काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद भैरवसुन्दर श्रेष्ठले अर्थमन्त्री जनार्दन शर्मा कारगारमा बस्न लायक रहेको टिप्पणी गरेका छन् । बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई सहभागी गराएर जघन्य अपराध गरेका अर्थमन्त्री शर्मा अरु देशमा भए कारगारमा बस्न लायक हुने उनको भनाई थियो ।
आईतबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद श्रेष्ठले तर यहाँ त सो घटनाबारे सत्यतथ्य बाहिर ल्याउन संसदीय समिति गठन गर्न आफ्नो पार्टीले गरेको मागलाई समेत सरकारले बेवास्ता गरेको भन्दै आपत्ति जनाए । बरु उल्टै सरकारले मन्त्री शर्माले अनाधिकृत व्यक्तिलाई सहभागी गराएर ल्याएको बजेट हतारमा संसदबाट पारित गराएको गुनासो गरे । सांसद श्रेष्ठले बजेटमा करको दर तय गर्ने काममा अर्थमन्त्री शर्माले अनाधिकृत व्यक्तिलाई सहभागी गराएर देशकै लागि जघन्य अपराध गरेको आरोप लगाए ।
उनले भने, ‘आज अर्थमन्त्रीले यतिठूलो जघन्य अपराध गर्नुभएको छ । प्रतिनिधिसभामा कुरा उठेको छ । राष्ट्रियसभामा कुरा उठेको छ । त्यसको सत्यतथ्य छानवीनका लागि हामीले संसदीय समिति बनाइयोस् भनेर आवाज उठाएका छौं । सरकार मौन छ । हतारमा त्यो बजेट पास गर्न सरकार लाग्छ । तर, उठेका विषयमा नजवाफ दिन्छ, न संसदीय छानवीन समिति बनाउन उसले आँट गर्छ । वास्तवमा अरु जस्तो मुलुक हुन्थ्यो भने आज हाम्रो देशको अर्थमन्त्री मन्त्री पदका के, कारागारमा बस्नुपर्ने अवस्था हुन्थ्यो । देशप्रतिको जघन्य अपरोध हो त्यो । अनाधिकृत व्यक्तिलाई बजेट निर्माण जस्तो कुरोमा, त्यो राजस्वको बाँडफाँड कसरी गरिन्छ ? त्यसका दरहरु कसरी निर्धारण गरिन्छ हामी सबैले जानेबुझेकै कुरा हो । त्यस्तो ठाउँमा अनाधिकृत व्यक्तिलाई लिएर आएर काम गराईन्छ । त्यसको छानवीन समितिमार्फत छानवीन गरांै भन्दा सरकार डराउँछ । र, सरकार अर्थमन्त्रीलाई कारबाही गर्न उद्यत हुँदैन । सांस्कृतिक मन्त्रीले जे बोलेपनि हुन्छ यो देशमा । कारबाही हँुँदैन । लुम्विनी प्रदेशकी राज्यमन्त्री उदण्डता मचाएकी छिन । सरकार मौन छ ।’
सांसद श्रेष्ठले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेलाई पनि जथाभावी बोल्दै हिँडने छुट दिएको भन्दैसरकारको कडा आलोचना गरे ।