काठमाडौं । काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप प्रविधिमैत्री बनाउन झम्सिखेल, सरस्वती मन्दिर चोकमा नयाँ ट्राफिक लाईट जडान गरी आजबाट सञ्चालनमा आएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले ललितपुर महानगरपालिका वडा नं. ३ कार्यालय र तन्त्र भेन्चर्स प्रा.लि.सँग समन्वय र सहकार्य गरी उक्त नयाँ ट्राफिक लाईट जडान गरि संचालनमा ल्याएको हो ।
ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी उमेश राज जोशीले उक्त नयाँ ट्राफिक लाईटको स्वीच अन गरी उद्घाटन गरे । एसएसपी जोशीले प्रविधिको विकासले फड्को मार्दै ट्राफिक प्रहरीको सेवामा पनि यात्रुमैत्री प्रविधिको विकास र प्रयोगलाई विस्तार गर्दै आएको बताए ।
‘उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज, व्यवस्थित एवं चुस्त बनाउन तथा प्रविधिको प्रयोग गरी थोरै जनशक्तिबाट धेरै काम लिन विभिन्न प्रविधिमैत्री अभियान थालिएको छ ।’ जोशीले भने
‘प्रविधि मार्फत सडक व्यवस्थापन गर्दा आम सडक प्रयोगकर्ताहरुको आवागमन सहज हुनुका साथै सडक अनुशासन र सडक सभ्यता झल्किने हुनाले यसलाई प्रमुख प्राथमिकता दिएको छ ।’
यस्तै ललितपुर महानगरपालिका वडा नं. ३ का वडाअध्यक्ष श्रीगोपाल महर्जनले सडकलाई यात्रुमैत्री बनाउन ट्राफिक प्रहरीले आधुनिक प्रविधिको प्रयोग र सवारी व्यवस्थापनमा सक्रियता बढाएको मा प्रशंसा गर्दै आगामी दिनमा समेत ट्राफिक प्रहरीसँग अझै सहकार्य गर्दै जाने बताए ।
हाल उपत्यकाको मुख्य ४० चोकहरुमा ट्राफिक लाईटबाट सवारी व्यवस्थापन हुदैँ आएको छ भने १३ स्थानमा परिक्षण गरी सञ्चालनको प्रकियामा रहेको र ७ स्थानमा जडान कार्य भईरहेको छ ।
ट्राफिक लाईट सञ्चालनमा आएका चोकहरुमा ट्राफिक लाईटको पूर्ण पालना गरि ट्राफिक व्यवस्थापनमा सहयोग गरिदिनु समेत ट्राफिक कार्यालयले अनुरोध गरेको छ ।