काठमाडौं । नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता नेपाली सेनाको क्षमतावृद्धिका लागि भएको बताएका छन् । मंगलबार नयाँबानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ सांसद विश्वकर्माले एसपीपी सम्झौता नेपाली सेनाको सशक्तिकरण, आधुनिकिकरण र सैन्य क्षमता वृद्धिका लागि भएको बताए ।
उनले नेपाली सेनाले संयुक्त राष्ट्रसंघमा शान्ति सेनाको रुपमा खेलेको भुमिकालाई थप मजबुद बनाउनका लागि सो सम्झौताले सहयोग गर्ने बुझाइमा नेपाल सरकार रहेको बताए ।
उनले भने– ‘नेपाली सेनाको सशक्तिकरणका लागि, नेपाली सेनाको आधुनिकिकरणका लागि र नेपाली सेनाको सैन्य क्षमता वृद्धिको लागि र संयुक्त राष्ट्रसंघमा नेपाली सेनाले खेलेको महत्वपूर्ण शान्ति सेनाको भुमिकालाई थप क्रियाशील र मजबुद बनाउनका लागि हो भन्ने बुझाइमा नेपाल सरकारले काम गरिराखेको छ । अमेरिकी सेना र सेनाका प्रतिनिधिहरु पनि विगतमा पनि आउनुहुन्थ्यो अहिले पनि त्यसै सिमाभित्र रहेर आउनुभएको भन्ने म बुझ्दछु ।’