चितवन । वर्षौदेखि सार्वजनिक र वनको जमिनमा बस्दै आएका चितवनका भूमिहीन र अव्यवस्थित बसोबासीका लागि सधैँको चुनावी आश्वासन जग्गा धनी प्रमाण पूर्जा (लालपुर्जा) हुने गरेको छ । जिल्लामा रहेका भूमिहिन सधैँ आश्वासनका भरमा मतदान गर्न बाध्य हुँदै आएका छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ मा पनि यस्ता आश्वासन आउने गरेको उनीहरुको गुनासो रहेको छ । लालपुर्जा दिने प्रतिबद्धतासँगै कार्यान्वयन गर्ने व्यक्तिलाई मतदान गर्ने जिल्लाका भूमिहीन एवं अव्यवस्थित बसोबासीले बताएका छन् ।
जिल्लामा अहिले जग्गाधनी प्रमाणपूर्जा (लालपुर्जा)को माग गर्दै ४३ हजार दुई सय ८४ जनाले निवेदन दिएका छन् । उनीहरुले आफूहरुको व्यवस्थित बसोबास गर्ने गरी व्यवस्था गर्ने उम्मेदवार रोज्ने जनाएका छन् । उम्मेदवारहरु मत माग्न आउँदा समस्या समाधानका लागि माग गरिएको नेपाल बसोबास बस्ती संरक्षण समाजका जिल्ला अध्यक्ष छविलाल देवकोटाले बताए । उनका अनुसार सुकुम्बासी र अव्यवस्थित बसोबासी समस्या समाधान गर्ने सरकारको चाहान उनीहरुमा रहेको छ । उनले भने “जसले हामीलाई पुर्जा दिन्छ उसलाई हामी भोट दिन्छौँ ।” अहिलेसम्म जिल्लाका एक सय ७८ जना भूमिहीनले जग्गा प्राप्त गरेको उनले जानकारी दिए ।
भरतपुर महानगरपालिका–११ का भूमिहीन होमनाथ अधिकारी अहिले जग्गाको आसमा छन् । उनी सार्वजनिक जग्गामा बसेको ३५ वर्ष भयो । उनले अहिलेसम्म आफ्नो नाममा जग्गा धनी प्रमाण पुर्जा पाउन नसकेको दुःखेसो व्यक्त गरे । उनले भने “हामीलाई सधैँ निर्वाचन भोट माग्ने मुद्दा मात्रै बनाइयो ।” भूमिहीनका मुद्दा लिएर निर्वाचन जित्ने तर पछि बेवास्ता गर्ने दल र उनका उम्मेदवारभन्दा काम गर्ने उम्मेदवार रोज्ने उनको भनाइ छ ।
माडीको बाँदरझुलामा बस्दै आएका रामबहादुर स्याङ्तान आश्वासनको भारीले थाकेको बताए । उनले भने, “आश्वासन मात्रै पाइयो काम हुन सकेन ।” जग्गा धनी प्रमाण पुर्जा दिन्छु भन्ने धेरै आएको गुनासो गर्दै उनले समस्या समाधानका लागि कसैले पनि काम गर्न नसकेको बताए । उनले भने, “सुकुम्वासी समस्या दलका नेतालाई मागी खाने भाँडो भएको छ ।”
खैरहनी नगरपालिकाका भूमिहीन विक्रम महतोको गुनासो पनि उस्तै छ । “अहिले निस्सासम्म पाइएको छ अब के हुने हो थाहा छैन”, उनले भने । जिल्लाका अधिकांश भूमिहीन तथा अव्यवस्थित बसोबासीका समस्या यही रहेको बताउँदै उनले भने, “सरकार परिवर्तनसँगै हुने आयोगको परिवर्तनले हाम्रो समस्या समाधान हुन सकेन ।”
सरकार परिवर्तनसँगै बन्ने आयोग र आयोगले गरेका कामले पूर्णता नपाउँदा हुने विगठनले समस्याको निकास नपाउने गरेको उनको भनाइ छ । भरतपुर–११ गणेशस्थान पुगेका क्षेत्र नं २ का सङ्घीय सांसद पदका उम्मेदवार कृष्णभक्त पोख्रेल, उमेश श्रेष्ठ र रवि लामिछानेले सुकुम्बासी समस्या समाधान गर्ने आश्वासन दिने गरेका छन् ।
भरतपुरका आँपटारी, शारदानगर, गुञ्जनगर र गीतानगर तथा कालिका नगरपालिकाको जुटपानी, रत्ननगर र खैरहनी एवं राप्ती नगरपालिकामा रहेका भूमिहीनको समस्या उस्तै छ । यता माडी नगरपालिकाका बाँदरझुला र देवेन्द्रपुरमा बस्ने भूमिहीनको समस्या पनि एउटै छ । समस्या समाधानको आशमा रहेका भूमिहिन कसलाई मत दिने भन्ने दोधारमा रहेका छन् ।
क्षेत्र नम्बर १ मा सुरेन्द्र पाण्डे, डा विश्व पौडेल र हरि ढकाल तथा क्षेत्र नं ३ मा डा भोजराज अधिकारी, विक्रम पाण्डे र दिनेश कोइरालाले अहिले भूमिहीनको समस्या समाधान गर्ने आश्वासन दिँदै मत मागिरहेका छन् । त्यसो त अन्य उम्मेदवारका मुद्दा पनि सुकुम्बासीलाई जग्गा नै रहेको छ । हरेक निर्वाचनमा आश्वासन बाँड्ने तर कार्यान्वयन नहुने हुँदा सुकुम्बासी निरास छन् । ती बस्तीमा भोट प्रभावमा पार्न आर्थिक चलखेल हुने गरेको गुनासोसमेत सुन्ने गरिन्छ । -रासस