धरान । चुनावी अभियानमा पूर्व दौडाहामा रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले र एमालेसँग सहकार्य गर्ने दललाई मात्र जनताले भोट दिने बताएका छन् । एमाले–जसपा संयुक्त कार्यकर्ता भेलालाई धरानमा आज सम्बोधन गर्दै उनले पार्टी निर्णयविरुद्ध उठेर स्वतन्त्र भएकालाई एमालेका मतदाताले भोट नदिने पनि प्रस्ट पारे ।
“पार्टीले अन्तमा गएर समर्थन गर्छ कि भन्ने भ्रम नपाल्नु होला”, सुनसरी क्षेत्र नं १ मा एमालेबाट बागी उम्मेदवारी दिएका उम्मेदवारप्रति लक्षित गर्दै ओलीले भने, “समयमा काम गरभन्दा नगर्ने, समयमा उम्मेदवार हौ भन्दा नहुने अनि दिँदाखेरि नखाने राति उठेर कोल चाट्ने ?”
दलीय व्यवस्था, लोकतन्त्र र प्रजातन्त्रका विरुद्ध षड्यन्त्रस्वरूप स्वतन्त्र अभियान चलाइएको उनको भनाइ थियो । उनले यो अभियानलाई दलीय व्यवस्थाविरोधी अभियानका रूपमा परिभाषित गरे । ओलीले भने, “यस्तो अभियानको भ्रममा पर्नुहुँदैन, अहिले साथीहरू कोही भ्रममा नपर्नु होला, नेकपा एमाले एउटा अनुशासित पार्टी हो, राजनीतिक पार्टी हो ।”
ओलीले पार्टी कार्यकर्तालाई मतपेटिकाको रक्षा गर्न र मतदातालाई मतदान शिक्षा दिन निर्देशन पनि दिए । उनले एमाले छाडेर अशोक राईले सम्भावना समाप्त पारे पनि एमालेसँग मिलेपछि पुनःसम्भावना सुरु भएको बताए ।