काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको अर्थतन्त्रमा संरचनागत समस्या रहेको बताएका छन् । मंगलबार काठमाडांैमा भएको नेपालको वर्तमान आर्थिक अवस्था विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् ।
उनले नेपालको आर्थिक वृद्धिदरमा आयात बढी भएकाले लगातार रुपमा ६,७ र ८ प्रतिशतले आर्थिक वृद्धिदर हुँदा समेत व्यापार घाटा हुने समस्या वर्षैसम्म भइरहने बताए । डा. खतिवडाले अब उद्योग क्षेत्रको विकास गरेर निर्यात हुने बस्तु निर्यात गर्ने गरी लगानी गर्नु पर्ने अनि मात्रै व्यापार घाटा कम गर्न सकिने बताए । उनले पछिल्लो समय धेरै लगानी जलविद्युतमा भएको बताए । जलविद्युतमा धेरै ठूलो लगानी विस्तार गरेर बुढीगण्डकी जस्ता चार वटा आयोजनाहरु एकै चोटी निर्माण गरेर वर्र्षको डेढ खर्बदेखि २ खर्ब ऋण रिपेमेन्ट गर्न थाल्यौ भने नेपाल श्रीलंकाको बाटोमा जाने डा. खतिवडाले बताए ।
उनले अब निर्यातमुलक उत्पादन उद्योगमा लगानी लगाउनु पर्ने आवश्यकता रहेको बताए । पछिल्लो समय मुलुकको अर्थतन्त्रमा समस्या देखा पर्नु तीन वटा निकायबीच समन्वयको अभाव भएको आरोप खतिवडाले लगाए । उनले अर्थ, वाणिज्य मन्त्रालय एकापटि र राष्ट्र बैंक अर्को बाटोमा हिँडेकाले संकट आएको जिकिर गरे । मुलुकलाई आत्मनिर्भर बनाउनको लागि सरकारले चामल नभएर राइस भनेर आयात हुने कनिका नै रोक्नु पर्ने उनको भनाई छ ।