काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले टिकट वितरणमा अन्याय गरेको भन्दै डा.शेखर कोइराला पक्षले पार्टीको केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएको छ । पार्टी कार्यालय अगाडि मौन धर्नामा बसेका उनीहरुले एक घण्टासम्म बस्ने बताएका छन् ।
४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रत्यक्ष तथा समानुपातिकतर्फको उम्मेदवारमा सिफारिस भएका र उम्मेदवार बन्न आकांक्षा राखेका नेताहरु धर्नामा बसेका छन् । धर्नामा शेखर कोइराला र उनका पक्षका शीर्ष नेताहरु भने सहभागी छैनन् । सभापति शेरबहादुर देउवा पक्षले टिकट वितरणमा अन्याय गरेको भन्दै शेखर पक्ष आन्दोलनमा उत्रिएको हो । उनीहरुले आफूहरुको धर्ना समान अवसर र न्यायका निम्ति भनेका छन् ।