काठमाडौं । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले फेवाताल वरपरका ८० प्रतिशत घरहरु बिना स्वीकृती र मापदण्ड विपरित बनाइएकाले त्यस्ता घरहरुको नियमन गरी भत्काउन माग गरेका छन् । उनले अतिक्रमित पोखरा बसपार्कको जग्गा खालि गराई अत्याधुनिक बसपार्क निर्माण गर्नुपर्ने बताए ।
‘फेवाताल वरिपरिका ८० प्रतिशत घरहरु अवैध छन् । कतिपयले बिना स्वीकृत आठ, नौ तलासम्म घर बनाएका छन् । त्यस्ता घरहरुको नियमन र फेवातालको मापदण्डमा परेका घरहरु भत्काइयोस् ।’ उनले भने । ‘यसैगरी अतिक्रमित पोखरा बसपार्कको जग्गा खालि गराई अत्याधुनिक बसपार्क निर्माण गरी पोखरालाई व्यवस्थित गराईयोस् । तालै तालको शहर पोखराको सुन्दरतालाई जोगाईयोस् । फेवातालको सिरानमा वाटर स्पोर्टस्का लागि पूर्वाधार र पञ्चासे, माछापुच्छ्रे र अन्नपूर्ण हिमालको फेदीसम्म व्यवस्थित पदमार्ग निर्माण गरियोस् ।’