logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • डीडीसी प्रकरण : दूधमा ‘तर’ मारेरै हुन्छ लाखौंंको घोटाला !, उच्च तहसम्म लगाइन्छ रकमको भागवण्डा 

    डीडीसी प्रकरण : दूधमा ‘तर’ मारेरै हुन्छ लाखौंंको घोटाला !, उच्च तहसम्म लगाइन्छ रकमको भागवण्डा 

    5.8K
    Shares

    काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) मा उच्च अधिकारीको मिलोमतोमा दूधमा ‘तर’ मारेर लाखौं रुपैयाँको घोटाला भइरहेको फेला परेको छ ।

    प्राप्त आधिकारिक कागजातले दूधमा तर मार्ने गरिएको बिषयलाई पुष्टि गरेको छ । सरकारकै मापदण्डअनुसार प्रशोधित दूधमा ३ प्रतिशत फ्याट (तर) अनिवार्य रुपमा हुनुपर्छ । तर डीडीसीले बजारमा पठाउने प्रशोधन गरिएको प्याकेट दूधमा २.५ देखि २.८ प्रतिशतको हाराहारीमा मात्रै फ्याटको मात्रा भेटिएको हो । 

    यसरी डीडीसीका उच्च तहका अधिकारीहरुको मिलोमतोमा दूधमा तर मारेर अवैद्य रुपमा लाखौं रुपैयाँ हरेक महिनामा आर्जन गर्दैआएका छन् ।  डीडीसीको दूधमा एक लाइनदेखि ५ लाइनसम्म तर मार्ने चलनै छ ।

    लाइन मारेको तरबाट घिउ बनाएर वा तरकै रुपमा बाहिरी बजारमा गुपचुप बिक्री हुने गरेको पाइएको छ । वर्षौंदेखि यसरी करोडौं रुपैयाँ घोटाला भइरहे पनि सरोकारवाला निकायले गम्भीर रुपमा छानबिन भने गरेको छैन । किसानबाट दूध खरिद, प्रशोधन र प्याकेजिङको समयमै छापा मारेर नमूना परीक्षण गर्न नसकेका कारण दूधमा तर मारेर लाखौं रुपैयाँबराबरको घोटाला भइरहेको छ । यस्तै आम उपभोक्ता गुणस्तरीय दूधको रकम दिएर पनि गुणस्तरहिन दूध सेवन गर्न बाध्य छन् ।

    दूधमा तर मारिएको बिषयमा विभिन्न समयमा शंका उपशंका नउब्जिएको होइन् । तर त्यो बिषयमा कसैले पनि छानविन गर्ने आँट नगरेका कारण तर मार्ने धन्धा निक्कै फस्टाउँदै गएको थियो । र आज पनि यो धन्धा निक्कै मौलाउँदै गएको छ ।

    शंकाकै आधारमा केही बर्षअघि(२०७४ चैत २४ गतें) संस्थानको सञ्चालक समितिका तत्कालिन अध्यक्ष रघु गौतमसहितको प्राविधिक टोलीले बालाजुस्थित काठमाडौं दुग्ध वितरण आयोजनामा छापा मारेको थियो । त्यो वेला प्राविधिक टोलीले दूधको बिषयमा सुक्ष्म  रुपमा अध्ययन गर्दा प्रशोधित दूध अर्थात उपभोक्ताको घरमा पुग्ने दूधमा तर मारिएको फेला परेको थियो । (दूधमा तर मारिने बिषयमा उच्च तहसँग गरिएको कुराकानीको रेकर्ड सुरक्षित छ ।)

    ‘डीडीसी ब्राण्डको दूधमा ३ प्रतिशत फ्याट हुनुपर्नेमा २.८ प्रतिशतसम्म मात्रै रहेको फेला प¥यो,’ डीडीसीका तत्कालिन सञ्चालक समितिका एक सदस्यले भने,‘छापा मारेपछि बल्ल दूधमा तर मार्ने गरेको घटना सार्वजनिक भयो ।’

