ताप्लेजुङ । ताप्लेजुङमा आयोजित ‘डोको बाक्ने प्रतियोगिता’को उपाधि फक्ताङलुङ गाउँपालिकाका रमेश लिम्बूले जितेका छन् । औद्योगिक कृषि तथा पर्यटन मेलाका अवसरमा आज आयोजित उक्त प्रतियोगितामा उनले १३ किलोमिटरको दूरी एक घण्टा चार मिनेट ३१ सेकेण्डमा पूरा गरे ।
प्रतियोगितामा मैवाखोला गाउँपालिकाका प्रकाश लिम्बू दोस्रो भए । उनले निर्धारित दूरी एक घण्टा चार मिनेट ४४ सेकेण्डमा पूरा गरे ।फक्ताङलुङकै छत्रबहादुर कार्की तेस्रो भए । उनले एक घण्टा पाँच मिनेट ३० सेकेण्डमा दूरी पूरा गरे । प्रतियोगितामा एक महिलासहित ३२ जनाले सहभागीता जनाएका थिए ।
फुङलिङस्थित पुरानो बैंकबाट सुकेटार आसपासको सानो पाथीभरा मन्दिरसम्मको १३ किलोमिटरको दूरी सहभागीले १५ किलो बालुवासहितको भारी डोकोमा बोकेर दौडेर पूरा गरेका थिए । प्रतियोगितामा पहिलो हुनेलाई ३० हजार, दोस्रोलाई २० हजार तथा तेस्रो हुनेलाई १० हजार पुरस्कार प्रदान गरिएको आयोजक घरेलु तथा साना उद्योग महासङ्घ ताप्लेजुङका अध्यक्ष राजेन्द्र भारतीले जानकारी दिए ।