logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • काठमाडौं महानगरले किन भन्यो हफ्ता दिन फोहोर उठ्दैन ?

    काठमाडौं महानगरले किन भन्यो हफ्ता दिन फोहोर उठ्दैन ?

    2.2K
    Shares

    काठमाडौं । काठमाडौं उपत्यकामा हैजाले महामारीको रूप लिइरहँदा काठमाडौं महानगरपालिकाले भने एक सातासम्म फोहोर नउठाउने सार्वजनिक सूचना जारी गरेको छ । बन्चरेडाँडामा जाने सिसडोलस्थित सडक निर्माणकार्य भइरहेकाले फोहोर उठाउन नसकिने महागरले जनाएको हो । सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत बन्चरेडाँडा ल्यान्डफिल साइट आयोजनाले फोहोरका सवारीसाधन कम्तीमा एक सातासम्म नपठाउन आग्रह गरेपछि महानगरले फोहोर नउठाउने सूचना जारी गरेको महानगरका प्रवक्ता नवीन मानन्धरले बताए ।

    महानगरको सूचनामा घरबाट निस्किने कुहिने र नकुहिने फोहोर एक सातासम्म घरभित्रै राख्न भनिएको छ । महानगरले यही साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर छुट्ट्याउने नीति लिएको छ ।यता, साउन ४ गतेसम्म काठमाडौं उपत्यकामा हैजा संक्रमितको संख्या ३४ पुगेको छ । तीन हैजा संक्रमित अहिले पनि अस्पतालमा उपचाररत छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकानुसार उपत्यकाका तीन जिल्लाका ११ पालिकामा हैजाको संक्रमण देखिएको छ । महाशाखाले काठमाडौंका धारा, इनार, ट्युबेलसँगै प्रशोधित पानीमा पनि हैजा फैलाउने जीवाणु फेलापरेको भन्दै जुनसुकै स्रोतको पानी भए पनि उमालेर मात्र प्रयोग गर्न बारम्बार आग्रह गर्दै आएको छ ।

    डेढ महिनाअघि काठमाडौंमा थुप्रिएको फोहोर लामो समयसम्म नउठाइँदा वर्षासँगै बगेर छरिएको थियो । लामो समयसम्म फोहोर नउठाइँदा त्यसबाट निस्कने लिचड पानीका स्रोतहरूमा मिसिई हैजा संक्रमण देखिएको विज्ञहरूको दाबी छ । यस्तै, फोहोरमा बसेका झिँगा, साङ्ला लगायत किरा खानेकुरामा बस्नपुग्दा त्यसले अरू संक्रामक रोगहरू पनि निम्त्याउने सम्भावना उच्च रहेको संक्रामक रोग विशेषज्ञ डा.जनक कोइराला बताउँछन् । हैजा, झाडापखालालगायत संक्रामक रोगबाट बच्न फोहोर व्यवस्थापन पनि प्रमुख चुनौती रहेको उनले उल्लेख गरे ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend