काठमाडौं । शताब्दी पुरूष सत्यमोहन जोशीको स्वास्थ्यमा पुनः खराबी आएको छ । किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालका प्रमुख प्रा.डा.सुरज बज्राचार्यका अनुसार जोशीको शरीरमा अक्सिजनको मात्रा घटेपछि आईसीयूमा राखेर थप उपचार थालिएको छ ।
स्वास्थ्य अवस्था केही सुधार भएपछि बुधबार उनलाई आईसीयूबाट क्याबिन सारिएको थियो । आज फेरि स्वास्थ्यमा गडबड भएर क्याबिनबाट आईसीयूमा सारिएको हो । अहिले जोशीलाई प्रतिमिनेट ३० लिटर हाइफ्लो अक्सिजन दिनुपरेको छ ।
जोशीको स्वास्थ्यमा छिन–छिनमै उतार चढाव आउन थालेपछि अस्पतालले विशेषज्ञ चिकित्सकको विशेष निगरानीमा निरन्तर स्वास्थ्य सेवा प्रदान गरिरहेको जनाएको छ ।
डा. बज्राचार्यका अनुसार निमोनिया संक्रमणको साथै मुटुको चाल सम्बन्धी समस्याको उपचार जारी छ । खकार परीक्षण गर्दा एन्टिबोयोटिक्स निरन्तर दिनुपरेको चिकित्सकले जानकारी दिएका छन् । अस्पतालका अनुसार मेडिसिन विभागको नेतृत्वमा अन्य विभागहरूले जोशीको स्वास्थ्यको निरीक्षण गरिरहेका छन् । किष्ट मेडिकल कलेजले जोशीको सम्पूर्ण उपचार निःशुल्क सेवा गर्दै आएको छ ।