logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • फागुन महिनाको रेमिटेन्स आम्दानीले धर्मराएको नेपालको अर्थतन्त्रमा राहत

    फागुन महिनाको रेमिटेन्स आम्दानीले धर्मराएको नेपालको अर्थतन्त्रमा राहत

    3.2K
    Shares

    काठमाडौं । आयातको उच्च वृद्धि र विदेशी मुद्रा सञ्चितिमा कमीले अर्थतन्त्रमा समस्या देखिएका बेला फागुनको रेमिटेन्स आम्दानीले राहतको संकेत दिएको छ । वैदेशिक रोजगारमा गएका नेपालीहरूबाट फागुन महिनामा ९१ अर्ब रूपैयाँ बराबर विदेशी मुद्रा भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ। यसअघि माघको रेमिटेन्स ७१ अर्ब थियो । त्यसको तुलनामा फागुनको रेमिटेन्स प्रवाह २८ प्रतिशत बढेको छ । यो चालू आर्थिक वर्षकै सबभन्दा बढी हो ।

    राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको आठ महिनाको तथ्यांकमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सम्बन्धी विवरणअनुसार चालू वर्ष फागुनसम्मको रेमिटेन्स ६ खर्ब ३१ अर्ब १९ करोड रूपैयाँ पुगेको छ । माघसम्म यो ५ खर्ब ४० अर्ब १२ करोड थियो ।

    अमेरिकी डलरमा हिसाब गर्दा फागुनमा भित्रिएको रेमिटेन्स ७५ करोड डलर छ । यसअघि माघमा ६० करोड थियो । चालू वर्ष फागुनसम्म ५ अर्ब २८ करोड डलर रेमिटेन्स भित्रिएको राष्ट्र बैंकको विवरणमा उल्लेख छ । यो वर्षको सुरूदेखि नै रेमिटेन्स आम्दानी ७० देखि ८० अर्ब रूपैयाँको बीचमा रहँदै आएको थियो ।

    फागुनमा ९१ अर्ब भित्रिनु सकारात्मक संकेत हो । यसले आगामी दिनमा पनि निरन्तरता पाए विदेशी मुद्रा सञ्चितिमा सकारात्मक प्रभाव पर्नेछ । कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय स्तरमै आर्थिक गतिविधि ठप्प भएपछि चालू वर्षको सुरूदेखि रेमिटेन्स आम्दानी प्रभावित छ ।

    विदेशी मुद्रा सञ्चिति लगायत देशको समग्र अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्दै आएको रेमिटेन्स घट्नुले आर्थिक समस्या उत्पन्न हुनसक्नेमा चिन्ता व्यक्त गरिँदै आएको छ । यही बेला रेमिटेन्स प्रवाहमा सुधार देखिनु राहतको विषय हो । राष्ट्र बैंकको तथ्यांकअनुसार चालू वर्ष साउनमा करिब ७६ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको थियो । यो अघिल्लो आर्थिक वर्षको अन्तिम महिना (असार) को तुलनामा १८ प्रतिशत कम हो ।

    त्यसलगत्तै भदौमा रेमिटेन्स आय ८० अर्ब र असोजमा अलिकति बढेर ८४ अर्ब पुग्यो । असोजपछि भने अहिलेसम्म ८० अर्ब नाघ्न सकेको थिएन । कात्तिकदेखि माघसम्म ७० देखि ८० अर्बको बीचमा तलमाथि भइरहेको थियो । कात्तिकमा ७३ अर्ब भित्रिएकोमा मंसिरमा अलिकति बढेर ७६ अर्ब पुग्यो । त्यसपछि पुसमा फेरि अलिकति बढेर ७९ अर्ब पुग्यो ।

    माघमा भने ह्वात्तै घटेर जम्मा ७१ अर्ब भित्रिएको थियो । यो चालू वर्षकै सबभन्दा कम हो । रेमिटेन्समा आएको उतारचढाव वैदेशिक रोजगारमा जानेहरूले लिने श्रम स्वीकृतिको तथ्यांकमा पनि देखिन्छ । आर्थिक वर्षका सुरू महिनामा नयाँ श्रम स्वीकृति लिने वा पुरानो स्वीकृति नवीकरण गर्नेहरूको संख्या घटेको थियो । केही महिनायता भने श्रम स्वीकृति र नवीकरण दुवै संख्या बढेको देखिन्छ ।

