काठमाडौं । मन्त्रीस्तरिय निर्णयबाट युवा तथा खेलकुद मन्त्रालयले नियुक्त गरेका राष्ट्रिय खेलकुद परिषद (राखेप ) का ८ जना बोर्ड सदस्यहरुले औपचारिक पदबहाली गरेका छन् । आइतबार काठमाडौंमा बसेको राखेपको ११३ औं बोर्ड बैठकमा ती ८ जना सदस्यलाई सहभागी गराइएसँगै उनीहरुको जिम्मेवारी सुरु भएको हो ।
सरकार परिवर्तनसँगै नयाँ खेलकुद मन्त्री महेश्वरजंग गहतराजले गत मंसिर ३ गते राखेपका ९ जना बोर्ड सदस्यलाई बर्खास्त गरी १० गते ८ जनालाई नयाँ नियुक्ति दिएका थिए । आफ्नो बर्खास्ती र नयाँ नियुक्तिको विरोधमा ९ मध्ये ५ जना सदस्यले उच्च अदालतमा रिट दायर गरेपछि अदालती झमेला सुरु भएको थियो । अदालतको अन्तरिम आदेशसँगै नयाँ नियुक्ति भएकाले जिम्मेवारी पाउन सकेका थिएनन् । गत असार २९ गते उच्च अदालत पाटनले बर्खास्तीमा परेका बोर्ड सदस्यको रिट खारेज गरिदिएपछि नयाँ सदस्यको नियुक्तिका लागि बाटो खुलेको थियो ।
मंसिरमै नियुक्ति पाएका बोर्ड सदस्यहरु मोहम्मद फाजिल, पेमा डोल्मा लामा, जनकप्रसाद बर्तौला, दीपेन्द्र विष्ट, प्रकाशकुमार कुसारी, विना नवाछे श्रेष्ठ, अन्जन धमला र श्रीमान थापामगर आइतबारको बैठकमा राखेपका अध्यक्षसमेत रहेका खेलकुदमन्त्री गहतराजले स्वागत गरे ।