logo

२०८१ बैशाख ४ मंगलबार

logo
  • मंगलबार, ४ बैशाख २०८१
  • ‘महासचिवभन्दा तल्लो पदमा उठ्ने कुरै भएन’

    ‘महासचिवभन्दा तल्लो पदमा उठ्ने कुरै भएन’

    6.9K
    Shares

    काठमाडैं । एमाले स्थायी कमिटी सदस्य तथा चितवन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद सुरेन्द्र पाण्डेलाई पार्टीको आसन्न महाधिवेशन व्यवस्थापनको चटारो छ । मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुन गइरहेको एमालेको दसौं महाधिवेशन मूल व्यवस्थापन समितिको सह–संयोजक रहेका पाण्डेसँग महाधिवेशनको तयारी, पार्टीभित्रको चुनावी प्रतिस्पर्धा र एमालले लिने भावी कार्यदिशाबारे पाण्डेसँग गरेको कुराकानीः

    एमालेको दसौं महाधिवेशन मूल व्यवस्थापन समितिको सह–संयोजक हुनुहुन्छ, तयारी कस्तो  छ ?

    –२३ जनाको मूल व्यवस्थापन समिति छ । १२ वटा उपसमितिहरू छन् । यी सबै संयन्त्रहरुले आ–आफ्नो ढंगले काम गरिरहेका छन् । एउटा प्रतिनिधि व्यवस्थापन समिति छ, जसले देशभरका प्रतिनिधिहरुको रेकर्ड राख्नेदेखि परिचयपत्रलगायतको काम गरिरहेको छ ।

    आंशिक रुपमा काठमाडौंमा कार्यालय हुने गरी हामी पूरै रुपमा चितवन सर्दै छौँ । यता र उता दुवै स्थानबाट काम हुन्छ । साथै, जनपरिचालनको काम पनि भइरहेको छ । हामीले पाँच लाख मानिसलाई नारायणी नदी किनारमा उपस्थित गराउने लक्ष्य लिएका छौँ । यसको तयारी पनि भइरहेको छ । चितवनभरि नै स्वागतद्वार बनाइने छ र चितवनका छिमेकी जिल्लाहरू नवलपुर, धादिङ, मकवानपुुरमा पनि द्वार बनाइने छ । द्वार निर्माणका लागि स्थानको छनोट गरी विभिन्न संघसंस्थालाई जिम्मेवारी दिने  काम सुरु भएको छ । 

    त्यस्तै, प्रचारप्रसारका सामग्री निर्माण गर्ने काम पनि सुरु भएको छ । नेपालमा नेकपा स्थापनाको ७२ वर्ष पुगेको सन्दर्भमा ७२ जना कलाकारले विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने विषयमा छलफल भएको छ । सबै जाति, भाषा र संस्कृतिको प्रतिनिधित्व हुने गरी कार्यक्रम हुनेछ । 

    खाद्य र आवासको व्यवस्था गरिसकेका छौँ । करिब दुई हजार कोठा, ३ हजार ५ सयदेखि चार हजार बेडहरू बुक भएका छन् । पाँच छाकको खाना हामीले व्यवस्था गछौँ । सौराहामा हुने हाम्रो बन्द सत्रमा जो जुन होटेलमा बस्ने व्यवस्था छ, त्यसै होटेलमा ब्रेकफास्ट र बेलुकीको खानाको प्रबन्ध गरिएको छ । 

    बिहानको खाना भने बन्दसत्रको हल भएको सेभेन स्टार होटल परिसरमा हुन्छ । मंसिर ११ गते बेलुकी चाहिँ अध्यक्षको तर्फबाट सबै प्रतिनिधिलाई निम्ता गरेर रात्रिभोजको व्यवस्था गर्ने कि भन्ने विषयमा पनि कुराकानी भइरहेको छ । त्यसो भएमा बन्दसत्रको हलमै वा प्रतिनिधि बसेकै होटलमा खानाको व्यवस्था गर्न सकिन्छ । अहिले सौरहामा हुने बन्द सत्रका लागि हल, डोम आदिको निर्माण काम पनि सुरु भएको छ ।

    मंसिर ११ गते बिहान ८ बजेदेखि कार्यक्रम सुरु हुुन्छ । एकदेखि डेढ घन्टा जति बन्दसत्रको आरम्भ कार्यक्रम रहेको छ । यसमा अध्यक्षको सम्बोधन र विभिन्न समिति तथा त्यसको अध्यक्ष मण्डल तोक्ने काम हुन्छ । अध्यक्ष मण्डल गठन भएपछि निर्वाचन प्र्रक्रिया अघि बढ्छ र नोमिनेसनको काम हुन्छ । सायद दुई बजेसम्म नोमिनेसनको काम सम्पन्न हुनेछ । त्यसपछि बेलुकी छ बजेसम्म नोमिनेसन फिर्ता लिने समय तोकिने छ ।

