काठमाडौं । सहरी विकास मन्त्री मेटमणि चौधरीले थारुहरुले अब अभाव, दुःख र गरिवीका गीत गाउन छाड्नुपर्ने धारणा राखेका छन् । बौद्धस्थित बरघर रेष्टुरेन्टमा शनिवार आयोजित एसइईमा उत्कृष्ट अंक ल्याउने थारु विद्यार्थीहरुको बधाई तथा सम्मान कार्यक्रममा ‘हामीले जहिले दुःखका कुरा ग¥यौँ । अभावका कुरा ग¥यौँ । जाँड खाएर आफु बिग्रिएका कुरा ग¥र्याैँ । के बाहुनले अभाव झेलेका छैनन् ? के क्षेत्रीले दुःख खेपेका छैनन् ? के जाँड अरुले खाँदैनन् र ? मुख्य कुरा कमिटमेन्ट हो । आँट हो । हिम्मत हो । तसर्थ अब अभाव, दुःख र गरिबीका गीत गाउन छाड्नुपर्छ ।’ मन्त्री चौधरीले भने ।
देश बदल्ने हरेक आन्दोलनमा झापा देखि कन्चनपुरसम्मका थारुहरुले योगदान गरेका छन् तर पनि किन नेतृत्वमा आएनन् भनेर सोच्नेबेला भएको बताउँदै मन्त्री चौधरीले भने ‘०४६ साल पछाडि राजनीति बदलिएको छ । थारु जाती अब भोट बैंक मात्र बन्ने होइन । प्रत्यक्ष राजनीतिमा सामेल हुने हो । राजनितीमा आउन गाह्रो छ । सानो पदमा रहदा सबैले माया गर्छन् तर अलि माथि पुगेपछि घेराबन्दी गर्न थाल्छन् । तर पनि देश बदल्ने शक्ति राजनीतिमै छ । देश बनाउँने अभियानमा थारु जाती थप सक्रिय हुनैपर्छ ।’
०६२÷६३ मा मुलुक बिखण्डन गर्ने अभियानका विरुद्ध थारु समुदायले प्रतिरोध गरेको बताएका मन्त्री चौधरीले अबको १० वर्षभित्र मुलुकले थारु समुदायबाटै प्रधानमन्त्री पाउने दावी समेत गरे । हिम्मत र संघर्षबाटै अब्रहाम लिङ्कन, अरुणिमा सिंह, झमककुमारी प्रसिद्ध बनेको बताउँदै उनले बहिस्कृत मान्छेहरु नै अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे । कार्र्यक्रममा एसइईमा विशिष्ट क्षेणी ल्याउने थारु समुदायका करिब दुई दर्जन विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।