काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का चीन भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले शुक्रबार सिंहदरवारमा आयोजित नियमित पत्रकार सम्मेलनमा यही श्रावण २४ गतेदेखि २६ गतेसम्म मन्त्री खड्का नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको चीन भ्रमण हुने जानकारी गराएको हो । चिनिया विदेशमन्त्री वाङ यीको मैंत्रीपूर्ण नियन्त्रणमा परराष्ट्रमन्त्री खड्का नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको चीन भ्रमणको मिति तय गरिएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताईन् । उनले भ्रमणमा दुई मुलुकबीचको आपसी हितका विविध विषयमा छलफल हुने बताईन् ।
‘छिमेकी मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका विदेशमन्त्री महामहिम वाङ यीको मैंत्रीपूर्ण नियन्त्रणामा माननीय परराष्ट्रमन्त्री डा. नारायण खड्काज्यू ३ दिने चीन भ्रमणका लागि आगामी अगष्ट ९, २०२२ का दिन त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । उक्त भ्रमणका अवसरमा नेपाल र चीन दुवै पक्षबीच प्रतिनिधिमण्डल स्तरीय द्धिपक्षीय सम्बन्धका विविध विषयमा छलफल हुनेछ । गत मार्चमा चिनिया विदेशमन्त्रीको नेपाल भ्रमणको क्रममा माननीय परराष्ट्रमन्त्रीज्यूलाई चीन भ्रमणको नियन्त्रणा प्राप्त भएको थियो ।’ प्रवक्ता,लम्सालले भनिन् ।
परराष्ट्र मन्त्रालयले भ्रमणका एजेण्डाहरु पनि तय भईरहेको र भ्रमण सम्पन्न नभई ती विषयहरु सार्वजनिक गर्न हतार हुने पनि जनाएको छ । प्रवक्ता लम्सालले मन्त्री खड्काको चीन भ्रमणका क्रममा दुई मुलुकबीचको विविध विषयमा छलफल हुने र त्यसपछि मात्रै त्यसबारे जानकारी गराउन उपयुक्त हुने बताईन् ।
प्रवक्ता लम्सालले अमेरिकी सभामुख नान्सी पेलोसीको ताईवान भ्रमणपछि उत्पन्न परिस्थितिलाई नेपालले नजिकबाट नियालीरहेको समेत जिकिर गरिन् । सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा नेपाल सदैव ‘एक चीन नीति’को समर्थनमा रहेको पनि स्मरण गराईन् । अमेरिकी सभामुख पेलोसीको भ्रमणलाई चीनले आफ्नो मुलुकको सार्वभौमसत्ता र स्वाधिनतामाथिको आक्रमण भनेको छ । प्रवक्ता लम्सालले एक शान्तिप्रिय राष्ट्रको रुपमा नेपाल सदैव अन्तर्राष्ट्रिय शान्ति र स्थायित्वको पक्षमा रहेको उल्लेख गरिन् ।
परराष्ट्र मन्त्रालयले नेपाल–चीन दुवै मुलुकले सदैव एक अर्काको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधिनताको सम्मान गर्दै आएको जनाएको छ ।