    तर मार्ने बिषयलाई पुष्टि गर्ने अर्को पनि सरोकारवाला निकायको प्रमाणित प्राविधिक प्रतिवेदन सुनौलो नेपाललाई प्राप्त भएको छ । बालाजु आयोजनामा छापा मारिएको वेला उक्त आयोजनाको प्रमुख डीडीसीको हालको उपप्रवन्धक राजेन्द्र अधिकारी नै थिए । 
    वर्षौंदेखि यसरी करोडौं रुपैयाँ घोटाला भइरहे पनि डीडीसीको केन्द्रिय कार्यालयसहित कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गम्भिरतापूर्वक छानविन गर्ने बिषयमा चासो देखाएको छैन। सरकारी स्वामित्वकै संस्थानबाट उत्पादित दूधको गुणस्तर यस्तो छ भने स साना लगानीमा सञ्चालनमा रहेका डेरी उद्योगको दूधको गुणस्तरीयता झन् कस्तो होला आफै कल्पना गर्न सकिन्छ । 

    प्रशोधित दूधमा चिल्लोपनाबाहेक ठोस पदार्थ (एसएनएफ) को मात्रा कम्तीमा ८ र घृतांश वा तर (फ्याट)को मात्रा ३ प्रतिशत अनिवार्य हुनुपर्ने मापदण्ड कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले तोकेको छ । ८ प्रतिशत एसएनएफ र ३ प्रतिशत तर भएको दूधलाई मात्रै गुणस्तरीय मानिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।

    ‘दूधमा योभन्दा कम परिमाणमा एसएनएफ र फ्याट देखियो भने त्यो दूध न्यून गुणस्तरभित्र पर्छ’, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट भर्खरै अवकाश प्राप्त गरेका पूर्व महानिर्देशक उपेन्द्र रायले भने, ‘यस्तो दूध पानीजस्तै हो ।’

    उनकाअनुसार प्रशोधित दूधका ३ प्रतिशत फ्याट र ८ प्रतिशत एसएनएफ अनिवार्य रुपमा हुनै पर्छ । हुनुपर्छ । पूर्व महानिर्देशक रायकाअनुसार सरकारी स्वामित्वको डीडीसी र नीजि क्षेत्रका डेरी उद्योगबाट उत्पादन भएका दूधहरुमा फ्याटको परिमाण २.७ देखि २.९ प्रतिशतसम्म मात्रै भेट्ने गरेको दर्जनौं पटकको अनुगमनको क्रममा भेटिएको छ ।

    उनले भने,‘मिलोमतोको आधारमा दूधमा २ देखि ५ लाइनसम्म फ्याट घटाएर अतिरिक्त कमाई गर्ने भित्री खेल पनि हुन्छ । यस्तो खेल हुँदै आएको विभिन्न समयमा भएको अनुगमनले पनि देखाएको छ ।’  ३ प्रतिशतमा १० लाइन हुन्छ । एक लाइन मात्रै घटाउँदा सरोकारवाला निकाय मालामाल हुने उनको कथन छ । 

    डीडीसी सञ्चालक समितिले दूधको फ्याटमा लाइन मार्ने काम भइरहेको गोप्य सूचना पाएको थियो । सोही सूचनाका आधारमा सञ्चालक समितिको विशेष टोलीले बालाजुस्थित आयोजनामा छापा मारेको थियो । छापा मारेर डीडीसीको आन्तरिक प्रयोगशालामा बजारमा जाने तयारीमा रहेको दूधको नमूनाको समेत परीक्षण गरिएको थियो । 

    यसमा दूधमा तरको उपस्थिति २.८ प्रतिशत मात्रै भेटियो । बालाजु दुग्ध वितरण आयोजनाबाट दैनिक करिब १ लाख लिटर स्ट्यान्डर्ड दूध बिक्री हुँदै आएको छ ।

    छापापछि समितिले तरमा लाइन मारेर घोटाला भएको प्रारम्भिक निष्कर्ष पनि निकाल्यो । त्यसपछि समितिले सात दिनको समय दिएर व्यवस्थापन पक्षलाई तरमा लाइन मार्ने कर्मचारी र मिलेमतोका विषयमा सत्यतथ्य छानबिन गरी प्रतिवेदन उपलब्ध गराउन निर्देशन पनि दियो । 

    तर व्यवस्थापन पक्ष र सञ्चालक समितिको मिलेमतोमा सामसुम पारी यो घटना बाहिर लैजान नदिने चलखेल भयो । ‘तरमै लाइन मारेर करोडौं रुपैयाँ घोटाला भएको थाहा पाउँदा आश्चर्य लाग्यो । पहिले त हामी आफैंले बुझ्न समय लाग्यो’, सञ्चालक समितिका एक सदस्यले भने, ‘बुझिसकेपछि बालाजुस्थित दुग्ध वितरण आयोजनामा छापा मा¥यौं । हामीले पाएको सूचना सही सावित भयो ।’

    ddc 2.jpgडीडीसी भन्छ, ‘जानकारी छैन’

