काठमाडौं । सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिका प्रमुखको उम्मेदवार सिर्जना सिंहले महानगरपालिकालाई भ्रष्टाचारमुक्त बनाउन आफ्नो ध्यान केन्द्रीत हुने बताएकी छन् । बिहीवार आफ्नो संकल्पपत्र सार्वजनिक गर्दै सिंहले काठमाडौं महानगरपालिकाको प्रमुख भएमा आफ्नो पहिलो ध्यान महानगरपालिकामा सुशासन कायम गर्दै भ्रष्टाचारमुक्त बनाउनु रहेका बताएकी हुन् ।
महानगरपालिकाभित्रै भ्रष्टाचार भए आफुले अन्य ठाउँमा सुशासन कायम गर्न नसक्ने भन्दै उनले महानगरपालिकालाई भ्रष्टाचारमुक्त बनाउने प्रतिवद्धता व्यक्त गरे । उनले महानगरको सेवा, सुविधालाई चुस्त, दुरुस्त बनाउने पनि बताईन् ।
उम्मेदवार सिंहले आफ्नो सात ‘स’ को संकल्पपत्र सार्वजनिक गरेकी छन् । संकल्प पत्र सार्वजनिक गर्दै उनले महानगरलाई विधिको शासन, नियम, कानून भित्र रहि चलाउने बताईन् । भ्रष्टाचारमुक्त, चुस्त सेवाप्रवाह गर्ने उत्कृष्ट पालिकाको रुपमा काठमाडौं महानगरलाई स्थापित गर्ने उनको प्रतिवद्धता छ । त्यसैगरी सबै वडाहरुमा रोकथाम, परिक्षण, उपचार र पुर्नस्थापनासहितको शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको स्थापना र विशेषज्ञ सेवासहितको महानगरीय अस्पतालको सञ्चालन गर्ने उनले उल्लेख गरिन् ।
जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अति विपन्न लगायत विशेष समुहलाई सम्बोधन गर्न सामाजिक सुरक्षाका विशेष कार्यक्रम ल्याउने उनको भनाई छ । सिंहले काठमाडौं महानगरलाई ‘जिरो वेस्ट’ नगरपालिका बनाउने घोषणा गरिन् । पिउन योग्य पानी, स्वास फेर्न योग्य हावाका लागि आवश्यक कानूनी, संस्थागत र संरचनागत व्यवस्था गर्ने उनले बताईन् । सार्वजनिक खुल्ला स्थान, पार्क, वन, हिटी, इनार, पोखरी, फल्चा आदीको संरक्षण, पुर्नस्थापना तथा विस्तार गरिने उनको भनाई छ । त्यस्तै गरी महिला, बालबालिका, जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति लगायत सम्पूर्णले सुरक्षित अनुभव गर्नसक्ने र हिडडुल गर्न सक्ने शहरको निर्माण गर्ने उनको संकल्प छ ।