काठमाडौं । मलेसियामा आयोजना हुने एसिसि महिला टी–२० च्याम्पियनसिपमा सहभागि हुने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई मंगलवार बिदाई गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलवार एक कार्यक्रमको आयोजना गरेर एसिसि महिला टी–२० च्याम्पियनसिपमा सहभागि हुन बुधवार मलेसिया प्रस्थान गर्न लागेको टोलीलाई बिदाई गरेको हो । टोलीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ र क्यानका पदाधिकारीले बिदाई गरेका हुन् ।
बिदाईपछि बोल्दै नेपाली टोलीकी कप्तान रुबिना क्षेत्रीले एशिया कपमा छनोट भएर फर्किने बताईन् । अन्तर्राष्ट्रिय सहभागितामा खासै उपलब्धि हात पार्न नसकेको भन्दै कप्तान रुबिनाले महिला टोलीले यो संस्करणमा इतिहास रचेर स्वदेश फर्किनेबताइन् ।
उनले भनिन्, ‘हामीले धेरै वर्षदेखि खेलिरहेका छौं, दबाब छैन । तर, हामीले पनि नतिजा दिन नसकिरहेकाले यसपाली त्यसका लागि प्रयास गर्नेछौं । विदेश यात्रा गर्दा हामीले हार्ने सोचेर जाँदै छैनौं । हामी च्याम्पियन बनेर फर्किने लक्ष्य लिएर बाहिर जाँदैछौं ।’
एशिया कप छनोट हुने लक्ष्यका साथ नेपाली टोलीले कीर्तिपुर स्थित त्रिभूवन अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा महिना दिन यता अभ्यास गरेको थियो । युगाण्डासँगको श्रृंखलापछि भएका कमी कमजोरीलाई सुधार गर्दै नेपाली टोलीले अभ्यासलाई निरन्तरता दिएको थियो । च्याम्पियनसिप मलेसियामा जुन १७ गतेदेखि २५ जुनसम्म हुँदैछ । प्रतियोगिताको फाइनल पुग्ने दुई टिम एशिया कपका लागि छनोट हुनेछन् । सोही लक्ष्य लिएर नेपाली टोली प्रस्थान गर्न लागेको हो । नेपालले प्रतिष्पर्धा गर्ने समूहमा आयोजक मलेसियासहित, हङकङ, भुटान, बहराईन र कुवेत रहेका छन् । कार्यक्रममा मुख्य प्रशिक्षक जगत टमाटाले टोलीको लक्ष्य भनेको च्याम्पियन भएर स्वदेश फर्किने रहेको र सोही अनुसार नेपाल मौसम प्रतिकुल भएपनि तयारी गरेको बताए ।
उनले भने, ‘हामी सबैको एउटै गोल च्याम्पिन भएर आउने हो । र हाम्रो अभ्यास र मिहिनेतले हामी च्याम्पियन हुन्छौं भन्ने विश्वास छ । कति मिहिनेत गरेको छ भन्ने खेलाडीहरूलाई थाहा छ, अब नतिजा उनीहरुले खेल्नेमा भर पर्छ । अभ्यासको प्रगति हेर्दा नतिजा हाम्रो पक्षमा आउने र नेपाल च्याम्पियन हुने आशा गरेको छु । वर्षा याम भएकाले तयारी सहज थिएन, हामीले मिहिनेत गरेका छौं । अत्याधिक मिहिनेत गरेकाले अगाडि नतिजा राम्रो आउँछ भन्ने विश्वास छ ।’
बिदाई कार्यक्रमपछि बोल्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले नेपालले राम्रो खेल पस्किनेमा विश्वस्त रहेको बताए । खेलाडी र प्रशिक्षकलाई शुभकामनासमेत दिए । नेपाली टिमले जुन १७ मा भुटान, १८ जुनमा कुवेत, २० जुनमा बहराइन र २० मा हङकङसँग खेल्ने तालिका रहेको छ ।