    डीडीसीका उपप्रवन्धक तथा छापा मारिएको तत्कालिन बालाजु आयोजनाका प्रमुख राजेन्द्र अधिकारीले तत्कालिन समयमा छापा मारिएको बिषयमा आफुलाई कुनै जानकारी नभएको दाबी गरेका छन् । 

    ‘तत्कालिन समयमा तरको बिषयमा छापा मारिएको बिषयमा मलाई कुनै जानकारी छैन्,’ अधिकारीले भने,‘म कार्यरत रहेको समयमा बालाजु आयोजनाबाट सरकारले तोकेको मापदण्डअनुसार नै दूध प्रशोधन भएर मापदण्डभित्र रहेर बजार गएको हो । गुणस्तरमा सम्झौता गरेर कमशल दूध बजारमा पठाउने काम मेरो कार्यकालमा भएको थिएन् ।’(यो बिषयमा थप विस्तृत आधिकारिक प्रतिवेदनसहितको समाचार आगामी अंकमा)

    यसरी गरिन्छ बदमासी

    डीडीसीको बालाजु आयोजनाले दैनिक करिब १ लाख लिटर स्ट्यान्डर्ड प्रशोधित दूध बिक्री गर्दै आएको छ । खाद्य विज्ञका अनुसार १ लाख लिटर दूधमा करिब ३ हजार किलो तरको मात्रा हुन्छ । अर्थात् १ लाख लिटरमा ३ हजार किलोबराबर घिउको परिमाण हुन्छ । यस्तो घिउ तरबाट बनाइन्छ ।

    १ लाख लिटरबाट एक लाइन मार्दा सय किलो निस्कन्छ । यो तरलाई कर्मचारीले घिउ बनाएर मिलोमतो गरी बाहिरी बजारमा बिक्री गर्छन् । तत्कालिन बजार मूल्यअनुसार प्रतिकिलो घिउको मूल्य नौ सय ५० रुपैयाँ पर्छ । यसरी सय किलो घिउको बजार मूल्य करिब एक लाख रुपैयाँ पर्न आउँछ । 

    यस्तो प्रक्रियामा कर्मचारीदेखि महाप्रबन्धकसम्मको मिलेमतो हुने गरेको र रकम दामासाहीमा उनीहरूको गोजीमा जाने गरेको बताइन्छ । तत्कालिन समयका सञ्चालक समितिका एक सदस्य भन्छन,‘तीन लाइनबराबर जोगिएको रकमबाट २५ प्रतिशत सहकारी वा संकलन केन्द्र र चिस्यान केन्द्रले रकम भागबन्डा गर्छन् । ७५ प्रतिशतमा डीडीसीको प्रयोगशाला, आयोजना प्रमुख र महाप्रबन्धकलाई भाग लगाइन्छ ।’

    छापा मारिएको दिन पनि बालाजुस्थित वितरण आयोजनाले तरको परिमाण २.८ भएको दूध नै बजारमा पठाएको थियो । यसरी हेर्दा एक लाख लिटरबाट दुई लाइन तर मारेर दुई सय किलो तर झिकियो । 

    दुई सय किलो तरलाई चोर बाटो प्रयोग गरी घिउमा परिवर्तन गरी सोझै बजारमा बिक्री हुने गरेको छ । दुई सय किलो घिउको बजार मूल्य तत्कालिन मूल्यअनुसार दुई लाख रुपैयाँ पर्न आउँछ । यसरी हेर्दा डीडीसीका कर्मचारी मिलोमतो गरी दुई लाइन मात्रै मार्दा दैनिक दुई लाख रुपैयाँ घोटाला गर्छन् । वार्षिक रूपमा हिसाब गर्ने हो भने यो ७ करोड ३० लाख रुपैयाँबराबरको घोटाला हुने गरेको पुष्टि हुन्छ ।

