काठमाडौँ । हङकङले एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । समूह ‘बी’ को खेलमा सिंगापुरलाई हङकङले आठ विकेटले पराजित गरेको हो ।
मूलपानी क्रिकेट मैदानमा सिंगापुरले दिएको १७५ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको हङकङले ३३ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य भेटायो । हङकङका लागि बाबर हायतले शतक बनाए । उनले ९४ बलमा १० चौका र ६ छक्का प्रहार गर्दै १०८ रनमा अविजित रहे । त्यस्तै, कप्तान निजकात खानले ५१ रन बनाए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सिंगापुरले ४२.१ ओभरमा सबै विकेटको क्षतिमा १७४ रन मात्रै बनाउन सक्यो । सिंगापुरका कप्तान अरित्रा दुत्तले ४९ रन बनाए । त्यस्तै, आर्यन मोदीले २१, थिलिपन ओमाइदुराई र अभी दिक्षितले समान १२–१२ रन बनाए ।