इलाम । आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि इलाम क्षेत्र नं २ बाट नेकपा एमालेले सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार सिफारिस गरेको छ। एमाले उपाध्यक्ष तथा संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङलाई पार्टी क्षेत्र नं २ को कमिटीले एकल नाम सिफारिस गरेर पठाएको हो।
क्षेत्रीय कमिटीले जिल्लालाई एकल नाम सिफारिस गरेपछि उनी नै उम्मेदवार बन्ने निश्चित भएको हो। मातहत कमिटीबाट आएको सिफारिस जिल्लाले प्रदेशमा पठाउने पार्टीका जिल्ला उपसचिव रवीन्द्र सुवेदीले जानकारी दिए।
नेम्वाङ २०५६ सालयता भएका सबै संसदीय/संविधानसभा निर्वाचनमा यसै क्षेत्रबाट निरन्तर विजयी भइरहेका छन्। उनले २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका केशव थापालाई पराजित गरेका थिए।