    साउनमा जम्मा १३ हजार ८ सय जनाले श्रम स्वीकृति लिएका थिए भने पुनः स्वीकृति लिनेको संख्या ११ हजार ६ सय २८ थियो । फागुनसम्म आइपुग्दा यसमा उल्लेख्य सुधार भएको छ । फागुनमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या २ लाख २७ हजार ९ सय पुगेको छ । अघिल्लो वर्ष यही अवधिमा यस्तो संख्या ८२.९ प्रतिशत घटेको थियो ।

    त्यस्तै, पुनः श्रम स्वीकृति लिनेहरूको संख्या पनि फागुनमा २४०.९ प्रतिशत वृद्धि भई १ लाख ७८ हजार २ सय ६२ पुगेको छ । अघिल्लो वर्ष यही अवधिमा यस्तो संख्या ७०.२ प्रतिशत घटेको थियो । औद्योगिकीकरणको गति सुस्त रहेको र निर्यातयोग्य वस्तुहरू खासै धेरै नभएको नेपालका लागि विदेशी मुद्रा आर्जनको एउटा मुख्य स्रोत रेमिटेन्स नै हो ।

    पर्यटन क्षेत्र पनि विदेशी मुद्राको प्रमुख स्रोत रहँदै आएको छ । तर कोरोना महामारीपछि पर्यटन क्षेत्र नराम्ररी प्रभावित छ । झन्डै दुई वर्ष पर्यटक आगमन नगन्य हुँदा धेरै होटल, रेस्टुरेन्ट तथा क्याफेहरू बैंकको व्याज तिर्न नसकेर बन्द भएका छन् । पछिल्लो समय पर्यटक आगमन फेरि बढ्न थालेको छ । लकडाउन बेला बन्द गरिएका होटलहरू खुल्ने क्रममा छन् । तर यो क्षेत्रले पुरानै गति पक्रेर विदेशी मुद्रा आर्जनमा योगदान गर्न अझै केही समय लाग्छ ।

    वैदेशिक व्यापार
    वैदेशिक व्यापारतर्फ आर्थिक वर्ष २०७८÷७९ को आठ महिनामा कुल निर्यात ८२.९ प्रतिशत वृद्धि भई १ खर्ब ४७ अर्ब ७५ करोड रूपैयाँ पुगेको छ । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फको निर्यात क्रमशः १०४.२ प्रतिशत र २९.१ प्रतिशत वृद्धि भएको छ भने चीनतर्फको निर्यात ११ प्रतिशत घटेको छ ।

    वस्तुगत आधारमा पाम तेल, सोयाबिन तेल, पिना, धागो (पोलिस्टर तथा अन्य), ऊनी गलैंचा लगायत वस्तुको निर्यात बढेको छ भने अलैंची, चिया, जडिबुटी, तार, तामाको तार लगायत वस्तुको निर्यात घटेको छ । आयातको कुरा गर्दा चालू वर्ष फागुनमा ३८.६ प्रतिशत वृद्धि भई १३ खर्ब ८ अर्ब ७३ करोड रूपैयाँ पुगेको छ ।

    वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट हुने आयात २८.१ प्रतिशत, चीनबाट ३६.७ र अन्य मुलुकबाट ७५.४ प्रतिशत वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधि, कच्चा पाम तेल, कच्चा सोयाबिन तेल, सुन लगायत वस्तुको आयात बढेको छ भने एमएस बिलेट, सिमेन्ट, रासायनिक मल, दाल, मोलासिस सुगर लगायतका वस्तुको आयात घटेको छ ।

    निर्यातको तुलनामा आयात उच्च रहेकाले फागुनको कुल वस्तु व्यापार घाटा ३४.५ प्रतिशत वृद्धि भई ११ खर्ब ६० अर्ब ९९ करोड पुगेको छ । अघिल्लो वर्ष यही अवधिमा यस्तो घाटा १.६ प्रतिशत बढेको थियो । व्यापार घाटा बढाउनमा पेट्रोलियमको उच्च मूल्यवृद्धिले मुख्य भूमिका खेलेको देखिन्छ । रूसले युक्रेनमाथि सैन्य हमला गरेपछि अन्तर्राष्ट्रिय बजारमै कच्चा तेलको मूल्य बढेको छ । नेपालले भारतबाट किन्ने इन्धनको दाम पनि बढेको छ । आयल निगमलाई अहिले महिनाकै १४ अर्ब रूपैयाँभन्दा बढीको तेल घाटा छ ।

    नेपालले आफूलाई चाहिने शतप्रतिशत तेल भारतबाट किन्ने हुँदा पेट्रोलियमको मूल्य जति बढ्यो, भारतसँगको व्यापार घाटा उति बढ्छ । उच्च व्यापार घाटाले विदेशी मुद्रा सञ्चितिमा चाप परेर अर्थतन्त्रमा समस्या देखिन थालेपछि राष्ट्र बैंकले सवारी साधन, सुनचाँदी लगायत विलासिताका वस्तु आयात नियन्त्रण गरेको छ ।

