काठमाडौं । पूर्वराष्ट्रपति डा.रामवरण यादवले देश फेरि प्रतिगमनतिर जान सक्ने बताएका छन् । बुधबार जनकपुरधामस्थित सरस्वती नमुना माध्यमिक विद्यालयको भवन निर्माण एवं परिसर सुधार कार्य शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै पुर्वराष्ट्रपति यादवले यस्तो बताएका हुन् ।
उनले संविधानलाई कसरी जोगाउने भन्ने जिम्मेवारी जनताकै काँधमा रहेको भन्दै संविधान जोगाउन सबै सचेत हुनुपर्ने बताए । संसदबाट दुई पटक पारित भएर प्रमाणीकरणका लागि पठाइको विधेयक पारित नगरेर राष्ट्रपतिले संविधानकै उल्लंघन गरेको उनको भनाई थियो ।
उनले विभिन्न मुलुकका अभ्यास हेर्नुपर्ने, कानुनविद्, संविधानविद् तथा विद्वानहरूसँग छलफल गरेर अघि बढ्न सक्ने विकल्प हुँदा हुँदै पनि त्यसो नगरी संविधानमै नभएको बाटो राष्ट्रपतिले रोज्नु गलत भएको बताए । लोकतन्त्रका लागि यो घटना सामान्य र राम्रो नभएको उनले स्पष्ट पारे ।