रुपन्देही । रुपन्देहीको सिद्धार्थनगरका किसानलाई कृषक कार्ड वितरण गरिएको छ । सिद्धार्थनगर वडा –४ ले आफ्नो वडाभित्रका कृषकलाई कृषक कार्ड वितरण गरेको हो । उनीहरूलाई एक कार्यक्रमबीच कार्ड हस्तान्तरण गरिएको वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला) ले जानकारी दिए । किसानलाई आवश्यकताअनुसार मलखाद, बिउ पाउन सहज होस् भन्ने उद्देश्यले वडाका ७४ जनालाई कृषक कार्ड वितरण सुरु गरिएको उनले बताए ।
उनले भने, ‘किसानको समस्या समाधानका लागि कृषक कार्ड वितरण सुरु गरेका हौँ, यसलाई निरन्तरता दिन्छौँ ।’ किसानलाई मल वितरण गर्न तथ्याङ्क सङ्कलन गरिने उनको भनाइ छ । ‘यसका लागि किसानसँग पनि सल्लाह–सुझाव लिन्छौँ, कृषक कार्डबिना मलखाद उपलब्ध गराउन समस्या भएको छ’ उनले भने ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले कृषक कार्ड महत्त्वपूर्ण रहेको बताए। वडा –४ कार्यालयले महत्त्वपूर्ण समयमा कार्ड वितरण गरेको उल्लेख गर्दै उनले किसानलाई आवश्यक मल, बिउ, सिँचाइको व्यवस्था गर्न सकिए कृषकका लागि सबैभन्दा ठूलो राहत हुने बताए ।
कसैले आवश्यकताभन्दा बढी पाउने र कसैले मल नपाउने अवस्थाको अन्त्य गरी आवश्यकताअनुरूप मल, बिउ वितरणका लागि कृषक कार्डको व्यवस्था गरिएको वडा सदस्य हरिबहादुर केसीको भनाइ छ ।
किसानलाई यो कार्डले सहजता प्रदान गर्ने उनले बताए।