    घोटाला काठमाडौं दुग्ध वितरण आयोजनामा मात्रै हुने गरेको छैन । जनकपुर दुग्ध वितरण आयोजनाअन्तर्गतको ढल्केवरस्थित आयोजनामा पनि यस्तै प्रकृतिको घटना बाहिर आएको छ । हेटौंडास्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको क्षेत्रीय कार्यालयले वैशाख ६ र ७ गते अनुगमन गरेको थियो । वैशाख ६ गतेको अनुगमनमा फ्याटको उपस्थिति दूधमा डेढ प्रतिशत र ७ गते दुई प्रतिशत मात्रै भेटिएको थियो । 

    दूध संकलन गर्ने क्रममा फ्याटको मात्रा चारदेखि पाँच प्रतिशत भए पनि बद्नियतपूर्वक दूधबाट तर झिकेर घिउ बनाइने हुँदा उपभोक्ताको हातमा पुग्ने अन्तिम दूधमा फ्याटको मात्रै निकै कम हुने गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । 

    किसान तहमै पनि काटिन्छ तर

    किसानले ल्याउने दूधमा पनि ३ देखि ५ प्रतिशतको हाराहारीमा तरको मात्रा हुन्छ । तर किसानले ल्याउने दूधलाई तल्लो संकलन केन्द्र वा सहकारीले २.७ को मात्रै छ भनेर बेइमानी गरेर किसानलाई सोहीअनुसारको भुक्तानी दिने गरेको पनि भेटिएको छ । 

    संकलन केन्द्र वा सहकारीबाट त्यो दूध निजीक्षेत्रको उद्योग वा डीडीसीको संकलन केन्द्र (चिस्यान केन्द्र)ले लिन्छ । डीडीसीको चिस्यान केन्द्रका इन्चार्जले २.७ लाई कागजमा २.९ बनाएर दुई लाइन कायम गर्छन् । डीडीसीको आयोजनाले यस्ता सहकारी वा संकलन केन्द्रलाई तीन प्रतिशत तर भएको दूधको भुक्तानी पठाउँछ ।

    यसरी हेर्दा सहकारी वा संकलन केन्द्रले तीन प्रतिशत तरबाट दुई लाइन घटाएर किसानलाई भुक्तानी दिने गरेको पाइन्छ । यसरी दुई लाइनको तरबराबरको रकम जोगिन्छ । डीडीसीबाट सहकारी वा संकलन केन्द्रलाई तीन प्रतिशतको भुक्तानी जान्छ । यहाँबाट एक लाइन तरबराबरको रकम जोगिन्छ । अर्थात् तीन लाइनको रकम आयो । 

    यसरी तीन लाइनबराबर जोगिएको रकमबाट २५ प्रतिशत सहकारी वा संकलन केन्द्र र चिस्यान केन्द्रले रकम भागबन्डा गर्छन् । ७५ प्रतिशतमा डीडीसीको प्रयोगशाला, आयोजना प्रमुख र महाप्रबन्धकलाई भाग लगाइन्छ ।

    एक चिस्यान केन्द्रमा दैनिक करिब ६ हजार लिटर दूध संकलन हुन्छ । डीडीसीका देशभर करिब ६३ वटा चिस्यान केन्द्र छन् । यसरी एक हजार लिटरबाट तीन लाइन मार्दा तीन किलो र एक लाइन मार्दा एक किलो तरको घिउ तयार हुन्छ । भनेपछि ६ हजार लिटरबाट तीन लाइन मार्दा १८ किलो तरको घिउ बन्छ । यसको मूल्य १७ हजार रुपैयाँ पर्छ । यो रकम गोलमाल हुन्छ । यस प्रक्रियामार्फत मासिक रूपमै ३० लाख रुपैयाँ जाने गर्छ ।

    सहकारी, संकलन केन्द्र र चिस्यान केन्द्रले यसरी हिनामिना गर्न राम, सीता, श्यामलगायतको नामको नक्कली किसान खडा गर्ने गरेका छन् ।

    यो पनि पढ्नुस :

    जो हाकिमसाबद्वारा डीडीसीमा ‘बलिको बोका’ बनाइए…

    डीडीसीमा घोटाला गर्नेलाई ‘उपप्रबन्धक’ उपहार ! घर न घाटको बने कर्मचारी

    डीडीसीको अर्को कालो कर्तुत : कृषि मन्त्रालयदेखि खाद्य विभागसम्मै ‘सेटिङ’! 

    म्याद नाघेको मख्खन बेच्ने डीडीसीमाथि कारबाही कहिले ?


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend