logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • साधारण सदस्य समेत नरहने गरि एमालेबाट प्रभु साह निष्काशित

    साधारण सदस्य समेत नरहने गरि एमालेबाट प्रभु साह निष्काशित

    3.8K
    Shares

    काठमाडौं । पार्टीले दिएको टिकट होल्ड गर्दै स्वतन्त्र उम्मेदवारी दिएका स्थायी कमिटी सदस्य प्रभु साहलाई नेकपा एमालेले कारबाही गरेको छ। पार्टीविरोधी गतिविधि गरेको भन्दै साहलाई एमालेले पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको छ।

    महासचिव शंकर पोखरेलले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्थायी कमिटी सदस्य तथा मधेस प्रदेश सह इन्चार्ज प्रभु साह र जिल्ला इन्चार्ज उपेन्द्र साह र सह इन्चार्ज कुन्दप्रसाद कुशवाह पार्टी विरोध गतिविधिमा संलग्न रहेकाले निजहरूलाई पार्टीको सदस्यता समेतबाट निष्कासन गरिएको छ।’

    साहले रौतहट ३ मा स्वतन्त्र उम्मेदावरी दिएका थिए। एमालेले रौतहट जिल्ला कमिटी पनि विघटन गरेको छ। रौतहट जिल्लाको सहइन्चार्जको जिम्मेवारी उद्धव रेग्मीलाई तोकेको महासचिव पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

    स्वतन्त्र उम्मेदवारी दिएसँगै साहले एमालेमा नरहेको घोषणा गरिसकेका थिए। सत्तारूढ गठबन्धनले रौतहट ३ मा साहलाई समर्थन गर्ने भएको छ। नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले रौतहट ३ मा आफ्नो पार्टीका उम्मेदवार रहे पनि गठबन्धनले साहलाई समर्थन गर्ने निर्णय भएको जानकारी दिए।

    रौतहट ३ मा सत्तारूढ गठबन्धनबाट माओवादी केन्द्रका रवीन्द्र पटेल उम्मेदवार बनेका थिए। ‘साहलाई समर्थन गर्ने औपचारिक सहमति भइसकेको छ। हाम्रा उम्मेदवारसँग हामीले कुराकानी गरिरहेका छौं, उहाँको राजनीतिक समर्थनमा उम्मेदवारी निष्क्रिय हुन्छ,’ पुनले भने।

    यसअघिका तीन वटा निर्वाचन माओवादी केन्द्रबाट जितेका साह आफ्नो क्षेत्रमा बलियो प्रभाव राख्छन्। सोही क्षेत्रमा पर्ने मौलापुर नगरपालिकामा उनकी श्रीमती रिना साहले यसपालि दोस्रो पटक मेयर जितेकी छन्। २०७४ को चुनाव माओवादीबाट जितेकी उनी यसपालि एमालेबाट विजयी भएकी हुन्।

    सशस्त्र युद्धका बेला नै भूमिगत भएका साह २०६४ र २०७० को संविधान सभामा सोही क्षेत्रबाट निर्वाचित भएका थिए। २०७४ को चुनाव पनि उनले त्यहीँबाट जितेका थिए। माओवादी केन्द्रमै हुँदा साह तीन पटक मन्त्री भएका थिए। २०७७ पुसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि उनी ओली सरकारको मन्त्री बनेका थिए।

    माओवादी केन्द्र र एमालेको एकतालाई २०७७ फागुन २३ गते सर्वोच्च अदालतले खारेज गरिदिएपछि साहले एमाले रोजे। एमाले रोजेकै कारण माओवादी केन्द्रले उनको सांसद पद खारेज गरेको थियो।

    एमालेको दसौं महाधिवेशनबाट स्थायी कमिटी सदस्य बनेका साहले रौतहट क्षेत्र नं ३ को लागि पार्टीबाट टिकटसमेत पाएका थिए। तर उनले पार्टीबाट पाएको टिकट आफैंसँग राखेर स्वतन्त्र उमेदवारी दिएका हुन्। मधेस प्रदेश र विशेषगरी रौतहटको निर्वाचनमा प्रभाव पार्न सक्ने भएकाले माओवादी केन्द्रले उनलाई समर्थन गर्न सक्ने बताइएको छ। स्वतन्त्र उम्मेदवार बनेका साहले चापाकल चुनाव चिन्ह पाएका छन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend