काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कला र संस्कृति अमर रहने बताएका छन् । शनिवार भक्तपुरमा आयोजित चौथो एपिक नेपाल म्युजिक अवार्ड कलाकारहरुलाई प्रदान गर्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपाली कला र संस्कृतिको संरक्षणमा हरेक नेपालीहरु लागेकाले कला र संस्कृति नमर्ने बताए । उनले नेपाली संस्कार र संस्कृतिहरु कलाको माध्यमबाट पनि अहिलेसम्म जीवित रहेको भन्दै खुशी व्यक्त गरे । उनले नेपाली कला र संस्कृतिलाई मन पराउने नेपालीहरु धेरै रहेकाले अहिले पनि नेपाली कला र संस्कृतिको महत्व अपार रहेको बताउनु भयो । अध्यक्ष ओलीले कला, संस्कृतिलाई जीवन्त ढंगले जनतासँग, जनताको मनसँग जोडेर संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने कार्यमा कलाकारहरु लागेको भन्दै खुशी व्यक्त गरे ।
उनले भने, ‘पीर गर्नु पर्दैन, कला संस्कृति मर्दैन । नेपाली कला, संस्कृति मर्दैन, पीर गर्नु पर्दैन, किनभने नेपाली जनता छन् आफ्नो कला संस्कृतिलाई मन पराउने, संरक्षण, सुरक्षा गर्ने नेपाली जनता छन् । हामीले नेपाली संस्कृतिलाई विभिन्न ढंगले संरक्षण गर्दै, नेपाली जनजीवनको बोली कलामा उतार्ने, खाँदिन कुवाको पानी, मामुलीजस्तो सुनिन्छ, तर हाम्रो संस्कृति भनेको अहिले भर्खर मात्रै धारा आएपनि पहिला त कुवाको पानी हो । यस गीतले हाम्रो कला, संस्कृतिलाई अमर राखेको छ । कला, संस्कृतिलाई जीवन्त ढंगले जनतासँग, जनताको मनसँग जोडेर संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने कार्यमा कलाकारहरु लाग्नुभएको छ ।’
अध्यक्ष ओलीले कलाकारहरुलाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा धिमे बताएका थिए । उनले आफूले माटोका भाँडा बनाएर प्रजापती र धिमे बजाएर धिमेखलवालाको अनुभव बटुलेको पनि बताए ।