    यसपटक मेसिनबाट भोट गरिने भएकाले दिनभर भोटिङको विषयमा प्रतिनिधिहरूलाई तालिम पनि दिनेछौँ । साथसाथै विभिन्न सांस्कृतिक कार्यक्रम पनि निरन्तर चलिरहने छन् ।

    मंसिर १२ गते बिहान ८ बजेदेखि भोटिङको काम सुरु हुन्छ, यसमा आठदेखि दस घन्टा लाग्ने अनुमान गरेका छौँ ।

    उद्घाटन सत्रका लागि करिब पाँच हजार स्वयंसेवकको व्यवस्था गरेका छौँ भने भोटिङ हुने दिनका लागि तीन सय देखि पाँच सय हाराहारीमा स्वयंसेवक परिचालन हुनेछन्  । मंसिर १३ गते स्वयंसेवक र केही समितिका मान्छेहरुलाई बधाई तथा कदरपत्रसहित सानो कार्यक्रममार्फत् बिदाई गर्ने भन्ने योजना छ । 

    २०७७ फागुन २८ पछि पुनःस्थापित एमालेभित्रको परिवेश अहिले अलि फरक छ । नेपाल कम्युनिस्ट पार्टी रहँदा ताकाको माओवादी केन्द्रको एउटा समूह एमालेभित्रै छ, त्यसो त पार्टीभित्रकै विचार समूह पहिलेदेखि नै क्रियाशील छ। यसपटक पार्टीभित्र महाधिवेशनमा वैचारिक मन्थन निक्कै चर्किएला जस्तो देखिन्छ नि ?  

    एमालेले नवौं महाधिवेशनमा नै विधान महाधिवेशनमा विचार र विधिको टुंगो लगाउने तथा मूल महाधिवेशनमा चाहिँ नेतृत्व टुंगो लगाउने भनेर व्यवस्था गरिसकेको छ। यसमा कुनै फरक हुने छैन । हामीले व्यवस्था नै अर्कै गरिसक्यौँ । यसअघि भएको विधान महाधिवेशनमा हामीले विचार र  सैद्घान्तिक पक्षको टुंगो लगाइसकेका छौं, यसपालिको महाधिवेशनमा चाहिँ नेतृत्व मात्र टुंगो लगाउन बाँकी छ । 

    यसपालि तपाईंको उम्मेदवारी चाहिँ कुन पदमा रहने छ ?

    यो विषयमा अहिलेसम्म टुंगो लागेको छैन । अघिल्लो महाधिवेशनमा महासचिवमा उठेको थिएँ, थोरै मतले पराजित भइयो । को–को कुन–कुन पदका लागि उम्मेदवार हुने हुन्, त्यो पनि थाहा छैन । तथापि, हिजो उठेको पदभन्दा तल्लो पदमा उठ्ने कुरा भएन । हेरौँ के हुन्छ ।
    अघिल्लो महाधिवेशनमा प्यानल–प्यानलबीच प्रतिस्पर्धा भएको थियो, यसपालि के हुन्छ ।

    यसपालि हामीले प्यानलरहित महाधिवेशन बनाएका छौँ । यसपालि सहमतिका आधारमा या व्यक्तिगत रुपमा उमेदवारी हुनेछ ।

    भीम रावलले केपी ओलीविरुद्ध अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसक्नुभएको छ, यसलाई कसरी हेर्नुभएको छ ?

    यो प्रश्न उहाँ (भीम रावल) लाई नै सोध्नु उपयुक्त होला ।

    अब महाधिवेशनबाट आउने एमाले नेतृत्वले आगामी दिनमा पार्टीलाई नयाँ दिशामा लैजान के–कस्ता कदम चाल्नुपर्ला ?

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भयो, नेकपाको एउटा भाग टुुक्रिएर एमाले अलग भएको अवस्थामा हामीले अधिवेशन गर्दैछौँ ।  एमालेलाई कसरी सुदृढ र एकताबद्ध बनाउने तथा यही पार्टीलाई कम्युनिस्ट आन्दोलनको मूल प्रवाहका रुपमा कसरी बढाउने भन्ने कुरा अबको नीति, नेतृत्व र भूमिकामा निर्भर रहन्छ । यो सबैभन्दा ठूलो चुनौती पनि हो । 

    अर्को कुरा, एमलेकोे विरुद्धमा पाँचदलीय गठबन्धन रहेको छ र, सम्मुखमा चुनाव आइरहेको छ । त्यसैले यी दुवै परिस्थितिसँग मुकाबिला गर्नुपर्ने अवस्थामा हामी छौँ । यो दुई चुनौतीलाई परास्त गर्न पहिलो त हामी एकताबद्ध हुनुपर्ने छ । दोस्रो, हामीविरुद्ध भएको गठबन्धनलाई परास्त गर्नुछ । यस्तो अवस्थाबीच हुन गइरहेको यो महाधिवेशन निकै महत्वपूर्ण र निर्णायक रहेको छ । साथै यी कुरालाई मध्यनजर गरेर नै यसपटकको महाधिवेशनले दिशानिर्देश गर्नेछ । 
     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend