काठमाडौं । सांसदहरुले वैदेशिक रोजगारीमा गएका नेपालीहरुको समस्या समाधानका लागि सरकारसँग आग्रह गरेका छन् । बिहीवार सिंहदरबारमा बसेको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै सांसदहरुले वैदेशिक रोजगारीमा गएका श्रमीकहरुको समस्या समाधानलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सांसदहरुले कुटनीति जानेको व्यक्ति राजदुतमा नियुक्त गर्न नसक्दा परराष्ट्र सम्बन्ध राम्रो बन्न नसकेको गुनासो गरेका छन् । उनीहरुले राजदुत नियुक्ति गर्दा आफन्तहरु छान्नु नहुने धारणा राखे ।
बैठकमा बोल्दै नेकपा (एकीकृत समाजवादी) की सांसद राजेन्द्रलक्ष्मी गैरेले वैदेशिक रोजगारीमा गएकाहरुको निधन हुँदा शव ल्याउन किन ढिलाइ भइरहेको छ ? भन्दै सरकारलाई प्रश्न गरिन् । उनले वैदेशिक रोजगारीमा गएको समस्या छिटो र छरितो ढंगबाट गर्न आग्रह गरिन् ।
उनले भनिन्, ‘वैदेशिक रोजगारीमा गएका युवाहरुलाई धेरै समस्या आउने गरेको सुनिरहेका छौँ । जुन वैदेशिक रोजगारीमा जाँदा मृत्यु भएकाहरुको शव ल्याउन पनि धेरै समय लाग्ने गरेको छ । यसलाई कसरी हटाउने, छिटो छरितो गर्ने भन्ने सोच्नुपर्छ ।’
बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद जगतबहादुर पार्कीले विदेशी लगानी नभित्र्याइकन देशलाई समृद्ध बनाउन नसकिने बताए । उनले वैदेशिक लगानी भित्र्याउने सन्दर्भमा धेरै समस्याहरु रहेको भन्दै समस्याको समाधान गरेर अघि बढ्न सरकारलाई सुझाव दिए ।
उनले एउटा सरकारले गरेका निर्णयहरु अर्को सरकारले तोड्ने गरेकै कारण कतिपय विकास निर्माणका गतिविधिहरुमा समस्या हुने गरेको बताए । उनले राजनीतिक चलखेल नगरी विकासका काम अघि बढाउनुपर्ने धारणा राखे ।
उनले भने, ‘हामीले विदेशी लगानी नल्याइ देशलाई समृद्धिको दिशामा अघि बढाउन सक्दैनौँ । तर वैदिशक लगानी भित्र्याउने सन्दर्भमा धेरै खालका समस्या भइरहेका छन् । झापाको औद्योगिक पार्क निर्माण गर्ने भनेर केपी ओली सरकारको पालामा निर्णय भयो । अर्को सरकार आएपछि अघि बढ्न सकेन । डिपिआरसमेत भइसकेको अवस्थामा अहिले सम्झौता पनि हुन सेकन । चीनको लगानी आउने भइसकेपछि भारतले रोक्यो, शेरबहादुर देउवाले रोक्नुभयो भन्ने प्रचार बाहिर आएको छ । यसो गर्दा विदेशी लगानी कर्ताहरु नेपालमा लगानी गर्न आकर्षित हुन्छन् र ? चलखेलका कारण यस्तो किन भइरहेका छन् ?’
