logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • राष्ट्रियसभाको आजको बैठकमा कसले के भने ?

    राष्ट्रियसभाको आजको बैठकमा कसले के भने ?

    1.5K
    Shares
    राष्ट्रियसभाको आजको बैठकमा कसले के भने ?

    काठमाडौँ । राष्ट्रियसभामार्फत् सरकारलाई देशको शान्ति सुव्यवस्था, शान्तिप्रक्रिया, भ्रष्टाचार न्यूनीकरण, सुशासन, सडक यातायात र यात्रा तथा चिसोबाट नागरिकलाई राहत पुर्‍याउन चाल्नुपर्ने कदमकाबारेमा ध्यानाकर्षण गराइएको छ । राष्ट्रियसभाको आजको विशेष समयमा भाग लिने सदस्यले नवगठित राष्ट्रिय एकताको सरकारले मुलुकलाई विकास, समृद्धि र सुशासनतर्फ अघि बढाउन ढोका खुल्ला भएको धारणा राखेका छन् ।

    नेकपा माओवादी केन्द्रका नरबहादुर विष्टले नवगठित राष्ट्रिय एकताको सरकारलाई मुलुकको शान्ति सुरक्षा, शान्ति प्रक्रिया, विकास, सुशासन र समृद्धिको मुख्य लक्ष्य बनाएर काम गर्न सुझाव दिए । उनले भने, ‘सबै उमेर समूहका व्यक्ति समेटिएको वर्तमान सरकारले मुलुकको आवश्यकता र जनताको आकांक्षालाई सम्बोधन गर्न सक्षम हुनेछ ।’

    नेपाली कांग्रेसका कमलादेवी पन्तले मुलुकको सडक यातायात अस्तव्यस्थ र पीडा दायिक रहेकाले तत्काल सुधार गर्न आग्रह गरिन् । उनले भनिन्, ‘यात्राका लागि टिकट पाइन्न, कोचाकोच हुँदा महिला हिंसा हुन्छ, महिलाको अस्मिता जोगाउन कठिन छ, भाडादर मुखको बोलीअनुसार छ, यसमा सरकारको विशेष ध्यान पुगोस्, ई–टिकटको व्यवस्था गरियोस् ।’

    एमालेका तुलसादेवी दाहाल देशभित्रको आन्तरिक बसाइँसराइले भूगोलका आधारमा जनसङ्ख्याको सन्तुलन र सामाजिक विविधतामा असर परेकाले बेलैमा त्यसको व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराइन् । उनले भनिन्, ‘भ्रष्टाचार न्यूनीकरण र सुशसान कायम गर्नु आजको प्राथमिकता हो, तराईमा भइरहेको शीतलहर र हिमाली क्षेत्रमा बढिरहेको चिसोबाट नागरिकलाई जोगाउन न्यानो कपडा र दाउराको व्यवस्था गर्न आवश्यक छ ।’

    नेकपा (एकीकृत समाजवादी)का गरिमा शाहले नेपाली तीर्थयात्रु बोकेर गएको बस भारतको लखनउमा दुर्घटना हुँदा त्यसमा सवारको निधन भएकामा दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरिन् ।

    नेकपा माओवादी केन्द्रका बिना पोखरेलले नयाँ सरकार इन्द्रेणीरुपमा राष्ट्रिय सरकारकारुपमा परिणत भएकाले सबै नेपाली जनतामा उत्साह बढेको धारणा राखिन्। उनले भनिन्, ‘यो सरकार सुशासन दिन सक्षम हुनेछ, मुलुकलाई समृद्धिमा लैजाने ठूलो अवसर मिलेको कुरा प्रधानमन्त्रीले प्राप्त मतले पुष्टि गरेको छ ।’

    एमालेका सुमित्रादेवी बिसीले आवश्यक सुरक्षा सतर्कता अपनाउन नसक्दा मुलुकमा हवाई दुर्घटना पटक–पटक दोहरिएको बताइन् । उनले भनिन्, ‘हवाई यात्रालाई विश्वासनीय र परपर्दो तुल्याउन उडाउन अघि प्राविधिक परीक्षणलाई कडाइका साथ लागू गर्न आवश्यक छ ।’

    नेकपा एकीकृत समाजवादीका राजेन्द्रलक्ष्मी गैरेले नीति र विधि अधुरो रहेकाले प्रदेश संरचना अझै अस्तव्यस्त रहेको बताइन् । उनले भनिन्, ‘मुलुकको शान्ति सुव्यवस्थामा खटिएका नेपाल प्रहरीको आफ्नै व्यवस्थापन निकै अप्ठ्यारोमा छ, त्यसमा सुधार आवश्यक छ, राहदानी वितरणमा पनि सहज र सरल हुनुपर्छ ।’

    नेपाली कांग्रेस शारदादेवी भट्टले देशमा सबैभन्दा बढी पीडामा किसान रहेकाले उनीहरुलाई खेतीपातीमा सहयोग पुर्‍याउन समयमै मलखाद्य उपलब्ध गराउनेतर्फ सरकारको ध्यानाकर्षण गराइन् । उनले भनिन्, ‘अहिलेको सरकारलाई काम गर्न दिएन, गर्न सकिएन भन्ने छुट छैन, सबैले निकै आशा र भरोसा राखेका छन् ।’

    नेपाली कांग्रेसका नारायणदत्त मिश्रले काठमाडौंकै टुँडिखेल मिचिएको तथा प्रतिपक्षमा रहेपनि कांग्रेसको काँधमा अहिले पनि सबैखाले शक्तिलाई मिलाएर अघि बढनुपर्ने दायित्व रहेको बताए ।

    माओवादी केन्द्रका गोपीबहादुर सार्की आछामीले वर्तमान सरकार गठनपछि राजनीति दलप्रति जनताको निकै आशा र भरोसा बढेको बताए । उनले भने, “विकास, समृद्धि, सुशासन र भ्रष्टचार नियन्त्रणका लागि दलहरुबीच राष्ट्रिय एकता, सहकार्य र सहमति आवश्यक छ ।”

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend