काठमाडौं । प्रतिनिधिसभाको रिक्त उपसभामुख निर्वाचन प्रक्रिया आजबाट सुरू भएको छ । सत्तारुढ पाँचदलीय गठबन्धनबाट नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले मनोनयन दर्ता गरेकी छन् । केहीबेरअघि संसद् सचिवालयमा पुगेर उनले उपसभामुखका लागि मनोनयन दर्ता गरेकी हुन् ।
भुसाल पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार हुन् । भुसालको प्रस्तावकमा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ र समर्थकमा नेकपा एसकी सांसद लक्ष्मीकुमारी चौधरी छन् ।
प्रमुख प्रतिपक्ष एमालेले भने उपसभामुखको मनोनयन दर्ता गर्ने कि नगर्ने भन्ने निर्णय गरिसकेको छैन । यो संसदको कार्यकाल करिब चार महिना बाँकी छँदा उपसभामुखको निर्वाचन हुन लागेको हो । आजै दिउँसो उम्मेदवारहरूको सूची प्रकाशन गर्ने कार्यसूची छ । शिवमाया तुम्बाहाङ्फेको राजीनामापछि रिक्त उपसभामुख पदमा झण्डै २ वर्षपछि नियुक्त गर्न लागिएको हो ।
उपसभामुख चयनका लागि भोलि दिउँसो ३ बजेबाट मतदानको कार्यसूची तय भएको छ ।