काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसदको अन्तिम बैठकमा पनि आफूले गरेको संसद् विघटनको बचाउ गरेका छन् ।
प्रतिनिधि सभाको अन्तिम बैठकलाई शनिवार सम्बोधन गर्दै उनले संसद् विघटनको सिफारिस गर्दा आफूलाई प्रतिगमन गरेको भनेर लगाएको आरोपको समेत खण्डन गरेका छन् । प्रतिनिधि सभाको कार्यकाल आज मध्यरातिबाट सकिँदै छ ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गर्दै ओलीले भने, ‘अहिले सरकारले चुनाव घोषणा गरेको र आजबाट संसद्को म्याद सकिँदै छ । त्यसो हो भने तपाईंले पनि प्रतिगमन गर्दै हुनुहुन्छ । अवस्था त्यस्तो हो ?’
‘निर्वाचनमा जाने कुरालाई प्रतिगमन भनिँदैन । असंवैधानिक ढंगले नक्कली सरकार गठन गर्नु चाहिँ प्रतिगमन हो । निर्वाचनमा जाने कुरा पहिले पनि प्रतिगमन होइन । अहिले पनि प्रतिगमन होइन’, ओलीले भने ।