बैठकमा बोल्दै नेकपा एमालेकी सांसद दीपा गुरुङले उत्पादन गर्न नसकेसम्म लगानी गर्नसक्ने अवस्था नहुने बताइन् । उनले उत्पादन गर्दा आउने समस्यालाई समाधान गरेर अघि बढ्दै कर्मचारीहरुको पूर्णता दिइ कामहरुमा छिटो र छरितो बनाउनुपर्ने बताइन् ।
उनले भनिन्, ‘जबसम्म हामीले उत्पादन गर्न सक्दैनौँ । तबसम्म लगानी गर्न सक्दैनौँ । समस्या आउँछन् तर, त्यसलाई निराकरण गर्ने बाटो पत्ता लगाउनु पर्छ । त्यसमा कमजोरी छ । कर्मचारीलाई काम गर्ने सहज वातावरण मिलाउनु पर्छ । वैदशिक समस्याको समाधानको बाटो पत्ता लगाउनु जरुरी छ ।’
बैठकमा नेकपा (एकीकृत समाजवादी) की सांसद जयन्तीदेवी राईले लगानी गर्न उद्यमीहरु उत्साहित नदेखिएको भन्दै उद्योगीहरुलाई लगानीमैत्री वातावरण सिर्जना गर्न सरकारसँग आग्रह गरिन् ।
उनले विदेशी लगानी भित्र्याउने कुरामा परराष्ट्र मन्त्रालयले नै आवश्यक नीति बनाएर अघि बढ्नुपर्ने बताइन् । उनले नेपालसँग आयात मात्रै गर्ने तर निर्यात गर्ने कुरा केही नरहेको भन्दै उत्पादन बढाउने कुरामा ध्यान दिन जरुरी रहेको बताइन् । उनले विदेशमा मृत्यु भएका नेपालीहरुको शव ल्याउन ढिलाइ भइरहेको बारे सरकारको ध्यानाकर्षण गराइन् ।
उनले भनिन्, ‘लगानी गर्ने कुरामा नेपालीहरु त्यत्ति धेरै उत्साही देखिँदैनन् । यहाँ उद्यमीहरु । निर्यात गर्नेकुरामा परराष्ट्र मन्त्रालयले नै त्यसलाई नीति बनाउने कुरामा समन्वय र पहल गर्नुपर्ने छ । हामी धेरै सामान आयात गर्छौं तर पठाउने कुरा केही छैन । हामीले विदेशसँग उत्पादनमा प्रतिष्पर्धा गर्नसक्ने आधार नै छैन । विदेशमा मृत्यु भएकाहरुको शव नेपालमा ल्याउन धेरै नै समस्या भएको छ । विदेश गएका महिलाहरुमा पनि धेरै नै समस्या भएको देखिएको छ ।’
बैठकमा लोकतान्त्रिक समाजावदी पार्टी, नेपालका सांसद शेखरकुमार सिंहले नेपाललाई आत्मनिर्भर बनाउन परराष्ट्र मन्त्रालयले आफ्नो भुमिका खेल्नुपर्ने बताए। उनले ४५ वर्ष अगाडि स्थापना गरिएका दुतावासहरुमा जनशक्ति थपेर सबल बनाउनुपर्ने माग गरे ।
बैठकमा नेकपा एमालेका सांसद रामचन्द्र राईले अझैपनि नीतिगत व्यवस्थामा भएका कुराहरुको कार्यान्वयन हुन नसक्नु दुःखद् भएको बताए । उनले अन्तरमन्त्रालयको समन्वय पर्याप्त हुन नसकेको बताए । नीतिले भने अनुसारको कुटनीतिक सम्बन्ध स्थापना गर्न नसक्दा विदेशी मुलुकसँग नेपालको सम्बन्ध बिस्तार हुन नसकेको उनको भनाइ थियो ।
बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्कीले वैधानिक रुपमा वैदेशिक रोजगारीमा जानेहरुको समस्या खासै नरहेको भएपनि अवैधानिक रुपमा जाने नेपालीहरु भने धेरै समस्यामा पर्ने गरेको बताए ।
बैठकमा नेकपा एमालेका सांसद सोनाम गोल्जेन शेर्पाले नेपालको परराष्ट्र कुटनीति धेरै नै कमजोर रहेको बताए । उनले राजदुत नियुक्ति गर्दा कुटनीति जानेका व्यक्ति नभइ राजनीतिक दलहरुले आफन्तहरुलाई स्थान दिँदा परराष्ट्र सम्बन्धमा दरार पैदा भएको आरोप लगाए । उनले कस्तो व्यक्तिलाई राजदुत नियुक्त गर्ने भन्नेबारेमा स्पष्ट कानून बनाउनुपर्ने माग गरे ।