काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आगामी राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमतिमै गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका दलसँग छलफल गर्ने निर्णय गरेको छ ।
शुक्रबार माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमतिका लागि पहल गर्ने निष्कर्षसहित कांग्रेसलगायतका सबै दलसँग छलफल गर्ने निर्णय गरेको हो ।
माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा विश्वासको मत दुई दलबाहेक सबैले दिएको कारणले राष्ट्रिय सहमतिमै राष्ट्रपति चयन गर्ने जिम्मेवारी माओवादी केन्द्रको रहेको निष्कर्ष निकालेको छ ।
माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले सबै दलसँग छलफल गर्ने र सहमतिका लागि पहल गर्ने निर्णय बैठकले गरेको बताए । उनले राष्ट्रपति चयनका लागि २५ फागुनदेखि २८ फागुनसम्म निर्वाचन हुने पनि बताएका छन् ।
माओवादी केन्द्रको यस्तो निर्णयसँगै अर्को सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) असन्तुष्ट भएको छ । सत्तारूढ दलबीच भएको सहमतिअनुसार राष्ट्रपति एमालेले पाउनुपर्ने हो । तर, प्रवक्ता महराले एमालेले यसलाई धोका दिएको अर्थमा लिन नहुने बताउँछन् ।
कांग्रेसले प्रधानमन्त्रीमा प्रचण्डलाई विश्वासको मत दिएपछि माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको विषय उठाएको हो । प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको निर्वाचन सहमतिमै गर्न ३ माघमा आफूलाई विश्वासको मत दिने दलका बीचमा छलफल गरेका थिए । त्यही समयदेखि एमाले प्रचण्डबाट असन्तुष्ट भएको छ । सोही कारण प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच पूर्वसहमतिण् कार्यान्वयनका विषयमा छलफल हुँदै आएको छ ।
प्रधानमन्त्री प्रचण्डले कांग्रेसले समेत विश्वासको मत दिएपछि राजनीतिमा नयाँ परिस्थिति सिर्जना भएकाले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति गरेर अगाडि बढनुपर्ने बताउँदै आएका छन् ।
मिश्रित संसद रहेकाले संसदको पाँचवर्षे कार्यकाल सुनिश्चित गर्न र संविधानको संरक्षण र राजनीतिक दलबीच सहमतिमा सहजताका लागि माओवादीले राष्ट्रपति चयनमा राष्ट्रिय सहमतिलाई नै जोड दिँदै आएको छ । राष्ट्रिय सहमतिका साथ साझा व्यक्तिमा सहमति जुटाएर संविधानअनुसार नै राष्ट्रपतिको चयन गर्नुपर्ने माओवादी केन्द्रको रणनीति छ ।
सरकार गठन गर्ने समयमा एमाले, माओवादी केन्द्रसहितका सत्तारूढ दलबीच मुख्य पद बाँडफाँड भएको थियो । उपराष्ट्रपति र प्रधानमन्त्री माओवादी केन्द्रले, राष्ट्रपति र सभामुख एमालेले र उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लिने सहमति सत्तारूढ दलमा भएको थियो ।
प्रधानमन्त्री एमाले र माओवादी केन्द्रले आलोपालो सहमतिअनुसार अढाइ÷अढाइ वर्ष हुने सहमति भएको थियो । संघ र प्रदेशमा भएको सहमतिअनुसार सबै कुरा अगाडि बढेको छ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन पनि सोही सहमतिअनुसार हुनुपर्ने अडानमा एमाले छ ।
एमालेसहितका दलको समर्थनमा प्रधानमन्त्री प्रचण्ड बनेपछि कांग्रेसले समेत विश्वासको मत दियो । सोही कारण प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमति गर्ने भन्दै कांग्रेसप्रति झुकाव राखेका छन् । कांग्रेसका नेताहरूसमेत माओवादी केन्द्रले राष्ट्रपतिको निर्वाचनमा कांग्रेसको उम्मेदवारलाई मत दिनेमा विश्वस्त छन् । उता एमाले नेताहरू पनि पूर्वसहमतिअनुसार माओवादीले एमालेले उठाएको उम्मेदवारलाई नै मतदान गर्नेमा विश्वस्त छन् ।राजधानी दैनिकमा समाचार छ ।