काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो चुनावबाट माधवकुमार नेपालको पार्टी समाप्त हुने बताएका छन् । आज (शनिबार) कैलालीमा आयोजित चुनावी सभामा उनले यस्तो बताएका हुन् ।
अध्यक्ष ओलीले पार्टी र देशका विरुद्ध अपराध गरेको भन्दै माधव नेपालको पार्टी यही चुनावबाट सकिने बताए । ‘माधव नेपाल त यही चुनावबाट समाप्त हुन्छन्, माधव नेपालको पार्टी खरानीको डल्लो हो, पानी भिजाएर डल्लो पारेको पानी सुकेपछि फुट्छ’ उनले भने ।
एकीकृत समाजवादीबाट धेरै नेताहरु एमालेमै फर्किसकेको पनि ओलीले दावी गरे । ‘माधव नेपालको पार्टी त रित्तो भाँडो भइसक्यो । अलि अलि बाँकी होलान्, ४ मंसिरसम्म सबै आइसक्छन्’ उनले भने । ओलीले माओवादी केन्द्र पनि भविष्यमा समाप्त हुने बताए ।