काठमाडौं । नेपाली काँग्रेसका सांसद अमरेशकुमार सिंहले राष्ट्रिय अनुसन्धान विभागको दुरुपयोग गरिएको बताएका छन् । उनले सरकारमा रहनेहरुले आफ्नो स्वार्थमा विभागलाई प्रयोग गर्ने गरेको बताए ।
शीर्ष नेताहरुको निवास अगाडी गुप्तचर राखेर निर्वाध रुपले स्वतन्त्र राजनीतिक गतिविधि गर्नमा समेत राज्यले अवरोध गरेको उनको भनाई छ । उनले अदालतको स्वीकृति बिना फोन ट्रयापिङ पनि गर्नु नहुनेमा जोड दिए । उनले भने– ‘सबैको घरको अगाडी उनीहरुले अनुसन्धान राखेको छ । भन्छ सुरक्षाको नाममा तर राज्यको राजनीतिक गतिविधि स्वतन्त्र पनि निर्वाध रुपले नचलोस् । त्यसमा राष्ट्रिय अनुसन्धानको ठूलो योगदान सरकारले लिइराखेको हुन्छ । त्यसकारण अदालतको स्वीकृति बिना कुनै पनि फोन ट्रयापिङ गर्नुहुँदैन ।’