    विदेशी मुद्रा सञ्चिति
    उच्च आयात वृद्धिले लगातार घटेको विदेशी मुद्रा सञ्चितिमा फागुन महिनामा पनि खासै सुधार देखिएको छैन ।
    राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड रूपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति फागुन मसान्तसम्म आइपुग्दा ११ खर्ब ७१ अर्ब कायम भएको छ। यो १६.३ प्रतिशतको गिरावट हो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड डलर रहेकोमा फागुन मसान्तसम्म आइपुग्दा १८.५ प्रतिशत घटेर ९ अर्ब ५८ करोड कायम भएको छ ।

    कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रहेकोमा फागुन मसान्तसम्म आइपुग्दा १८.२ प्रतिशत घटेर १० खर्ब १८ अर्ब ५ करोड कायम भएको छ । राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा १ खर्ब ५४ अर्ब ३९ करोड रहेकोमा फागुन मसान्तसम्म आइपुग्दा ०.९ प्रतिशत कम भई १ खर्ब ५२ अर्ब ९५ करोड कायम भएको छ ।

    २०७८ फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७८÷७९ को आठ महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.४ महिनाको वस्तु आयात र ६.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने देखिन्छ ।

    मूल्य वृद्धिदर
    राष्ट्र बैंकले जारी गरेको आर्थिक विवरण अनुसार फागुन महिनामा बजार मूल्य बढेको देखिन्छ । यो महिना वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.१४ प्रतिशत छ । अघिल्लो वर्ष यही महिना यस्तो मुद्रास्फीति ३.०३ प्रतिशत थियो । यो अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.५१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.८४ प्रतिशत छ ।

    २०७७ फागुनको तुलनामा २०७८ फागुनमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल, तरकारी, दूधजन्य उत्पादन तथा अन्डा र दाल तथा गेडागुडी उपसमूहको मूल्य बढेको छ । त्यस्तै, फागुनको थोक मुद्रास्फीति १३.१३ प्रतिशत छ । अघिल्लो वर्ष यही महिना यस्तो मुद्रास्फीति ६.३० प्रतिशत थियो ।

    खर्च तथा राजस्व
    आर्थिक वर्ष २०७८÷७९ को फागुन मसान्तसम्म संघीय सरकारको कुल ६ खर्ब ७५ अर्ब ३० करोड रूपैयाँ खर्च भएको छ । यस अवधिमा चालू खर्च ५ खर्ब ३८ अर्ब ४४ करोड छ भने पुँजीगत खर्च ७७ अर्ब १५ करोड र वित्तीय व्यवस्था अन्तर्गतको खर्च ५९ अर्ब ७१ करोड छ ।

    समीक्षा अवधिमा संघीय सरकारको कुल राजस्व ६ खर्ब ८४ अर्ब ७० करोड (प्रदेश सरकार तथा स्थानीय तहमा बाँडफाँट हुने रकमसमेत) परिचालन भएको छ । यसमध्ये कर राजस्वतर्फ ६ खर्ब २७ अर्ब ९० करोड र गैरकर राजस्वतर्फ ५६ अर्ब ८० करोड परिचालन भएको छ ।

    समीक्षा अवधिमा संघीय सरकारले ट्रेजरी बिलमार्फत ३५ अर्ब र विकास ऋणपत्रमार्फत ५४ अर्ब ५० करोड परिचालन गरी ८९ अर्ब ५० करोड आन्तरिक ऋण परिचालन गरेको छ । २०७८ फागुन मसान्तमा राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा ३ खर्ब ३५ अर्ब ३३ करोड (प्रदेश सरकार तथा स्थानीय तहको खातामा रहेको रकमसमेत) नगद मौज्दात छ। २०७८ असार मसान्तमा यस्तो मौज्दात २ खर्ब १८ करोड थियो ।

    कर्जा प्रवाह
    पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूसँग ऋण लगानी गर्न पैसा नहुनुको असर कर्जा प्रवाहमा देखिएको छ ।
    राष्ट्र बैंकको तथ्यांकअनुसार फागुनमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर १२.८ प्रतिशत छ । अघिल्लो वर्ष यही अवधिमा यस्तो कर्जा १७.४ प्रतिशत बढेको थियो ।

    चालू वर्ष आठ महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा १६.१ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ९.८, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ९.२, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १४.७ र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ७.४ प्रतिशत बढेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend