काठमाडौं । नेप्से परिसुचक सोमबार २१.२६ अंकले बढेर बजार १९०४.४३ बिन्दुमा पुगेको छ। आज सेन्सेटिभ इण्डेक्स ४.५० अंक बढेको छ भने फ्लोट इण्डेक्स १.३० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४९ अंक बढेको छ।
नेप्सेसँग आज कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन ७७ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २२६ स्टकको १७ हजार ७६५ पटकको कारोबारमा ९४ करोड ६० लाख ८९ हजार रुपैयाँ बराबरको २४ लाख ५२ हजार कित्ता शेयर कारोबार भएको छ।
यस दिन तारागाउँ रिजेन्सी होटलको शेयरमूल्य सर्वाधिक ९.८४ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य ८.३९ प्रतिशत बढेको छ भने बुद्धभुमि नेपाल हाइड्रोपावर र रिभरफल्स पावरको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ। यता लक्ष्मी इक्विटी फण्डको इकाईमूल्य यस दिन सर्वाधिक साढे ६ प्रतिशत घटेको छ।
चुनावी माहोल सुरु भएसँग बजार माथि जाने लगानीकर्ताको अपेक्षा अनुसार बजार उकालो नलाग्दा लगानीकर्ता निरास भएको समयमा आज भने बजार बढेको छ ।
बजारले बटम लगाइसकेको र अबका दिनमा उकालो लाग्ने भनिएपनि लगानीकर्ता अझै ढुक्क हुन सकेका छैनन् । लगानीकर्ताहरू अझै पनि पर्ख र हेरको अवस्थामा नै देखिन्छन्।