काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरीका सबै संगठनलाई प्रविधिमैत्री बनाउँन निर्देशन दिएका छन् । सोमवार ६७ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले सूचना प्रविधिलाई समायानुकुल परिवर्तन गरी अघि बढ्नसके मात्रै अपेक्षित परिणाम हासिल गर्न सकिने बताए । उनले नेपाल प्रहरीलाई आगामी दिनमा थप आधुनिक, व्यवसायिक, श्रोत, साधनले सम्पन्न बनाउन सरकार प्रतिवद्ध रहेको पनि बताए ।
प्रधानमन्त्री देउवाले नेपाल प्रहरीभित्र सबै कर्मचारीको वृत्ति विकासलाई समयानुकुल सुधार गर्दै जानुपर्ने आवश्यक्ता रहेको पनि उल्लेख गरे । प्रधानमन्त्री देउवाले आगामी निर्वाचन शान्तिपूर्ण रुपमा गराउनेबारेमा नेपाल प्रहरीको प्रमुख जिम्मेवारी रहने भन्दै ऐन, कानूनले दिएको आफ्नो अधिकार प्रयोग गरी निर्वाचनलाई स्वच्छ, निष्पक्ष बनाउन निर्देशन दिए ।
प्रधानमन्त्री देउवाले प्रहरी प्रशासनले हरेक समय नेपाली नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर काम गरेको भन्दै प्रहरी प्रशासनलाई समेत धन्यवाद व्यक्त गरे ।