logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • साथी सम्झेर जसको घरमा बसे उनैद्धारा मारिए

    साथी सम्झेर जसको घरमा बसे उनैद्धारा मारिए

    4.7K
    Shares

    काठमाडौं । झापामा आफ्नो घरमा पाहुना आएका एक व्यक्तिको हत्या गरेको आरोपमा तीनजना पक्राउ परेका छन् । भारतीय नागरिक ४० वर्षीय जपडीया नरेशकुमार बाबु भाइको हत्या आरोपमा उनीहरू पक्राउ परेका हुन् ।

    यही असार १२ गते साँझ झापाको अर्जुनधारा नगरपालिका–४ स्थित जुकेखाडी–साहसी टोलको भित्री कच्ची सडकखण्डको ह्युम पाइपभित्र नरेशकुमारको शव फेलापरेको थियो ।

    पक्राउ पर्नेमा अर्जुनधारा– ७ की ३२ वर्षीया जानुका सुवेदी थापा, सोही ठाउँ बस्ने ४९ वर्षीय विनय भनिने बृखबहादुर थापा र सुनसरीको बराहक्षेत्र नगरपालिका–१० का २५ वर्षीय सुरेश परियार छन् ।

    कसरी भयो हत्या ?
    प्रहरीका अनुसार ०७६ मंसिरमा जानुका कामको सिलसिलामा नेपालबाट भारतको दिल्ली गएकी थिइन् । उनी त्यहाँ दुई महिना बसेपछि गुजरातमा गएर डेढ महिना बसिन् । त्यही क्रममा जानुकाको जपडीयासँग भेटघाट र चिनजान भयो ।

    उनै भारतीयले जानुकालाई ०७६ साल फागुन अन्तिम साता भारतको पानीट्यांकीसम्म ल्याएर छाडेका थिए । ०७६ साल चैतमा जपडीयाले जानुकाका छोराछोरीहरूका लागि खेलौना तथा लत्ताकपडा समेत भारतबाट नेपाल पठाएका थिए ।

    जानुकासँगको चिनजानपछि उनी पटक–पटक मोरङको विराटनगर आउने–जाने गरेको खुलेको छ । सोही क्रममा जपडीयाले जानुकालाई घर निर्माणका लागि पाँच लाख रुपैयाँ समेत दिएको पाइएको छ ।

    ०७९ साल वैशाख ४ गते इलाका प्रहरी कार्यालय रानीले अवैध भारतीय ५९ हजार रुपैयाँसहित ती भारतीयलाई पक्राउ गरेको थियो । उनी धरौटीमा छुटेका थिए । तारेख बुझाइरहेका थिए ।

    प्रहरीका अनुसार गएको जेठमा मृतक तारेखका लागि भारतबाट अर्जुनधारा– ७ स्थित जानुकाको घरमा आएका थिए । उनी त्यहाँ तीन दिन बसेर फर्किएका थिए । तर, त्यहाँ बस्दा जानुकाको श्रीमानको अगाडि जपडीयाले दुर्व्यवहार गरेपछि श्रीमान्–श्रीमती दुवैले उनको हत्या योजना बनाएका थिए ।

    जपडीया फेरि भारतबाट असार ७ गते तारेखकै लागि जानुकाको घर आए । सो राति जानुकाकै घरमा बसेपछि उनी तारेखका लागि सुनसरीको इटहरी गई सोही दिन दिउँसो साढे २ बजे घरमा फर्किएका थिए ।

    जपडीयालाई मार्ने योजना अनुसार सुरेश परियार, अर्को एकजना मानिस, जानुका र बृखबहादुरका बीचमा हत्या गरेपछि पाँच लाख रुपैयाँ दिने सहमति भयो ।

    असार ८ गते सुरेश जानुकाको घरमा आई बसेको र ९ गते बिहान योजनाअनुसार अर्का एकजना मानिस समेत उनको घरमा आए ।

    ९ गते जपडीया इटहरीबाट आफ्नो तारिखमा उपस्थित भएर जानुकाको घर फर्केपछि योजना मुताबिक साँझ जपडीया, सुरेश र अर्का एकजना मानिससँगै बसेर मादकपदार्थ सेवन गरेको खुलेको छ ।

    सोही राति साढे १० बजेको समयमा भुइँतलाको उत्तरतर्फको कोठाको ढोकामा उभिरहेका मृतकलाई सुरुमा सुरेशले पछाडिबाट घाँटीमा मुड्कीले प्रहार गर्दा उनी भुइँमा लडी फूलको गमलामा ठोक्किएका थिए ।

    भुइँमा लडेसँगै सुरेशले उनको मुख थुनिदिई अर्का मानिसले घरमा रहेको फलामको मार्तोले निधारलगायत शरीरका विभिन्न भागमा प्रहार गरी हत्या गरेको खुलेको छ ।

    प्रहरीका अनुसार शवलाई लुकाउन र घटनालाई ढाकछोप गर्ने नियतले बोराभित्र प्याक गरी बृखबहादुरले चलाउने गरेको प्रदेश नं १–०१–०१२ प ८१५० नम्बरको मोटरसाइकलमा सुरेश र अर्का एकजना मिलेर लिएर गई ह्युम पाइपभित्र राखेर फर्केको पाइएको छ ।

    हत्यापछि जानुकाले सुरेशलाई सुरुमा २५ हजार रुपैयाँ र पछि पुनः एक लाख ७५ हजार रुपैयाँ गरी दुई लाख दिएको खुलेको छ । यस्तै, घटनामा संलग्न अर्को व्यक्तिलाई एक लाख दिएको खुलेको प्रहरीले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend