधिकारीले जानकारी दिए । ‘हामीसँग कित् जीटुजीबाट ल्याउनुपर्यो वा अन्य कुनै कुटनीतिक पहलमार्फत तत्कालै आउनुपर्यो । अर्को बिकल्प हामीसँग छैन्,’ ति अधिकारीले भने ।
मलकै कारोबार गरिरहेको साल्ट ट्रेडिङ कर्पोरेशन पनि डीएपी मलको मौज्दात छैन् । कर्पोरेशनका सहायक कार्यकारी अधिकृत पंकज जोशीले अहिलेलाई डीएपी मल नभएको जानकारी दिए । ‘अहिले तत्कालका लागि डीएपी मल हामीसँग पनि छैन,’ उनले भने,‘आगामी दुई महिनापछि आउने सम्भावना छ ।’
उनकाअनुसार भारतको इण्डियन पोटास लिमिटेड(आईपीएल) सँग सम्झौता भएको २५ हजार टन डीएपी आगामी दुई महिनापछि नेपाल आइपुग्छ । ‘तर आईपीएलले खरिद गर्ने कम्पनीको टुङगो नलागेकाले अहिले नै के हुन्छ भन्न सकिन्न,’ उनले भने ।
भारतमा प्रतिवन्ध मल साल्टले भित्र्यायो
साल्ट ट्रेडिङ कर्पोरेशनले भारतमा प्रयोग गर्न प्रतिवन्ध भएको एसएसपी अमोनियम सल्फेट नामको मल भित्र्याएको छ । स्रोतकाअनुसार यो मल भारतमा प्रयोग गर्न प्रतिवन्ध छ । तर कर्पोरेशनले यो मल भित्र्याएर युरिया मलको विकल्पमा गैर अनुदानित मूल्यमा किसानलाई बिक्री गर्दैआएको छ ।
कर्पोरेशनका सहायक कार्यकारी अधिकृत जोशीले भने यो मल प्रयोग गर्न मिल्ने बताए । अमोनियम सल्फेट मल युरियाको विकल्पमा प्रयोग गर्न सकिने जानकारी दिदैं जोशीले भारतमा समेत यो मल प्रयोग भइरहेको दाबी गरे ।