काठमाडौं । गृहसचिव विनोद प्रकाश सिंहले आज सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय हल्चोक स्वयम्भुको निरीक्षण गरेका छन् । गृहसचिव सिंहले सशस्त्र प्रहरीको प्रधान कार्यालयबाट र भर्चुअल माध्यम मार्फत बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षकहरुबाट देशको समग्र शान्ति सुरक्षा व्यवस्थापनमा भए गरेका काम कारवाही र संगठनका समस्या र चूनौतीहरुका बारेमा जानकारी लिए ।
उनले सशस्त्र प्रहरी बल नेपालले सिमित श्रोत साधनको बावजुत कठिन परिस्थिति र स्थानमा समेत सीमा रक्षार्थ तैनाथ रहेको र प्रतिकुल अवस्थामा रहेका बिओपीहरुको सुधारको लागि समयानुकुल बन्दोवस्ती व्यवस्थापनमा गृह मन्त्रालयले पहल गरिरहेको जिकिर गरे । गृहसचिव सिंहले आगामी निर्वाचनलाई भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गराउन सशस्त्र प्रहरीको भूमिका महत्वपूर्ण रहने बताए । निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन सशस्त्र प्रहरीका बाहिनीपति तथा युनिटपतिहरुले आफु मातहतकालाई उचित ढंगले परिचालन गरी कार्यसम्पादन गर्न निर्देशन समेत दिए ।
सशस्त्र प्रहरीले शान्ति सुरक्षा कायम गर्न सक्षमता, निपूर्णता तथा तदरुकताका साथ कार्य गर्ने आपुले अपेक्षा राखेको बताउँदै उनले सीमा सुरक्षामा काठिन परिस्थितिका बावजुद परिचालित कर्मचारीहरुप्रति उच्च सम्मान प्रकट गरे । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले पर्नि गृहसचिव सिंहबाट भएको निर्देशनलाई अक्षरस पालना गरी ईमान्दारितापूर्वक जम्मेवारी निर्वाह गर्न सशस्त्र प्रहरी बलका राष्ट्रसेवकहरुलाई निर्देशन दिए ।
महानिरीक्षक अर्यालले आगामी निर्वाचन भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गराउनको लागि सम्पूर्ण तयारी गरिएको बताउँदै जस्तो सुकै परिस्थितिमा पनि आम नागरिकको सेवा, सुरक्षा र उद्धारमा परिचालित हुने उल्लेख गरे ।