काठमाडौं । नेपाली काँग्रेसका सांसद भीमसेनदास प्रधानले आफू रक्षामन्त्री हुँदा अमेरिकाले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को प्रश्ताव नगरेको बताएका छन् । बिहीवार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै पूर्व रक्षामन्त्रीसमेत रहेका सांसद प्रधानले सन् २०१७ मा आफू रक्षामन्त्री रहेको र आफ्नो कार्यकालमा अमेरिकाले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को प्रश्ताव नगरेको स्पष्ट पारे ।
उनले सन् २०१९ मा एमाले नेतृत्वको सरकारमा रक्षामन्त्री ईश्वर पोखरेल हुँदाखेरी सो विषयको छलफल अगाडी बढेको दाबी गरे । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाँणमार्फत एसपीपी सम्झौता नगर्ने प्रतिवद्धता गर्नु सकारात्मक भएको बताए । उनले भने– ‘म रक्षामन्त्री हुँदाखेरी शेरबहादुर देउवाजी प्रधानमन्त्री हुनुहुन्थ्यो २०१७ को कुरा हो । त्यो कुनै किसिमको प्रश्ताव नेपाल सरकारमा आएको पनि, छलफल भएको पनि छैन । मलाई जानकारी आए अनुसार पछि यो जब छलफलमा आइसकेपछि यो २०१९ मा रक्षा मन्त्री ईश्वर पोखरेल हुँदाखेरी त्यो बेला अमेरिकाका राजदुत अर्जुन कार्की हुनुहुन्थ्यो । त्यहाँ मार्फत पनि यो विषयमा केही छलफल अगाडी बढेको भन्नेकुरा छ । गृहमन्त्रीले प्रधानमन्त्रीको कमिटमेन्ट हामी यसमा सम्झौता गर्दैनौँ भन्ने कुरा सकारात्मक हो । प्रधानमन्त्री नै संसदमा आएर यसको सत्यतथ्य राखिदिनु भयो भने सबैको लागि विश्वासको पात्र सरकार बन्नसक्छ । हामीले आफ्नो नजिकको छिमेकीलाई आत्मविश्वास नलिइकन कुनैपनि तेस्रो व्यक्तिसँग सम्झौता गर्दा एकदम हेक्का राख्नुपर्छ । हामीले भारत र चीनलाई कुनै हालतमा पनि आत्मविश्वास नलिइकन अर्को काम गर्नु हुँदैन । त्यसले नेपाललाई युक्रेन बन्न पनि पछि बेर लाग्दैन । छिमेकीसँग द्वन्द्व हुँदाखेरी ।’
सांसद प्रधानले छिमेकी देशहरु भारत र चीनलाई विश्वासमा नलिइकन कुनै तेस्रो देशसँग यस प्रकारको सम्झौता गर्नु नहुने बताए ।