काठमाडौं । नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्था बन्द गर्ने निर्णय गरेको छ । शनिबार बसेको संघको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले आकस्मिक सेवा भने खुला रहने जनाएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा शुक्रबार प्रहरीले चिकित्सकमाथि कुटपिट गरेको विरोधमा चिकित्सक संघ आन्दोलित भएको हो । अस्पतालबाट काम सकेर घर जाँदै गरेका ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहलाई शुक्रबार प्रहरीले कुटपिट गरेर घाइते बनाएको थियो ।
प्रहरीको कुटपिटबाट ट्रमा सेन्टरका वरिष्ठ चिकित्सक सिंहको टाउको र हातमा चोट लागेपछि उनलाई ट्र्रमा सेन्टरको आईसीयूमा ‘अब्जर्भेसन’ मा राखिएको छ ।
संघको केन्द्रीय कार्यकारिणी समितिको बैठकले जारी गरेको विज्ञप्तीमा भनिएको छ- मिति २०७९ माघ २७ गते नेपाल चिकित्सक संघका आजीवन सदस्य एवं राष्ट्रिय ट्रमा सेन्टरका बरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंह लगायत अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीहरु माथी प्रहरीले लाठ्ठी चार्ज गरी घाईते बनाएकोघटनाप्रति नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको छ । स्वास्थ्य सेवा जस्तो संवेदनशिल क्षेत्रमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई भिभिआईपीको सुरक्षाका नाममा प्रहरीद्वारा सांघातिक आक्रमण गरी गम्भीर घाईते बनाइनु मात्र नभई हजारौंको संख्यामा स्वास्थ्य सेवा लिन आईरहेका बिरामीहरुलाई समेत अस्पतालमा पुग्न नदिएर अलपत्र पारी अत्यन्तै दुरावस्था सिर्जना गरिएकोप्रति नेपाल चिकित्सक संघ स्तब्ध भएको छ ।
लोकका लागि स्थापित गरिएको लोकतान्त्रिक गणतन्त्रमा नागरिकलाई सास्ती दिने सवारीको नाममा अस्वभाविक सुरक्षाकोप्रबन्ध मिलाउने भन्दै घण्टौं जाम गरेर दैनिक जीवन यापनमा अत्यन्तै असहज परिस्थितिको सिर्जना गर्नु न्यायोचित नभएको नेपाल चिकित्सक संघको ठहर छ । आम सर्व साधारण नागरिकहरुको भावना र मर्म अनुसार नेपाल चिकित्सक संघ सकारात्मक परिवर्तनको पक्षमा उभिने प्रतिबद्धता व्यक्त गर्दै नेपाली नागरिकहरुकै शासनको रुपमा रहने लोकतान्त्रिक गणतन्त्रमा समेत नागरिक स्वयंलाई नै यो वा त्यो बाहानामा दुःख, सास्ती र अस्वभनीय कार्य सदाका लागि बन्द गर्न नेपाल चिकित्सक संघ नेपाल सरकार तथा सरोकारवाला निकायमा जोडदार माग गर्दछ ।
त्यसैलेस्वास्थ्य जस्तोसंवेदनशिल क्षेत्रको शान्ति सुरक्षाका निम्ती आवश्यक व्यवस्थापन गर्न तथा सुरक्षाको नाममा भिभिआईपीको सवारीबाट आम सर्वसाधारणले पाइरहेको दुःख र सास्तीलाई सदाको लागि अन्त गरी उचित विधि स्थापित गर्न आज मिति २०७९ माघ २८ गते बसेको संघको केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकलेगरेको निर्णय अनुसार मिति २०७९ माघ २९ गते आईतबार एकदिन देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठान लगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरिएको व्यहोरा यसै बिज्ञप्ति मार्फत जानकारी गराईन्छ ।
विधि र विधान स्थापितका लागि नेपाल चिकित्सक संघले उठाएको यो कदमलाई साथ र समर्थन गर्न देशभरका सम्पूर्ण सर्व साधारण नागरिक, बुद्धिजिवीवर्ग, संचारकर्मीज्यूहरु तथा संघका सम्पूर्ण शाखा कार्यालयहरुले २०७९ माघ २९ गतेका लागि घोषणा गरिएको आन्दोलनलाई सफलतापूर्वक सम्पन्न गर्नु गराउनु हुन समेत यसै विज्ञप्ति मार्फत अनुरोध गरिन्छ । यसबाट हुन सक्ने सम्पूर्ण परिस्थितिको जिम्मेवार नेपाल सरकार नै हुनेछ ।