काठमाडौं । नेकपा(माओवादी केन्द्र)कि सांसद विना पोखरेलले दलित समुदायमाथि हुने अमानविय व्यवहारहरुको अन्त्य हुन नसकेको बताएकी छन् । मंगलबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद पोखरेलले देशमा ठुलो राजनीतिक परिवर्तन भएपनि दलित समुदायमाथि हुने अपमान र अमानविय व्यवहारहरुको अन्त्य हुन नसकेको बताएकी हुन् ।
उनले अझैपनि दलित समुदायलाई अपमान गर्ने संस्कार समाजमा रहेको भन्दै त्यस्तो संस्कारगत चेतनालाई बदल्न राज्यले प्रभावकारी अभियान चलाउनुपर्ने बताइन् । उनले निर्वाचन प्रणाली पूर्ण समानुपातिक बनाउनुपर्ने र दलितको प्रतिस्पर्धा दलितसँग मात्रै हुने व्यवस्था मिलाउनुपर्ने बताइन् ।
उनले भनिन्– ‘दलित समुदायमाथिको अपमान र अमानविय व्यवहार अझै अन्त्य हुन सकेको छैन । त्यसैले हाम्रो समाजको संस्कारगत चेतनालाई बदल्न अत्यन्तै सशक्त र प्रभावकारी अभियान चलाइनुपर्दछ । जसको पहल स्वयम् राज्यले लिनुपर्दछ । निर्वाचन प्रणाली पूर्ण समानुपातिक बनाइनुपर्दछ । र दलितको प्रतिस्पर्धा दलितसँग मात्र हुने व्यवस्था गरिनुपर्दछ । दलितको नाममा साहु, महाजनको होइन, दलितभित्रकै निम्न वर्गको प्रतिनिधित्वमा जोड दिइनुपर्दछ । दलित समुदायमाथिको दुव्र्यवहार र अपमानलाई दण्डनिय अपराध मानिनु पर्दछ । र सोही अनुरुप कानून बनाई लागु गरिनु पर्दछ ।’
सांसद पोखरेलले दलित समुदायभित्रै भएका विभेदहरुको पनि अन्त्य हुनुपर्नेमा जोड दिइन् । उनले विद्यालयका पाठ्यक्रमहरुले पनि रुढिवादी र अन्धविश्वास कुराहरु सिकाइरहेको भन्दै पाठ्यक्रमहरु दलित समुदायमैत्री हुनुपर्ने बताइन् ।