काठमाडौं । काठमाडौं महानगरमा नेपाली कांग्रेसको तर्फबाट मेयर पदको प्रत्यासी सिर्जना सिंहले काठमाडौं महानगरवासीलाई ठूला सपना देखाउने भन्दा पनि सफा र व्यवस्थित काठमाडौं बनाउन प्रमुख भूमिका खेल्ने बताईन् । शंकरदेव क्याम्पसका पूर्वविद्यार्थी संघले आयोजना गरेको कार्यक्रममा बोल्दै सिंहले काठमाडौंका सडकमा गरिबले पानी खान र शौचालयसमेत जान नपाएको उल्लेख गरिन् ।
सिंहले भनिन्, ‘काठमाडौं बनाउने जिम्मा हाम्रो काँधमा आएको छ, सोही कारण मलाई काठमाडौंको मेयरको रुपमा पार्टी र गठबन्धनले अगाडि सारेको छ ।’
उनले आफ्नो राजनीतिको घर शंकरदेव भएको समेत बताइन् ।
‘मैले विरासतबाट होइन, म शंकरदेवबाट राजनीतिमा उठेको छु । २०३३ सालमा गोर्खाबाट कांग्रेसको सदस्यता लिएको हुँ । जनतालाई रैतीबाट जनता बनाउने अभियानको नेतृत्व गरेको परिवारबाट आएको हुँ’ उनले भनिन् ।
मंगलादेवी सिंहको परिवारबाट आएको महिला सदस्य भएकोले महिला र उत्पीडितको हितका लागि आफू मेयर बन्ने अभियानमा होमिएको बताइन् ।